चट्याङ लागेर म्याग्दीमा दुईको मृत्यु

चट्याङ लागेर म्याग्दीमा दुईको मृत्यु


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा शनिबार (१ चैत) राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेद्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।
मृतक पुन र गर्बुजा छिमेकी हुन् ।

यसैबीच शनिबार रातिको वर्षासँगै यहाँ उच्च पहाडी बस्तीमा हिमपात भएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङलगायतका बस्तीमा हिमपात भएको हो ।

दुई–तीन फिट बाक्लो हिउँ जमेको स्थानीयवासीले बताएका छन् । यो वर्षको मङ्सिरयता नौपटक भएको हिमपातले जनजीवनका साथै विकास निर्माणको कामलाई समेत प्रभावित बनाएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्याललाई उद्धृत गर्दै राससले जनाएको छ ।

अन्नपूर्ण गाउपालिका–७ स्थित टिकोट माविका प्रअ प्रदीप पुनले धेरै वर्षपछि चैतमा हिमपात भएको बताए । बेमौसमी हिमपातले बर्खे र हिउँदे बालीलाई असर पुगेको कृषकले बताएका छन् । हिमपातका कारण सो गाउँपालिकाको नारच्याङमा निर्माणाधीन ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेड तथा रघुगङ्गा गाउँपालिकाको ३७।५ मेगावाट क्षमताको कुइनेमङ्गले रघुगङ्गा जलविद्युत् आयोजनाको निर्माणकार्य प्रभावित भएको प्रवर्द्धकले बताएका छन् ।

उता शनिबार परेको असिनापानीले बाजुरामा पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पुऱ्याएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको तल्लो भेगका बूढीगङ्गा, बडीमालिका नगरपालिकासहित अधिकांश स्थानीय तहका अन्नबालीमा करिब एक घण्टा बढी समयसम्म परेको असिनापानीले नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकिसकेको जौँ र तरकारी बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।

केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले असिनापानीले के कति क्षति पुऱ्यायो भन्ने एकीन नभएको बताए । त्रिवेणी नगरपालिका–३ का वडाअध्यक्ष मीन भण्डारीले असिनापानी गहुँबालीलाई नराम्रो क्षति पुऱ्याएको बताए । किसानको खेतमा हेरी सुस्केरा हाल्नुबाहेक केही नभएको दुखेसो छ । जिल्लाका अन्य स्थानीय तहमा जेठ र असारसम्म गहुँबाली पाक्ने गरे पनि त्रिवेणी, बूढीगङ्गासहितका स्थानीय तहमा चैतको शुरुमा नै काट्न थाल्ने गरेका छन् । बेँसी र बढी उत्पादन हुने क्षेत्रका रूपमा पनि लिने गरिएको छ ।