कोरोना भाइरसबारे धादिङ जेसीजको जनचेतनामुलक कार्यक्रम

कोरोना भाइरसबारे धादिङ जेसीजको जनचेतनामुलक कार्यक्रम


विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरसबारे धादिङ जेसिजले जनचेतनामुलक अभियान थालेको छ। अभियानअन्तर्गत धादिङ जेसिजले आइतबार (२ चैत) खानिखोला, नौबिसे र धार्केलगायतका ज्यादा जनघनत्व रहेका पृथ्वीराजमार्ग आसपासका क्षेत्रमा जनचेतनामुलक व्यानरहरु झुन्ड्याउने कार्यक्रम सम्पन्न गरेको धादिङ जेसीजका महासचिव जेसी त्रिलोक कार्कीले जानकारी दिए । कोरोनाको लक्षण र यसबाट बच्ने उपायबारे उल्लेख गरिएका ब्यानर झुन्ड्याइएको हो।

अभियानलाई वृहत रुपमा अघि बढाउने जानकारी दिँदै धादिङ जेसिजका अध्यक्ष जेसी प्रितम त्रिपाठीले वर्तमान अभियानको नेतृत्व धादिङ जेसिजका पुर्वअध्यक्ष जेसी शदिपविक्रम शाहले गरिरहेका बताए ।

चीनको हुवेई प्रान्तको वुहानबाट शुरु भएर अहिलेसम्म १ सय ४९ देशमा फैलिएको कोरोनाबाट १ लाख ५० हजार ९७ जना संक्रमित भइसकेका छन्। जसमध्ये ५ हजार ६ सय १७ जनाको मृत्यू भइसकेको छ भने ७३ हजार ७ सय ३१ जना निको भएर घर फर्किएका छन्। अहिले पनि ७० हजार ७ सय ४९ जना कोरोना संक्रमित बिरामीहरु छन्।

तीमध्ये ५ हजार ७ सय ८ जनाको अवस्था गम्भीर रहेको र ६ हजार ५ सय ४१ जनाको अवस्था सामान्य रहेको बताइन्छ। पछिल्लो समय कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक चीनपछि इटाली र इरान भएको छ। इटालीमा हालसम्म १७ हजार ६ सय ६० जनामा यसको संक्रमण देखिएको छ जसमध्ये १ हजार २ सय ६० जनाको मृत्यू भइसकेको छ भने इरानमा १२ हजार ७ सय २९ संक्रमितमध्ये ६ सय ११ जनाले ज्यान गुमाएका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको चीनमा ८० हजार ८ सय २४ जनामा यसको संक्रमण भएको थियो। संक्रमितमध्ये ३ हजार १ सय ८९ जनाले ज्यान गुमाएका थिए । चीनमा भने अहिले कोरोना नियन्त्रणमा आइसकेको चीन सरकारले दाबी गरेको छ। नेपालमा भने अहिलेसम्म कोरोनाको खासै प्रभाव देखिएको छैन ।