नेपालीले देख्न बाँकी अब सेनाकै शासन !

नेपालीले देख्न बाँकी अब सेनाकै शासन !


■ आरपी पाठक

राज्यमा आदर्श समाज स्थापनाका लागि विभिन्न कालखण्डमा विभिन्न प्रकारका राजनीतिक प्रणालीको विकास भएको मानिन्छ । जुनसुकै राजनीतिक प्रणाली होस् त्यो आफैमा सामाजिक सङ्कट समाधानको पर्याय हुनु आवश्यक छ । यसको मूल जड भनेको मानिस वा जनता नै हो । जुन राजनीतिक प्रणाली जनमुखी व्यवहारमा अब्बल सावित हुन सक्दैन, आवरणमा जतिसुकै प्रजातान्त्रिक, लोकतान्त्रिक जेसुकै भनिए पनि व्यावहारतः असफल नै मानिन्छ ।

एक शताब्दीको अवधि आँकलन गर्दा नेपाल र नेपालवासीले संसारमा प्रचलनमा आएका प्रायः सबैजसो राजनीतिक प्रणालीलाई देखी–भोगीसकेका छन् । यस अर्थमा हामी आफूलाई भाग्यमानी पनि ठान्न सक्छौँ र अर्काे राजनीतिक प्रयोगशालाका प्राणी समेत ठान्न सक्छौँ ।

हामीले भोगेको राजतन्त्र र राणातन्त्र दुवै परम्परागत राजनीतिक प्रणाली हो, जुन प्रणालीमा सामन्तवाद हाबी हुन्छ । राज्य सञ्चालन गर्ने मालिक र सहायकबीच विशुद्ध ब्यक्तिगत बफादारीमा आधारित सम्बन्ध भएको परम्परागत प्रणालीलाई सामन्ती प्रणाली भनिन्छ । यसमा मालिक र सहायक वंशाणुगत हुन्छन् । यस व्यावस्थामा राजनीतिक भर्नाको मुख्य आधार योग्यता–क्षमता–दक्षता नभई जाति–प्रजाति, इलाका–क्षेत्र आदिसहितको कुलिनतन्त्रीय नियुक्ति हुने हुनाले यसलाई जहानियाँतन्त्र पनि भनिएको हो ।

अर्काे प्रचलित राजनीतिक प्रणाली भनेको संक्रमणकालिीन राजनीतिक प्रणाली हो । यसमा पुरातनतर्फ फर्काउने र आधुनिकतातर्फ डोहोऱ्याउनेको होडबाजी हुन्छ । आधुनिकतातर्फ लैजान चाहनेले राजनीतिक भर्नामा योग्यता क्षमता दक्षताको कदर गर्छ भने पुरातनवादीले वंशाणुगत नश्लवादलाई अंगिकार गर्दछ । तर नेपालको सन्दर्भमा त उल्टो देखिँदैछ । आधुनिकतातर्फ लैजानुपर्ने जमातले नै राजनीतिक भर्नामा वंशाणुगत नश्लवाद रोजेको छ ।

त्यसैले आधुनिक राजनैतिक प्रणाली नाम र आवरणमा जन्मिए पनि यसको न्वारनमा नै हाम्रा राजनीतिक ज्योतिषी गुरुहरू वा कर्ताले नै नयाँ प्रणालीलाई सामन्ती प्रणालीभन्दा माथि उठाउन चाहेनन् । उनीहरू आफै सामन्तवादको नौलो संश्लेषणका रुपमा देखा परे । त्यसैले संक्रमणकालीन राजनीतिक प्रणालीबाट अझै अगाडि बढेको अवस्थामा मात्र प्राप्त हुने विश्वको सभ्य प्रणालीसम्म पुग्ने सेतुका रूपमा खडा भएको र त्यो जमातको नेतृत्व गर्ने भन्ने क्रान्तिकारी खेमाले नै प्रतिगमन स्विकार्दै आफुलाई र आउने पुस्तालाई समेत उही पुरातन अवस्थामा गुज्रिन बाध्य तुल्याएको आजको अवस्थामा सबैभन्दा उन्नत मानिएको आधुनिक–उत्तरआधुनिक राजनीतिक प्रणालीको चर्चा–परिचर्चा त्यति सान्दर्भिक नहोला ।

‘नागरिक सर्वाेच्चता’का दृष्टिकोणमा सैनिक शासन अनपेक्षित होला, तथापि देख्न र भोग्न बाँकी भनेको अब सेनाको शासन मात्र छ । भोग्नु भोगेर सबैतिरको आश मारिसकेका नेपालीजनका लागि कतै त्यो शासन पो फलिफापयुक्त सावित हुने हो कि ?!

पश्चिमा सम्पन्न देशमा लागू भएको राजनीतिक भर्ना प्रक्रियामा दक्षता क्षमता योग्यतामा आधारित व्यावस्थाले मात्र आधुनिक प्रणालीको अभ्यास गराउन सक्दछ । महान् राजनीतिशास्त्री आर्थर एफ वेन्टले भनेका छन्– ‘सामाजिक समूहहरूको क्रियाकलाप र सम्बन्धलाई नै राजनीतिको कच्चा पदार्थ मान्दछन् जसको कहिल्यै समाप्त नहुने अन्तरक्रियाबाट समाज बनेको हुन्छ ।’ यस भनाईभन्दा विपरीत गएर निहीत स्वार्थ बोकेको नितान्त आर्थिक गतिविधिसँग मात्र सम्बन्ध राख्ने अराजक झुण्डको चङ्गुलमा परेर त्यसैलाई राजनीतिक कच्चापदार्थ सम्झने कथित नेतृत्वले आधुनिक राजनीतिक प्रणालीलाई जन्माउन त सफल भए तर त्यसको उचित लालनपालन गर्नेसम्मको चरित्र भने नियमन गर्न सकेनन् ।

सकुन् पनि कसरी ? कि त यिनीहरू सामन्त परिवारमा नै जन्मिएका वर्ग थिए, त्यो नहुँदा पनि तिनै सामन्तको जुठोपुरो खाएर हुर्किएकाहरूबाट त्यो खालको राजनीतिक ‘जीन’ उत्पन्न हुन गाह्रै छ, जसले आधुनिक–उत्तरआधुनिक राजनीतिक प्रणालीको विकासमा टेवा पुऱ्याओस् । आफूलाई जतिसुकै क्रान्तिकारी ठान्ने राजनीतिक वर्गले पनि नेपालको सन्दर्भमा जहान–परिवार र आफन्तभन्दा माथि आफूलाई उठाउन चाहेनन् । यसकारण पनि उनिहरू आदर्श राज्य र समाज स्थापनाका लागि राजनीति गर्ने समूह नभई आफ्नो भाग मात्र सुनिश्चित गर्नका लागि गठन भएको झुन्ड सावित भए । आफ्नै जहानियाँतन्त्र खडा गर्न अर्थ र श्रोत–साधनको जोहो गर्न मात्र उद्धत् देखिए ।

एउटा क्रान्तिलाई थेग्न नसकेर आफ्ना धन–दौलत दरबार सबै चिज त्यागेर केही चल सम्पत्ति मात्र साथ लिएर मुग्लानिएका जहानियाँ शासकहरूको टुटेफुटेको ऐना त श्री ३ महाराज चन्द्र सम्शेरले बनाएको सिंहदरबारमा अझै बाँकी होला । सोही ऐनामा समेत आफ्नो मुख देखाउन सक्ने हैसियतमा हाम्रा कथित क्रान्तिकारीहरू रहेनन् । अनि कसरी नेपाली जनताले उत्तरआधुनिक आदर्श राज्यको जनता बन्ने सुवर्ण अवसर प्राप्त गरून् ? त्यसैले यी तिनै किसिमका राजनीतिक प्रणालीको जन्म झण्डै सयवर्षको अवधिमा भएकै हो, तर त्यसको अभ्यास गर्ने–गराउने वर्ग नै सशक्त र तालिम प्राप्त नभएका कारण हामीले सबै किसिमको राजनीतिक प्रणाली त देख्यौँ, तर अनुभूत गर्न पाएको चाहिँ उही पुरातन सामन्तवादी राजनीतिक प्रणाली मात्र हो । अरु बाँकी दुई ‘जम्ल्याहा भाइ’ त जन्मे तर हाम्रो परिवेशमा हुर्कन बढ्न नपाउँदै निमोठिएका छन् ।

अन्त्यमा, लेख्न–बोल्न कति औचित्यपूर्ण होला–नहोला तर हामीले हेर्न, जान्न र भोग्न बाँकी रहेको त अब सैनिक शासन मात्र हो । नेपाल र नेपाली सबैले सबै किसिमको राजनीतिक प्रणाली ज्ञात–अज्ञातवश हेरिसके/भोगिसकेकाले अब लोकतान्त्रिक भनिएको ‘नागरिक सर्वाेच्चता’का दृष्टिकोणमा सैनिक शासन अनपेक्षित होला, तथापि दोहोऱ्याएरै भन्नुपर्छ– देख्न र भोग्न बाँकी भनेको सेनाको शासन मात्र छ । भोग्नु भोगेर सबैतिरको आश मारिसकेका नेपालीजनका लागि कतै त्यो शासन पो फलिफापयुक्त सावित हुने हो कि ?! सबैको सय होस् ।