पूर्वाग्रह, विद्रोह र गौशाला

पूर्वाग्रह, विद्रोह र गौशाला


पूर्वाग्रह र विद्रोह दूवै अतिवाद हुन् । पूर्वाग्रहीले पहिले नै निर्णय गरिसकेको हुन्छ । यदि कसैका निर्णयहरू सम्बन्धित पूर्वाग्रहको विपक्षमा देखिए भने कानुनी व्यवस्थाकै विपक्षमा उभिन्छ । विद्रोहीले कानुन नै मान्दैन । उसका लागि विद्यमान व्यवस्थाका सबै अंगहरू ‘व्यर्थ हुन्छन्, पीडक हुन्छन् र विभेदकारी हुन्छन् ।’ असहिष्णुता र घृणावाद विद्रोही र पूर्वाग्रही विचकाका मिलन विन्दु हुन् । अहिलेको नेपाली मनोविज्ञान अधिकारको पूर्वाग्रह र विद्रोहीको अतिवादबाट गिजोलिएको छ । पूर्वाग्रह तथा विद्रोहले समाजमा दूरगामी द्वन्द्व निर्माण भएको छ । अतिवादका कारण घृणावाद झनै सघन भएको छ । ‘सन्दीप-गौशाला २६’ बहसले उपरोक्त मनोविज्ञानलाई छताछुल्ल पारेको छ ।

कोर्टले जे-जस्तो भनेपनि सन्दीपले ‘गौशाला २६’सँगको सम्बन्धमा नेपालको धार्मिक, सांस्कृतिक तथा सामाजिक कर्तव्यको उल्लंघन गरेको प्रष्ट छ । यसमा दोषी ‘गौशाला २६’ पनि छन् तर सन्दीपको स्तरमा होइन । नैतिक कर्तव्य त्यस प्रतिको सम्मानको विषय व्यक्तिगत सहमति र असहमति भन्दा फरक तत्थ्य हुन्छ । यहाँ सहमति वा असहमति भन्दा पनि समाजमा निकै प्रतिष्ठा प्राप्त गरेको व्यक्तिले मर्यादाको उल्लंघन गरेको बहस हो । जतिधेरै व्यक्तिको स्टारडम त्यति नै धेरै उसको कर्तव्य ठूलो हुन्छ ।

सन्दीपले यौनसुख प्राप्त गर्नका लागि विवाहको बाटो रोज्नु पर्थ्यो । गौशाला–२६ ले आवेशमा निर्णय गरेको अवस्थामा पनि सन्दीप आफुलाई रोक्नु नै पर्थ्यो । गौशाला सन्दीपको व्यक्तित्व र स्टारडमको पाशोमा परेको हुन सक्छ अथवा सन्दीपजस्तो स्टारलाई लोग्नेका रूपमा पाउने इच्छा बोकेको पनि हुन सक्छ । तर दोषचाहिँ स्टारकै हुन्छ । कोर्टले छोड्दैमा सन्दीपको गल्ती सच्चिँदैन । ऊ आफ्नो कर्तव्यबाट, नैतिकताको दृष्टिकोणबाट कामवासनामा फसेको हो अथवा आफ्नो गौशालालाई साधन बनाएको हो ।

सन् १०९६ ताका अमेरिकी राष्ट्रपतिको लेबेस्की काण्ड निकै भाइरल भएको थियो क्लिन्टनले आफ्नै कार्यालय सहयोगीसँग यौनजन्य क्रियाकलाप गरेर झूट बोलेका थिए । पछि क्षमा मागेपछि उनको पद जोगिएको थियो । यसमा उनकी पत्नी हिलारी क्लिन्टनको क्षमाले धेरै महत्वपूर्ण ठाउँ ओगटेको थियो । नेपाली समाज त्यतिबिघ्न उदार छैन । नेपाली समाज यौनकर्मका सवालमा क्षमा गर्ने मूडमा देखिन्न । त्यसमा पनि गौशाला-२६ उपर दोष थोपर्नेहरू धेरै हुन सक्छन् ।

सन्दीपलाई छोड्दैमा वा जोड्दैमा समस्याको समाधान हुँदैन । धार्मिक, सामाजिक तथा राजनैतिक तहबाट नै किशोरकिशोरीहरूलाई सन्दीप र गौशालाजस्तै कामवासनाबाट जोगाउने नीति तर्जुमा गर्न आवश्यक छ । आज घरघरमा सन्दीप र गौशालाहरू जन्मिदै छन् । रिपोर्ट हुँदा चर्चामा आउँछन्, नभए अर्को हरेक सन्दीपले अर्की गौशाला र अर्की गौशालाले नयाँ सन्दीप खोज्ने क्रम रहिरहन्छ । यो मेरो/तपाईंको/हाम्रो घरभित्र पनि छिरेको हुन सक्छ । सन्दीप र गौशालाहरूको यो काण्ड यौनजन्य क्रियाकलापमा आत्मनियन्त्रणको अभाव र नैतिक दायित्वप्रति उपेक्षा अथवा अज्ञानताको परिणाम हो ।

शरीर भोग्नु नै सर्वोच्च सुख हो भन्ने मान्यता बोकेका शरीरवादीहरूलाई यो सुझाव मन नपर्ला, उग्रनारीवादीहरू रिसाउलान् तर सामाजिक, सांस्कृतिक र धार्मिकरूपमा मान्यता प्राप्त गरेर मात्र यौनसुख प्राप्त गर्ने बाटो हुँदाहुँदै ‘लुकेर’ यौनसुखमा रमाउने प्रवृत्ति आयात गर्नेहरूको नेपाली सांस्कृतिक, पारिवारिक तथा धार्मिक मान्यता विरुद्ध छ । सन्दीपगौशालाको उमेर समूहमा यौन जिज्ञासा, चाहना र प्रयास प्राकृतिक तत्थ्य हुन् तर आफ्नै अग्रसरताको यौनक्रिया अनैतिक हो । कसैले नदेखेको र रिपोर्टमा नआएको भए पनि अनुचित हुन्थ्यो ।

मेरो यो आलेख पढीरहँदा केहीको मनमा ‘सेक्स प्राकृतिक आवश्यकता हो, नैतिकता र अनैतिकताको विषय होइन । उमेर पुगेका पुरुष वा महिलाको मन मिलेपछि सेक्समा सरिक हुनु गलत होइन’ भन्ने विचार पनि आउलान् । कतिका मनमा ‘मान्छे एतिबिघ्न नैतिक हुनै सक्दैन’ भन्ने चिन्तन पनि आउला तर विश्वका धेरैजसो मान्छेहरूको सेक्स–जीवनका सवालमा संयमको पक्षमा छन् । त्यसमा पनि समाजले चिनेको, जानेको, बुझेको मान्छेका लागि सामाजिक, सांस्कृतिक, धार्मिक मर्यादाको पालन अनिवार्य हुन्छ । यसको अर्थ साधारण व्यक्तिलाई नियम लाग्दैन भन्नु होइन ।

फेरि पनि भन्छु, सन्दीपले जोशमा होस् वा होसमा होस्, होस गुमाएको हो । मुद्दा जित्दैमा होस गुमाएको गल्ती सच्चिँदैन । कानुनी विजय हासिल भए पनि नैतिकरूपमा पराजय नै हुन्छ । साथै, गौशाला-२६ जिते पनि उनी पनि नैतिक रूपमा पराजित नै ठहरिने छन् । उपदेश दिनु छैन । तर एउटा महिलाका रूपमा आफ्नो अस्मिताको रक्षा गर्ने जिम्मेवारी आफ्नै हुन्छ । एकपटक ‘सम्बन्ध’को विषय मिडियामा आइसकेपछि, वहसको विषय बनिसकेको अवस्थामा कठिनाईहरू झन् जटिल हुँदै जान्छन् । जोसुकैले मुद्दा जिते पनि द्ददाग’ रहिरहन्छ । अधिकारवादको आन्दोलनले आन्दोलित बनाउन प्रेरित गर्छ तर ‘दाग’ धुन सक्दैन ।

सन्दीपलाई देवत्वकरण गर्ने र गौशालालाई ‘पीडित’ ठानेर निजको पक्षमा सन्दीपलाई दानवीकरण गर्ने दूवैले आत्मसमीक्षा गर्नुपर्छ । नैतिक दृष्टिकोणले गौशाला-२६ को तुलनामा सन्दीपको दोष बढी छ । कोर्टले सजाय वा सफाईको निर्णय प्रमाणका आधारमा गर्ने हो । प्रमाणहरू भन्दा बाहिर जान सम्भवतः कोर्टलाई मिल्दैन होला तर नैतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले विधिवत् विवाह नगरी स्वच्छन्द यौनजन्य क्रियाकलापमा प्रवेश गर्नु पाप र सामाजिक सांस्कृतिक मर्यादाको ठाडो उल्लंघन हो । कोर्टले किताबमा तोकिएको गर्ने हो । समाजलाई व्यापक प्रभाव पार्ने अवस्थामा रहेका सन्दीपले उच्च नैतिकता प्रदर्शन नगर्दा युवाहरू ‘त्रसित’ हुने अवस्था सृजित भएको छ । निर्दोष तथा साधारण युवतिहरू समेत आंशिक रूपमा सही ‘अविश्वासी तथा सेक्सी’ टुल्स बन्न पुगेका छन् ।

आजको युवा अरूबाट उच्च नैतिकताको अपेक्षा गर्छ आफूचाहिं सन्दीप वा गौशाला-२६ सरह स्वतन्त्रताको उपयोग गर्न चाहन्छ । त्यसैले समाज विभाजित भएको छ । जिज्ञासामा समेत देवत्वकरण गर्ने र दानवीकरण गर्ने समूहको अभिरुचिअनुसारको उग्र प्रतिक्रिया देखिन्छ । ठ्याकै नेपाली राजनीतिजस्तै अधिकारमात्र खोज्ने कर्तव्य पालनतिर कत्ति पनि ध्यान नदिने मनोविज्ञान व्यक्ति तथा समाजमा बढ्दो छ । नैतिक धरातलमा चिन्तन गर्ने दृष्टिकोण मलीन भएको छ । धेरैले यो लेख पढ्ने नै छैनन् । पढ्नेहरू मध्ये केही पक्षमा त केही विपक्षमा उभिने छन् । तर नैतिकताको तराजुमा बोल्नेहरू थोरै एकदम थोरै हुने छन् ।

जुनसुकै राम्रो/नराम्रो घटनालाई तर्क तथा नैतिकताका धरातलमा बुझ्ने, चिन्तन गर्ने र प्रतिक्रिया व्यक्त गर्ने परिपाटीको आवश्यकता टड्कारो हुँदैछ । समाजमा कर्तव्य र नैतिक चेतनाको विकास हुन सके धेरै ‘सन्दीप’ र ‘गौशाला’हरूले गल्ती गर्ने थिएनन् । गौशालाहरूले सामाजिक, सांस्कृतिक तथा कानुनी पीडाका साथ कष्टदायी मानसिक पीडाहरू भोग्नु पर्ने थिएन । जुनसुकै र जस्तोसुकै घटना न्यायिक विषय बनेपछि पक्ष वा विपक्षमा निर्णय त आउँछ । मुद्दा हारे पनि जिते पनि स्वास्नीमान्छेप्रति अनुदार नेपाली समाज गौशालाहरूका लागि सजिलो हुने छैन । पूर्वाग्रह र विद्रोहको आगोमा सबैभन्दा बढी पिल्सिने गौशाला नै हुने छन् । अनुदार नेपाली समाजभित्र गौशालाहरूले आजीवन सङ्घर्ष गर्नुपर्ने छ ।