अशक्त लेखन उर्जा

अशक्त लेखन उर्जा


■ आचार्य प्रभा

सोच्छु, कोर्छु
लेख्छु, मेट्छु
किन–किन
बुझ्दैन मन,
आफ्नै भावनाका
लहरहरु कता–कता
अधुरो बने झैँ लाग्छ
अक्षरहरु नै किन–किन
बेमेल भए झैँ लाग्छ
कोरिएका भावनाहरु
सबै अर्थहीन झैँ लाग्छ
अनि बन्द गर्छु
औंलाहरू
र चुकुल लगाउँछु
मन–मस्तिष्कको भकारीमा ।

मन्थन गर्छु आफैसँग आफै
अनि प्रश्न गर्छु आफैलाई
आजकल किन लेखनले मलाई
बहिष्कार गरिरहेछ ?
लेखन उर्जा किन मबाट
टाढा भागिरहेछ ?
प्रश्नै प्रश्नका लहरहरु
तरङ्गित बनिदिन्छन् मथिंगलभरी

अनि…, फेरि सुस्ताउँछु
टोल्हाउँछु र मौनतामा–
एक्लै हराउँछु, बर्बराउँछु
आखिर… भावना पनि
शब्दसँग मोलतोल गर्न
लालायित बनेछ भनी ।

किनकि… अचेल समय नै
लालची, स्वार्थी बनेपछि
बिचरा म नाथु मान्छे
जो समयको बलमा चलेकी छु
अनि भावनालाई अक्षरहरुका
पिँजडामा कैद गर्ने प्रयासमा छु
तर… अपसोच !
म नै निरीह छु,
जसलाई समयले शनैःशनै
धकेल्दै लगिरहेछ
उमेरको पावन्दीले
संवेदना र सोच–शक्तिमा
पर्खाल ठड्याइरहेछ
कठै ! म…
आफुलाई समुन्द्रको
उर्लिंदो छाल र आँधीको बेगलाई
रोक्न सक्ने आँटिली ठान्ने मान्छे
आ… सिमलको भुवालाई
थाम्न नसक्ने हुतिहारामा
परिभाषित भएको अनुमान गर्दैछु
त्यसैले आफुलाई किन–किन
कमजोर र अशक्त मान्दैछु
शायद यसैले होला
मसँग भावना र अक्षहरुले पनि
मनमुटाव गरेका अनि…
लेखन उर्जा पनि अशक्त बनेका ।