लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन गरिएको छ । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् ।
फिकुरी डाँडाको उचाईं ३८०० मिटर रहेको छ, जहाँबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । पुस्तक विमोचनमा सहभागी एक्सप्लोरेशन ट्रिपमा पदयात्री समूह एक्कासी परेको भारी हिमपातका कारण भेडीखर्कबाट फर्किएको थियो ।
‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो’, बाक्लो हिउँमा उभिएर साहसिक पर्यटनमा सक्रिय पदयात्रीहरुमाझ नेपाल पर्यटन बोर्ड सदस्य दीपक महतले भने, ‘महासागरले घेरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरुबाट सामुहिक रुपमा विमोचित हुनु पुस्तक विमोचनकै इतिहासमा एउटा विशेष घटना हो ।’
कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक संस्था रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछनेले भने, ‘सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्नेछ भन्ने अपेक्षा गरेका छौं ।’

फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा लेखक सिलवाल, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य महत, रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष लामिछाने, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्धितिय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज् एशोसिएसन (टान)का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टिम लिडर उर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए । श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए)को ६३औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथीका रुपमा श्रीलंकामा निम्त्याइएका टुर–ट्रेकिङ गाइड तथा ट्रेकिङ प्रशिक्षकसमेत रहेका सिलवालले त्यही बेलाको एक साता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटेका छन् ।
‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो । त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन्’, कन्फिडिरेसन अफ एशियन जर्नलिस्ट युनियनका उपाध्यक्ष समेत रहेका किस्पाङनिवासी अशोक सिलवालले भने, ‘त्यसका लागि सक्रिय यात्रा आयोजक रसुवा–नुवाकोट पर्यटन समाज र यात्रामा जोडिएका सूर्यगढी, किस्पाङ, ठूलोगाउँ र कालिका गाउँपालिकाका जनप्रतिनिधी, स्थानीय र सहयात्री सबै धन्यवादका पात्र हुन् ।’

प्रतिक्रिया