पेट्रोलले सिध्याउने भो नेपाल -वीरेन्द्रमणि पौडेल

पेट्रोलले सिध्याउने भो नेपाल -वीरेन्द्रमणि पौडेल


हिसाब गर्नेहरूले पत्याउलान् हिसाब नगर्नेहरूले पत्याउने छैनन् । सत्य कुरा यही हो कि अब धेरै कारणमध्ये एउटा पेट्रोल नेपाल सिध्याउन कारण बन्ने निश्चित छ । नेपालमा पेट्रोलियम पदार्थको प्रयोग दिन दुई गुणा रात चार गुणाका दरले बढिरहेको छ र स्वदेशी धन र रेमिट्यान्सको रूपमा प्राप्त नगद विदेश जाँदै छ । नेपाल उसै त मागेर खाने बानी परेको देश त्यसमाथि ठूलो धनराशि पेट्रोलियम पदार्थ खरिदमा खेर गइरहेको छ । यस्तो अवस्था रहिरहे कसरी मुलुक अगाडि बढ्न सक्छ ? निरन्तरको आम्दानी नभएका व्यक्ति वा राष्ट्रले कम खर्च गर्ने हो, बचत गर्न सिक्ने हो, तर दर्ुभाग्य ! मागेर खाने र खुवाउने बानी परेको नेपालको राज्यसत्ताले कहिल्यै पनि यसतर्फ ध्यान दिएन । राज्यले जनसङ्ख्या गणना गर्दछ । जनसङ्ख्याको यकिन गरिसकेपछि सवारीको साधन जनसङ्ख्याको अनुपातमा कति चाहिन्छ हिसाब गर्दछ । सवारी साधन गुड्ने बाटो र राजमार्गको ठीक हिसाब निकाल्छ । यसरी परिपक्व जानकारी हासिल गरिसकेपछि सरकारी यातायात साधन कति चाहिन्छ, निजी प्रयोगका लागि कति सवारी साधन खरिदका लागि अनुमति दिन ठीक हुन्छ त्यसको हिसाब निकाल्छ । तर, नेपालको शासनसत्ता चलाउने मूर्खहरूले कहिल्यै यसप्रकारको हिसाब गरेनन् । त्यसको परिणाम आज मुलुक बेढङ्ले गन्तव्यविहीन अवस्थामा चलिरहेको छ । एकातर्फ पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ अर्कोतर्फ नियमित आपर्ूर्ति छैन । कमजोर आर्थिक अवस्थाका नेपाली जनताले पेट्रोलियम पदार्थ खरिद गर्न नसक्ने भन्दै आन्दोलन गरिरहेका छन् अर्कोतर्फ काठमाडाैका सडकमा सवारी साधनको चाप बढेर दिनैभरि बाटो जाम भएको छ । अन्य स्थानको अवस्था पनि यसभन्दा फरक छैन । सवारी साधन प्रयोग गर्नुभन्दा पैदल हिँडेर गन्तव्यमा चाँडो पुग्न सक्ने स्थिति देखियो । यो समस्या नयाँ होइन । यो समस्या पञ्चायती शासनकालमा थियो । काङ्ग्रेस-एमालेको जमानामा थियो । अहिले माओवादी जमाना आएको हो कि जस्तो छ । माओवादी जमानामा पनि उत्तिकै र उस्तै छ ।
अब प्रश्न खडा भएको छ- दीर्घरोगको रूपमा रहेको पेट्रोलियम पदार्थसँग सम्बन्धित समस्या समाधान गर्ने कि नगर्ने ? पेट्रोलियम पदार्थ प्रयोग नगर्ने वा कम प्रयोग गर्ने नीति लागू गर्ने कि नगर्ने ? मुलुकमा नयाँ खालको आर्थिक क्रान्ति गर्ने कि नगर्ने ? निश्चित रूपमा अब पेट्रोलियम पदार्थको सकेसम्म प्रयोगै नगर्ने, सकिँदैन भने अत्यन्तै न्यून प्रयोग गर्ने नीति अपनाउन जरुरी भइसकेको छ । सबैभन्दा पहिले अनावश्यक रूपमा सवारी साधन विदेशबाट नेपालमा भित्र्याउन नदिने नीति लागू गरिनुपर्छ । आवश्यकताभन्दा बढी सवारी साधन आयातमा रोक लगाउने हो भने यसबाट आंशिक रूपमा पेट्रोलियम पदार्थको प्रयोगमा कमी आउनेछ । दोस्रो उपायको रूपमा सरकारले पेट्रोलियम पदार्थ कम प्रयोग गर्न सार्वजनिक रूपमा जनतालाई आह्वान गर्न सक्छ । मुलुकभित्रको माटो र नाङ्गो शरीरबाहेक अरू केही नभएका हामी नेपालीले अब परनिर्भरतामा बाँच्न नहुने सन्देश सरकारले जनताको घरदैलोमा पुर्‍याउन अब ढिला गर्न नहुने भएको छ ।
हिजो जनता सोझा थिए, निमुखा थिए । आज जमाना बदलिएको छ । जनता बाठा भइसके । अबका जनताले शासक वर्गलाई प्रश्न सोध्नेछन्- नेपाली युवावर्गले विदेशमा रगत-पसिना बगाएर कमाएको धन नेपालमा किन अडिएन ? सबै धन किन विदेशियो ? कुल मिलाएर हाम्रो राष्ट्रिय धन किन सधैभरि विदेशिन्छ ? धेरै कारणमध्ये प्रमुख कारण हो विदेशबाट अनावश्यक रूपमा ल्याइएको विभिन्न नामका सवारी साधन र ती साधनलाई गुडाउन निरन्तर आयात गरिँदै आएको पेट्रोलियम पदार्थ । छिमेकी मुलुक भारतले ट्रक, बस, कार र विभिन्न डिजाइनका मोटरसाइकल निरन्तर उत्पादन गरिरहेको छ । खपत र प्रयोगबिना उत्पादन गर्नुको कुनै अर्थ छैन । भारतले नेपाललाई आफ्नो उत्पादन बिक्री गर्ने प्रमुख बजार बनाएको छ । भारतमा उत्पादित सवारी साधनहरू अमेरिका, बेलायत वा युरोपियन मुलुकमा निर्यात हुँदैनन् । जनवादी गणतन्त्र चीनले भारतको सवारी साधन खरिद गर्दैन । उसले आफ्नो देशलाई चाहिने यातायातका साधनहरू आफैं उत्पादन गरेको छ । हामीबाहेक हाम्रो परम् प्रिय छिमेकी मुलुक भारतको सिमाना जोडिएका उसका अन्य छिमेकी राष्ट्रसँग त्यतिसारै गुलियो सम्बन्ध छैन । अपवादलाई छाडेर भारतभूमिमा उत्पादन गरिएका सवारी साधनहरू पाकिस्तान, बंगलादेश, श्रीलङ्का र माल्दिभ्समा निर्यात भएका छैनन् । भुटानको प्रसङ्ग अलगै हो । उपलब्ध प्रमाणहरू बोलिरहेका छन्- नेपाल नै भारतीय उत्पादन प्रयोग गर्ने ठूलो बजार हो यद्यपि उसका उत्पादनहरू भारतमै पनि ठूलो मात्रामा खपत हुने गरेको छ । भारतले सवारी साधन लगातार उत्पादन गर्नु अब उसका लागि एक प्रकारको बाध्यता पनि हो । उत्पादन गरेर आफ्ना जनतालाई सस्तो मूल्यमा सवारी साधन उपलब्ध गराउनु उसको कर्तव्य हो भने बाहिर निर्यात गरेर आफ्नो राष्ट्रलाई आर्थिकरूपले सम्पन्न बनाउनु उसको घोषित लक्ष्य पनि हो । अर्को एउटा डरलाग्दो बाध्यता पनि छ भारतको । यदि उसले सवारी साधन उत्पादन गर्ने कारखाना बन्द गर्न चाह्यो भने पनि बन्द गर्न सक्ने अवस्था छैन । कारखाना बन्द गर्दा लाखौँको सङ्ख्यामा भारतीय कामदारहरू बेरोजगार हुन पुग्छन् र ती बेरोजगारले पुनः रोजगारीका लागि आन्दोलन गर्नेछन् । आन्दोलन थेग्न भारतीय सत्तापक्षलाई हम्मेहम्मे पर्ने हुँदा यो स्थिति भारतीय शासक वर्गले आउन नदिन उनीहरू सचेत छन् र उत्पादनलाई निरन्तरता दिन हरेक तरिका अपनाउन उनीहरू तयार छन् । भारतीयहरूले नेपाली उपभोक्तालाई बैंक र फाइनान्समार्फत किस्ताबन्दीमा नयाँ-नयाँ मोडेलका मोटरसाइकल बिक्री गरिरहेका छन् ता कि नेपाली उपभोक्तालाई सजिलोसँग मोटरसाइकल भिडाउन पाइयोस् र आफ्नो उत्पादनले निरन्तर बजार पाइरहोस् । कार चढ््न रहर गर्ने कोही नेपाली बहादुर छ भने पनि एक लाख रूपैयाँमा किस्तामा कार उपलब्ध गराउँदै आएको छ । अन्य गाडीहरूको पनि प्रक्रिया उस्तै गरिएको छ । फेरि भारतले नेपाललाई कहिलेकाहीँ गाडीहरू उपहार पनि दिने गरेको छ । केही समय अगाडि नेपालका प्रहरीले प्रयोग गरून् भन्ने नाममा केही सङ्ख्यामा हलुका सवारी साधन उपहार दिएको थियो । नेपाली नागरिकले भारतीय गाडीहरू एकपटक खरिद गर्दछन् तर त्यसलाई गुडाउन वर्षौं वर्षसम्म पेट्रोलियम पदार्थ खरिद गरिरहन्छन् । मुलुकबाट धन लगातार विदेशिन्छ । नेपालीले भारतीय सवारी साधन लगातार खरिद गरिरहने र भारतलाई आर्थिक रूपले बलियो बनाइरहने, खरिद गरिएका सवारी साधन गुडाउन वर्षौं-वर्ष लगातार पेट्रोलियम पदार्थ खरिद गरिरहने त्यसबाट खाडी मुलुकलाई धनी बन्न मद्दत गरिरहने । आखिर विद्यमान स्थिति यही होइन ? नाङ्गो आँखाले पनि देखिएको छ- नेपाली जनताले हजारौँ हजार वर्ष रगत-पसिना बगाएर मिहिनेत गरे पनि दीर्घरोगरूपी पेट्रोलियम पदार्थबाट मुक्ति वा भरपर्दो विकल्प नखोज्ने हो भने हामी नेपाली जहिलेसुकै कङ्गालको कङ्गाल रहिरहने निश्चित छ ।
हामी नेपालीले वास्तविक कुरा बुझेनौँ वा बुझेर पनि बुझ पचायौँ । जानीजानी हामीले प्राणदाता पानीभन्दा विलासिता जीवन बिताउन प्रयोग गरिने पेट्रोलियम पदार्थको मूल्य बढाइदियौँ । पानी पिउन नपाए मानिस बाँच्न सक्तैन । तर, पेट्रोल नभए पनि मानिस मर्दैन । हामी पानीको धनी देश । हामी पानीको महत्त्व बुझ्दैनौँ तर पेट्रोलको महत्त्व बुझ्छौँ । यसलाई दुर्भाग्यपूर्ण अवस्था नभने के भन्ने ? आफैं बुझ्न सकेनौँ ठीकै छ बुझेकाहरूबाट किन नसिक्ने ? नेदरल्यान्डमा १६ करोड जनसङ्ख्या छ । तर, अचम्मको विषय- त्यस देशमा १३ करोड ५० लाख साइकल छ । नेदरल्यान्डका मानिस पेट्रोल जोगाउन साइकल प्रयोग गर्छन् । वातावरण संरक्षणका लागि साइकल प्रयोग गर्छन् । स्वस्थ शरीरका लागि साइकल प्रयोग गर्छन् । त्यसको ठीक विपरीत हामी नेपाली पुर्ख्याैली जग्गा बेचेर मोटरसाइकल खरिद गर्दछौँ । विदेशमा रगत-पसिना बेचेर आएको धनले पेट्रोल खरिद गर्दछौँ । हामी बचत गर्न जान्दैनौँ । हामी स्वास्थ्यको ख्याल राख्दैनौँ । हामी वातावरणप्रति कत्ति पनि सचेत छैनौँ । अब सीधै प्रश्न सोधौँ- हाम्रा शासक र नेता बाठा कि भारतीय नेता र शासक बाठा ? हामी नेपाली जनता बुद्धिमान कि नेदरल्यान्डका जनता बुद्धिमान ? जवाफ जसले दिए पनि भन्नैपर्छ- हामी नेपालीभन्दा नेदरल्यान्डका जनता बुद्धिमान छन्, दूरदर्शी छन् । प्रत्येक पलपलमा पेट्रोलियम पदार्थले नेपाललाई ध्वस्त पारिरहेको छ, सिध्याइरहेको छ । यदि अझै पनि नेपालका नेता र शासकवर्ग मुलुकलाई पेट्रोलियम पदार्थको चपेटाबाट मुक्ति दिलाउनतर्फ सचेत हुँदैनन् भने भन्नैपर्छ-भारतीय नेता र शासक वर्ग बाठा छन्, बुद्धिमान छन् र हाम्रा नेता र शासक वर्ग सुस्त छन्, अदूरदर्शी छन्, बेढङ्गका छन् ।