घरेलु मदिराले मृत्यु भएका परिवारलाई तीन-तीन लाख राहत

घरेलु मदिराले मृत्यु भएका परिवारलाई तीन-तीन लाख राहत


धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले घरेलु मदिराको कारण सबैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा पुगेर पीडित परिवारलाई समवेदना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

सो अवसरमा उहाँले विषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाँडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराए ।

रम्दैया पुगेको मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै (३ चैत) सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै सो बैठकमा खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताए ।

रम्दैयामा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ परिवारलाई आइतबार सांसद रघुबीर महासेठले व्यक्तिगत रुपमा प्रत्येक पीडित परिवारलाई काजकिरियाका लागि २० हजार प्रदान गरेका थिए ।