■ अंशु खनाल

जो
अँध्यारोको पिठ्युँमा चढेर
ताकिरहेछ
तिम्रो हाँसिरहेको मुहारमा निसाना ?
जो
तिम्रै स्वास्नीका तिघ्राहरू कल्पिँदै
गर्छ हस्तमैथुन
र पुस्छ
तिम्रै सिरानीबाट चोरेको
भागवत गीताका पानाहरू च्यातेर
आफ्नो विर्य ।
को हो त्यो ?
जसको अनुहारसँग हुबहु मिल्छ तिम्रो औँठाको छाप ।
जसको परिचयपत्रमा लेखेको छ तिम्रो घरको ठेगाना ।
जसको दायाँ हातमा छ तिम्रो रहरको पाण्डुलिपि ।
जसको बायाँ हातमा छ तिम्रो एकतले घरको लालपुर्जा ।
को हो त्यो ?
जसलाई सुम्पिएर जम्मै आफ्ना सपनाहरू
तिमी यति निर्धक्क निदाएका छौ मध्यदिनमा ।
जसलाई छाडिदिएर सम्पूर्ण घर
तिमी डुल्न निस्किएका छौ बगरतिर ।
ऊ त आफ्नै घर जलाएर
लडिबुडी खेल्छ खरानीमा
र मुत्छ आफ्नै भान्साको तातो अँगेनामा ।
ऊ त साट्छ आफ्नै बहिनीको आँसु
डलरका पोटिला नितम्बसँग
र रातभर नाच्छ बालुवाको टारमा चढेर
ग्लोबलाइजेसनको आइटम गीतमा ।
ऊ आफ्नी छोरीको झोलाबाट
सुटुक्क झिकेर नैतिक शिक्षाको किताब
पस्छ भट्टी
र मातेको झोंकमा
फर्केर अबेर रातमा
चढ्छ आफ्नै छोरीको आङमाथि ।
ऊ पत्रिकाको पहिलो पृष्ठबाट
काटेर बन्दुकको तस्बिर
मध्यरातमा टाँस्छ छोराको बिस्तारामाथि ।
र, एक बिहानै आएर लेख्न लगाउँछ बन्दुक हेरेर कलमको कविता ।
ऊ आफ्नै आमाले खाइरहेको मुखको गाँस छिनेर
लिलामी गर्छ बजारमा र किन्छ एकजोर जुत्ता ।
त्यही जुत्तामा देखिएको आफ्नो अनुहार
घोप्टो परेर हेरिरहन्छ दिनभर ।
को हो त्यो
एकपटक गौर गर त मेरो साथी
को हो त्यो ?
जसले काटेको हो दराजको साँचो बाँधेको तिम्रो जनै ।
जसले उछिट्याएको हो तिम्रो आरनबाट फलाम पिट्ने हतौडा ।
जसले चोरेको हो घाँसको बिटोबाटै त्यो लाग्ने हँसिया ।
जसले जलाएको हो तिमीले पढ्दै गरेको किताब ।
को हो त्यो
जो तिम्रै पक्राउ पुर्जी खल्तीमा राखेर, तिमीसँगै सुत्छ ?
को हो त्यो ?
प्रतिक्रिया