आन्दोलन र कलाकारको सहभागिता-युवराज लामा

आन्दोलन र कलाकारको सहभागिता-युवराज लामा


शान्ति, संविधान, राष्ट्रिय स्वधीनता र संयुक्त सरकार निर्माणका मागहरूका साथ एकीकृत नेकपा माओवादीले सञ्चालन गरेको आन्दोलनलाई विभिन्न कोणबाट समीक्षा गर्न सकिन्छ । यो आन्दोलन जनताको पक्षमा दुई कदम अगाडि थियो र विपक्षमा एक कदम पछाडि भयो भन्नेहरू छन् । तर, गठबन्धन सरकारका पक्षधरहरू माओवादी आन्दोलन विफल भयो भनेर प्रचार-प्रसार गरिरहेका छन् । प्रकृति, समाज, राजनीति जटिल छ र यसमा निरन्तर गति छ भनेर नबुझ्नेहरू यथास्थितिको कोणबाट विश्लेषण गर्दा गलत निष्कर्ष निस्कनु स्वाभाविक हुन्छ ।
परिवर्तन र नयाँ नेपाल निर्माणको जग पुरानो संरचना, पुरानो संविधान, ऐन-कानुनलाई परिवर्तन गरेर मात्र सम्भव छ, यो वस्तुगत यथार्थ हो, मनुवादी चिन्तन, सामन्तवादीे, नवसामन्ती, नवमण्डले, पलायनवादी, अतिधर्मवादी, लोकतन्त्र र जनवादको नाममा अधिनायकवादका पृष्ठपोषकहरू सङ्ख्यामा ३ प्रतिशत पनि छैनन् । तिनीहरूको एक केन्द्र बनेको छ र आमजनता ९५ प्रतिशत जनता जो एकछाक खान धौ-धौ छन् । बिरामी पर्दा सिटामोल र जीवनजल खान सक्दैन, बच्चालाई शिक्षा दिन सक्दैन, २४० वर्षदेखि दोस्रो दर्जाको नागरिक बनेका आदिवासी जनजाति, अधिकारविहीन महिला, उत्पीडित दलित समुदाय, मधेसी र उत्पीडित क्षेत्रका जनसमुदायलाई मुक्त गर्न चलाएको परिवर्तनका लागि सञ्चालित जनयुद्ध, जनआन्दोलनबीचमा देखिएको वर्गसङ्घर्ष र पक्ष-विपक्ष चलचित्रकर्मीहरूमा पनि देखापर्‍यो । केही चलचित्रकर्मीहरू ९५ प्रतिशत जनताको पक्षमा चलाइएको आन्दोलनको पक्षमा उभिन माओवादी पार्टीमा प्रवेश गरेर एकीकृत नेकपा माओवादी पार्टीले चलाइएको जनपक्ष आन्दोलमा सडकमा रातदिन जनतासँग लामबद्ध भए ।
केही कलाकर्मी शान्ति स्थापना गर भनेर शान्तिर्‍यालीमा समावेश भए । शान्ति चाहियो भनेर मिडियामा देखापरेका कलाकर्मी जसको २/३ वटा घर काठमाडौंमा छ, चढ्नलाई ५० लाखका गाडी छन्, एनजीओ र आईएनजीओका कार्यक्रम सञ्चालन गर्छन् र छोराछोरी सबै अमेरिका, अस्ट्रेलियामा छन् । ती सगरमाथाको रूपमा चिनिन्ने कलाकारहरू यथास्थितिमा शान्तिको वकालत गर्दा आमजनताको परिवर्तनको विपक्षमा हुन गयो र परिवर्तनको पक्षधर नेपाली जनताको अगाडि लिलिपुट बन्न पुगे भन्नेहरू छन् र केही कलाकारहरू आन्दोलनको ८ दिन घरमा बसी म्यारिज, पप्लु खेलेर टेलिभिजन हेरेर दिन बिताए र केही चलचित्रकर्मी सरकारी नियुक्त पाएकाहरू आन्दोलनले सरकार परिवर्तन भए जिम्मेवारी मुक्त हुने डरले तर्सेर बसे । परिवर्तन चाहने धेरै चलचित्रकर्मी सहशरीर उपस्थित भएन आन्दोलनमा तर परिवर्तनको पक्षमा मिडियामा देखापरे भने आन्दोलनलाई साथ दिने, आर्थिक सहयोग गर्ने तर निरपेक्ष रहने बताए । सत्य र असत्य, जनता र सामन्त, अग्रगामी र पक्षगामी, राष्ट्रिय र अराष्ट्रियको बीचमा सङ्घर्ष हुँदा कसरी निरपेक्ष बस्न सकिन्छ – निरपेक्ष हो अथवा डरछेरुवा प्रवृत्ति हो, आत्मा-समीक्षा गर्न आवश्यकता छ ।
यस आन्दोलनले आन्दोलनका मोर्चामा अहोरात खटेका जनकलाकारहरू र केही चलचित्रकर्मीहरू जनताको नजरमा सगरमाथा बने, सगरमाथा देखिने कलाकारहरू लिलिपुट बने, क्रान्ति, परिवर्तन र आन्दोलनका नियमहरू यस्तै हुन्छ, आशा र चुनौती क्रान्तिमा सँगसँगै हुन्छ । चित्रकर्मीहरूमा देखापरेका चिरा जनताका र देशको पक्षमा हुनसके जति चिरा परे पनि सबैको जित हुन सक्छ ।