लकडाउनमा बहुमुल्य खयरको रुख कटान गरी तस्करी !

लकडाउनमा बहुमुल्य खयरको रुख कटान गरी तस्करी !


■ विकास रौनियार, धादिङ

कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि देशव्यापी रुपमा लकडाउन गरिएको छ । तर, यही डकडाउनको मौका छोपेर वन पसेका काठ तस्करले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ (साविकको मुलपानी गाविस वडा नं ६ कुपिण्डे)को माता जलेश्वरी सामुदायिक वनभित्र खयरको रुख सखाप पारेका छन् ।

सामुदायिक वन फडानी भएको सूचनाका आधारमा स्थलगत अनुगमनमा पुगेको डिभिजन वन कार्यालयको टोलीले जाँच मचुल्का गर्दा अवैधानिक रुपमा काटिएका बहुमुल्य खयरका २६ वटा रुखका ठुटासमेत फेला पारेको छ ।

प्राप्त जानकारीअनुसार रुख काट्नको लागि डिभिजन वन कार्यालय धादिङले इजाजत दिएको थिएन ।

करिव ६ सय ६९ क्युफिट खयरका काठ वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । स्थानीयवासी शिव गुभाजूसहित १५ जनाले गत मंसिर १७ गते आफ्नो लालपुर्जामा भएको जग्गामा रहेको खयरको रुख काट्न अनुमति मागेका थिए । तत्पश्चात सबै प्रक्रिया पुरा गरी डिभिजन वन कार्यालय धादिङले उनीहरुलाई १ सय ८४ वटा रुखमा टाँचा लगाइ कटानको अनुमति दिएको थियो । जसमध्ये १ सय ७४ वटा रुखहरु कटान भइ राजश्व तिरेर बेचबिखन समेत भइसक्दा आवादी जग्गाकै छेउछाउमा रहेको सामुदायिक वनको जग्गामा रहेका खयरका रुख पनि काटिएको भेटिएको हो ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख जीवनाथ पौडेलले नम्बरी जग्गाको जम्मा १० रुख मात्रै काट्न बाँकी रहेको र एक सय ७४ वटा रुख काटेर करिव १९०० क्युफिट काठ प्रक्रिया पूरा गरी ओसारपसार समेत भइसकेको जानकारी दिए । अहिले बरामद भएको काठजति सबै सामुदायिक वनको रहेको पौडेलको दाबी छ ।