रेखाले छाडेपछि बिल्लीबाठ -राजन घिमिरे

रेखाले छाडेपछि बिल्लीबाठ -राजन घिमिरे


यतिबेला सफल हिरोइन मात्र होइन सफल मेकर पनि बनिसकेकी छिन् रेखा थापा । कुनै समय राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको तस्बिर पोस्टरमा देखेपछि दर्शक झुक्किन्थे हलमा । उनीहरू एक्लै पनि एउटा सिनेमा बोक्न सफल हुन्थे । तर, अहिले हिरोहरू होइन उनीहरूको स्थान लिन सफल भएकी छिन् रेखा थापा । सिनेमामा रेखाको जोडी को हुन्छ ? त्यसले अर्थ नराख्ने भएको छ । एउटा सफल हिरोको भन्दा बढी क्रेज बनाउन सफल रेखाकै नामले फिल्म चल्न थालेको छ यतिबेला । यसको बलियो उदाहरण उनी आफैंले बनाएको र आफैं नायिका भएको चलचित्र अन्दाज नै हो । नायकको रूपमा स्थापित नभइसकेका जीवन लुइँटेल अनि यसै चलचित्रबाट नायकको रूपमा डेब्यु गरेका सविन श्रेष्ठलाई ल्याएर पनि रेखाले फिल्म हिट बनाईकन छोडिन् ।
त्यसो त रेखाले आफ्नो ब्यानरबाट बनाएका सिनेमामार्फत स्थापित नायक बनाएका कलाकारले जब उनीसँग निहुँ खोजेर रेखाको क्याम्पबाट आउट भएका छन् तिनीहरूको बिचल्ली भएको देखिन्छ । रेखाको क्याम्पमा रहुञ्जेलसम्म सफलता र चर्चाको शिखरमा पुगेका आर्यन सिग्देल, विराज भट्ट र आयुष रिजालको अवस्था आज त्यति बलियो छैन ।
चलचित्रमा काम गर्ने यी नायकलाई जब रेखाले छोडिन् तब यिनीहरूको क्रेज मात्र होइन कि काम पनि न्यून पाउन थालेका छन् । रेखाको क्याम्पबाट जन्मिएका नायक होस् या नायिका अनि निर्देशक नै किन नहुन् सबैले गतिलै काम गरिरहेका थिए र उनीहरूको कामको तारिफ पनि राम्रै हुन्थ्यो । जब उनीसँग निहुँ खोजेर क्याम्बाट बाहिरिन्छन् तब उनीहरू गुमनाम हुनतिर लाग्छन् । किन त ? यो त दुई-चार दिन चल्यो भन्दैमा आफ्नो विगत बिर्सनेको के कुरा गर्ने खै ? कलाकारले दुई-चार दिन होइन निरन्तर रूपमा चल्न सक्ने हैसियत बनाउन सक्छु- नायिका रेखा थापाले भनिन् ।

लोन्ली हर्टस्को अमेरिकी संस्करण विमोचित
नेपाली लेखक कुमार श्रेष्ठको अङ्ग्रेजी भाषामा लिखित कथाहरूको सङ्ग्रह लोन्ली हर्टस्को राजधानीमा विमोचन भएको छ । साहित्यकार एवम् समालोचक डीपी भण्डारीले गत आइतबार सो पुस्तकको विमोचन गर्दै संसारमा विकसित मुलुकहरूको जीवन नै एकाङ्की हुँदै गएको अवस्थामा कुमार श्रेष्ठको लोन्ली हर्टस्ले सबैको मन छुने र उनीहरूले नेपाली जीवन, परम्परा, संस्कृति र संस्कारबारे जानकारी पाउने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिकामा रहेको माउन्ट रोजर बुक्स एलएलसीले प्रकाशित गरेको सो पुस्तकमा नेपालको कला, संस्कृति, अन्धविश्वास, जिन्दगी, परम्परा, यहाँको बेरोजगारका कारण उत्पन्न द्वन्द्व र त्यसपछि देख्ने अमेरिकी जीवनको सपनाबारे मनोरञ्जक र मर्मस्पर्शी रूपमा मुद्दा उठान गरिएको छ ।
प्रकाशकको तर्फबाट हरि शर्माले नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतिभा भए पनि आर्थिक अभावका कारण उनीहरूको प्रतिभा कृतिहरू प्रकाशन हुन नसकेको यथार्थ सुनाउँदै आफूहरूले नेपालका कृतिहरू अङ्ग्रेजी र नेपाली जुन भाषामा रहे पनि प्रकाशन गरेर क्षमता उजागर गराउने अवसरको प्रारम्भ गरेको बताउनुभयो । कुमार श्रेष्ठको पुस्तक अन्तर्राष्ट्रियस्तरको भएको भन्दै यसले छिट्टै बजार लिने दाबी पनि उहाँले गर्नुभयो । मन्तव्यका क्रममा लेखक श्रेष्ठले आफ्नो अप्रकाशित कृतिहरूलाई प्रकाशित गरेर अन्तर्राष्ट्रियकरण गरिएकोमा धन्यवाद दिँदै यसले आफूलाई भविष्यमा लेखनकार्यमा समर्पित हुन थप प्रेरणा दिएको बताउनुभयो ।

युवा जगाउन पिँडामा सांस्कृतिक कार्यक्रम
आफ्नो पाँचौँ वारि्षकोत्सवको अवसर पारेर धादिङ पिँडाको पिन्डेश्वरी क्लबले बृहत् सांस्कृतिक एवम् शुभकामना कार्यक्रम आयोजना गर्‍यो । स्थानीय श्री गजुरी पिँडा माध्यमिक विद्यालय, भीमसेनस्थानको प्राङ्गणमा गत १४ गते आयोजित सांस्कृतिक कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजेन्द्र भण्डारीले गरेका थिए भने धादिङका सहायक प्रजिअ विजय पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी एनेकपा माओवादीका धादिङ सहइन्चार्ज उत्तम कँडेललगायत विभिन्न पार्टीका युवा नेता पनि अतिथिका रूपमा सहभागी थिए । हजारौँ दर्शक भेला भएको सो अवसरमा राष्ट्रियस्तरका कलाकार गोपाल नेपाल ‘फिस्टे’, प्रकाश ओझा, नवराज घोरासैनी, शिला आले, आरपी भट्टराई, हरि थापा आदिले आ-आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिलाए । चाडपर्वको अवसरमा मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय युवावर्ग तथा नागरिक समाजलाई विकास-निर्माणका काममा सरिक गराउने कार्यको थालनीका रूपमा समेत उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष भण्डारीको कथन थियो । कार्यक्रम आयोजनाका लागि युवा समाजसेवी विष्णुबहादुर भण्डारीले विशेष भूमिका निर्वाह गरेको पनि उनले बताए । कार्यक्रम सञ्चालन विष्णु भण्डारी ‘रेसम’ले गरेका थिए ।
-विनोद उप्रेती

प्रेमीहरूको सहरमा ‘म छु नि तिम्रो’
पोखरा आफैंमा एउटा सुन्दर सहर हो । त्यसमाथि नेपालका पर्यटकीय सहरहरूमध्ये अगाडि रहेको पोखरा नवविवाहित जोडीहरूको हनिमुन गन्तव्यको रूपमा पनि चिनिन्छ । पोखराको परिचय यतिमा मात्र सीमित राख्नु फेरि पोखरामाथि अन्याय पनि हुनसक्छ । हरेक क्षेत्र, वर्ग अनि तह र तरिकामा लागेको व्यक्ति-व्यक्तिहरूको नजरमा सुन्दर मानिँदै आएको पोखरा विशेषतः नेपाली चलचित्रकर्ममा लागेकाहरूको बुझाइमा भने कुवेरको खजाना नै हो । नेपाली चलचित्रलाई माया गर्ने सर्वाधिक दर्शकहरूको उपस्थिति छ यहाँ । सिनेकर्मीहरू यसै भन्छन् ।
त्यसमाथि प्रेमकथामाथि आधारित चलचित्रहरूले पोखरामा व्यावसायिक सफलता हात पार्ने गरेका छन् । काठमाडौंपछि निर्मातालाई बढी सेयर दिने हलको रूपमा परिचित पोखराको मुखमा रहेको विन्ध्यावासिनी हलका प्रोपाइटर उत्तम द्वा नेपाली चलचित्रका लागि उर्वरभूमि हो भन्छन् ।
विशेष गरेर प्रेमकथामाथि आधारित चलचित्रले पोखरामा किन व्यावसायिक सफलता हात पारिरहेका छन् त ? जवाफमा विन्ध्यवासिनी हलका प्रोपाइटर उत्तम द्वा भन्छन्- यहाँ नेपाली चलचित्रलाई माया गर्ने दर्शकको राम्रो जमात छ । यो वर्षौंदेखिको बलियो उदाहरण पनि हो ।
हिंसात्मक चलचित्रको दाँजोमा प्रेममय सिनेमाले पोखरामा बढी मात्रामा बजार पाइरहेका रहेछन् । यतिसम्म कि राम्रो चलचित्रले त यहीँको एउटा हलबाट समेत सिनेमाको पूरै लगानी उठाएको वास्तविक्ता पनि रहेछ । प्रेममय सिनेमाकै बजार राम्रो भइरहेको समयमा भाइटीकाको दिनदेखि प्रदर्शनमा आएको चलचित्र म छु नि तिम्रोले पनि पोखराको विन्ध्यवासिनी हलमा आफ्नो करामत देखाएरै छाड्यो । माया र प्रेमबाट कोही पनि टाढा रहन सक्दैनन् र यस्तो विषयमाथि बनेको चलचित्रलाई सबैले मन पराउँछन् । त्यसमाथि पोखरेली दर्शकको त माया र प्रेम परिचय नै हो । ‘प्रेममय सहरका दर्शकहरूमाझ मैले प्रेममय चलचित्र नै पस्किएँ र आज त्यसलाई स्वीकारि्डनुभयो,’ चलचित्र म छु नि तिम्रोको रिलिजमा पोखरा पुगेका निर्माता एवम् नायक रोज राणाले घटना र विचारसँग पोखराको विन्ध्यवासिनी हलमा यसै भने । चलचित्र लागिरहेको हलमा नायक रोज राणालाई छुने र हेर्न लालायित दर्शकको जमात गजबकै थियो । ‘यसअघि टक्कर दुई मुटुको चलचित्रबाट पनि मैले दर्शकहरूको राम्रै साथ पाएको थिएँ, आज पनि पाएँ, निकै खुसी छु,’ राणाले भने । त्यसो त उनलाई पोखरेली दर्शक यस्ता सुझाव दिन पनि पछि सरेनन्, ‘तपाईं आगामी दिनहरूमा पनि यस्तै प्रेममय सिनेमा नै दिनुस् है ?’
दर्शकहरूको यो आग्रह र सुझावलाई सुनेपछि पोखरेली सञ्चाकर्मीमाझ नायक एवम् निर्माता रोज राणाले भने, ‘मैले तपाईंहरूकै इच्छाअनुसार सिनेमा बनाइरहेको छु । आगामी दिनमा पनि त्यसै गर्नेछु ।’
आफ्नो सिनेमा निर्माणको कार्यशैलीलाई नबिर्सने प्रतिबद्धता व्यक्त गरे राणाले । मदन घिमिरेको निर्देशन रहेको चलचित्र म छु नि तिम्रो मा रोजका अलावा सौजन्य सुब्बालगायतका कलाकारहरूको अभिनय रहेको छ ।