एक बोतल रक्सीका लागि डेढ करोड -नवीन उप्रेती

एक बोतल रक्सीका लागि डेढ करोड -नवीन उप्रेती


मदिराका पारखी या मदिराप्रेमीले आफूलाई मनपर्ने हि्वस्कीको बोतललाई कतिसम्म मूल्य तिर्न तयार होलान्, दुई-चार हजार या दुई-चार लाख ? सामान्यतया हामीमध्ये धेरैका लागि एक बोतल रक्सीका लागि यतिका रकम खर्च गरेको कुरा असामँन्य लाग्न सक्छ । तर, चीनका एक व्यवसायीले सिङ्गापुर विमानस्थलको ड्युटी फ्री पसलमा बेच्न राखिएको एक बोतल हि्वस्कीका लागि दुई लाख डलर अर्थात् डेढ करोडभन्दा बढी रकम खर्च गरेर ठूलाठूला धनाढ्यहरूलाई समेत छक्क पारेका छन् । सिङ्गापुर विमानस्थलका प्रवक्ता इवान तानका अनुसार ६२ वषर्ीय ती व्यवसायीले ड्युटी फ्री पसलमा डेलमोर सिङ्गल मार्टको उक्त हि्वस्कीको बोतल देख्नासाथ तुरुन्त एक लाख सिङ्गापुर डलर एडभान्स बुझएर बोतल बुक गरेका थिए । विश्वमा उक्त ब्रान्डको मदिरा यतिबेला जम्मा १२ बोतल मात्र रहेको बताइएको छ ।

आलु खाएर वजन नबढ्ने
आफ्नो स्वास्थ्य तथा बडी फिगरप्रति सचेत व्यक्तिहरू शरीरको वजन बढ्ने डरले आजभोलि मनलागेजति आलु खान हिच्किचाउने गर्छन् । तर, अब आलुप्रेमीले ढुक्कसँग आलुका परिकारहरूको आनन्द उठाए हुने भएको छ । न्युजिल्याण्डका अनुसन्धानकर्ताले आलु खाएर शरीरमा बोसो नबढ्ने दाबी गरेका छन् । आटागो विश्वविद्यालयमा गरिएको अध्ययनबाट अनुसन्धानकर्ता यो निष्कर्षमा पुगे कि कोही व्यक्ति आलु र मांसाहारी भोजन एकसाथ गर्छन् भने यसको प्रभाव नाम मात्रकै हुनेछ । तीस स्वस्थ नौजवानमाथि तीन समूहमा विभक्त गरेर अनुसन्धान गरिएको थियो जसमा एक समूहलाई अन्य खानाका साथ विशेष रूपमा आलुको परिकार खुवाइएको थियो । त्यसपछि गरिएको ग्लाइसेमिक इन्डेक्स -रगतमा कार्बोहाइड्रेडको मात्रा नाप्ने विधि)को नतिजाले अनुसन्धानकर्तालाई आश्चर्यमा पार्‍यो, अर्थात् प्रशस्त मात्रामा आलु खुवाइए तापनि उनीहरूको रगतमा ग्लाइसेमिक इन्डेक्स अत्यन्त न्यून पाइएको थियो ।

कति लज्जालु बेलायती पुरुष
अधिकांश मानिसलाई प्र्रायः यो कुरामा जिज्ञासा लागिरहेको हुन्छ कि महिला घरबाट बाहिर निस्कनुअघि ऐनाअगाडि कति समय गुजार्छन् ? अहिलेसम्म महिलाबारे त यसतो कुनै आंकडा मिलिसकेको छैन, तर यसको जवाफचाहिँ मिलिसकेको छ कि ब्रिटिस पुरुष साजसज्जाका लागि कति समय खर्च गर्छन् । एक अनुसन्धानको रिपोर्टअनुसार बेलायती पुरुष कामका लागि तयार भएर घरबाट बाहिर निस्कनका लागि हरदिन १८ मिनेट खर्च गर्छन् । बेलायतमा आफ्नो सुन्दरताप्रति गर्व गर्ने पुरुषको सङ्ख्या बढिरहेको छ ।
एक हजार बाह्र पुरुषमाथि गरिएको एक सर्भेक्षणले ५४ प्रतिशत पुरुषले आफ्नो साथीलाई खुसी तुल्याउनका लागि यस्तो गर्ने गरेको स्वीकार गरेका र २५ प्रतिशतले चाहिँ आफ्नो साथीभन्दा सुन्दर देखिनका लागि सुन्दरतामा ध्यान दिएको बताएका थिए । सर्भेक्षणको सबभन्दा रोचक पक्ष त यो देखियो कि ३८ प्रतिशत बेलायती पुरुष आफूलाई सुन्दर बनाउने मामलामा अत्यन्त कम जानकार देखिए भने उनीहरू कसरी सुन्दर भन्न सकिन्छ भनी कसैसँग प्रश्न सोध्न नै लाज मान्ने स्वभावका देखिए ।

हर्लेलाई स्तनक्यान्सरको चिन्ता
भारतीय मूलका व्यवसायी अरुण नायरसँग बिहे गरेर पनि वैवाहिक सम्बन्ध तोडिसकेकी हलिवुडकी सुन्दरी अभिनेत्री एलिजाबेथ हर्लेलाई आजभोलि एउटा कुराले निकै सताउँछ । नायरसँग विछोडिनुपरेको पीडाले उनलाई सताएको होइन न त अर्को प्रेमीसँगको सम्बन्धले नै ४६ वर्षीया यी बेजोड अभिनेत्रीलाई तड्पाएको हो । वास्तवमा उनको मनमा हरदम त्रास जगाइरहने कारण बनेको छ स्तनक्यान्सर । नझस्किनुहोस्, हर्लेलाई स्तनक्यान्सरले आक्रमण गरेको छैन, तर आफूलाई उक्त प्राणघातक रोगले आक्रमण गर्ने हो कि भन्ने चिन्ताले चाहिँ उनलाई निकै पिरोल्न थालेको छ । आफ्नी हजुरआमाको मृत्यु यही रोगका कारण भएपछि उनी यसरी बढ्ता डराउन थालेकी हुन् । आजभोलि हर्ले नियमित रूपमा आफ्नो स्तन परीक्षण गराउन थालेकी छिन्, र परीक्षणको परिणाम नआउँदासम्म अत्यन्त त्रासमा उनी रहने गरेकी हफिंग्टन पोस्टले जनाएको छ ।

बर्लुस्कोनी आफ्नै गफको सिकार
आफ्नो रङ्गीन स्वभावका कारण विवादको दलदलमा भासिन पुगेका इटलीका प्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीलाई साथीभाइसँग जथाभावी किसिमले खुलेर आफ्ना गोप्य कुरा गर्ने आदतले थप समस्यामा पारेको छ । कम उमेरकी किशोरीसँग अन्तरङ्गी सम्बन्ध गाँसेको मुद्दा खेप्दै आएका बर्लुस्कोनीको उक्त मुद्दा किनारा लागिसकेको छैन ।
यसैबीच आफूले सन् २००९ मा एक रातमै आठवटी महिलासँग शारीरिक सम्बन्ध राखेको अभिव्यक्ति दिएको बर्लुस्कोनीको एउटा टेप सार्वजनिक भएको छ । उनीहरू एघारको सङ्ख्यामा थिए तर मैले आठवटीसँग मात्र सम्बन्ध राख्न सकेँ, त्यसको भोलिपल्टचाहिँ म आफूलाई एकदम ऊर्जावान महसुस गरिरहेको थिएँ भनेर आफ्ना निकटतम् साथीहरूसँग ७४ वर्षीय बर्लुस्कोनीले गफ लडाइरहेको सो टेपबाट प्रस्टिएको छ । यसले उनको मुद्दालाई थप बल्झाउन सक्ने अनुमान गरिएको छ ।