कोरोनालाई जितौँ र जीवनपद्धतिमा पुनर्जागरणको बाटो पहिल्याऔँ

कोरोनालाई जितौँ र जीवनपद्धतिमा पुनर्जागरणको बाटो पहिल्याऔँ


■ जगदिश कुमार थापा

यतिबेला कोरोना–महामारी चलिरहेको छ । अदृश्य यस जीवाणुको शैली, शक्ति र यसले पुऱ्याउँदै गरेको क्षति हेर्दा यो महामारी मात्र नभई विश्वयुद्ध नै हो । सिङ्गो विश्व कोरोना भाइरसविरुद्ध एकतिर उभिएको छ र अर्कोतिर यही अदृश्य जीवाणु रहेको छ, र मानव समुदाय हायलकायल बनिरहेको छ । सारा गतिविधि तथा आर्थिक क्रियाकलाप ठप्प छ । यसर्थमा यो तेस्रो विश्वयुद्ध नै हो भन्दा फरक पर्दैन ।

कोरोना महामारीपछि विश्व आर्थिक, सामाजिक, राजनीतिक र भूमण्डलीकरण क्षतविक्षत हुँदैछ । पश्चिमाले निर्यात गरेको ‘ब्यवस्था’ विश्वबाट अब हराउँदै जानेछ, साथै उनीहरूले निर्यात गरेको धर्मान्तरणप्रतिको विश्वास पनि ध्वस्त हुनेछ । प्रगतिको मानक मानवता बिर्सिएर आधुनिक हतियार शस्त्र–अस्त्र निर्माणमा होमिएका शक्तिराष्ट्रबाट कमजोर मुलुकका प्राकृतिक श्रोतमाथिको दोहन भएको प्रकृतिले सहन गर्न सकेन । यसर्थ, मानवीय भावनाबाट पर हुँदै रोबर्ट बन्दै गरेको विश्व मानव सभ्यतामाथि यो हुनु नै थियो ।

हाम्रोजस्तै अन्य कमजोर मुलुकमा पश्चिमाहरूले थोपरिदिएको सिद्धान्त वाद ब्यवस्था हाम्रो मौलिक जीवनपद्धति एवम् धर्ममाथि गरेका आक्रमण अनि उनीहरूले जन्माइदिएको अराष्ट्रवादी नेतृत्व फेल हुने बेला हो यो । ‘मान्छे भएकोले ब्यक्तिको अधिकार हुनुपर्छ’ चाहिँ भन्ने तर त्यो देश स्वाधीन रहन पाउनुपर्छ भनी नभन्ने पश्चिमाको हैकम अब पक्कै पनि थामिने छ । सीमा ब्यवस्थापन, स्वतन्त्र राज्यले आफ्नो नियम अनुशासन बनाउन पाउने अधिकार बञ्चित गरेर हैकम देखाउन प्रयोग गर्ने उनीहरूको रवाफ केही मत्थर अवश्य हुनेछ ।

यो भाइरसको असर कहिलेसम्म हुन्छ र कसरी यसको समाधान हुन्छ भन्ने अझै एकिन छैन । विश्वमा परेको असर हाम्रोमा पनि पर्ने नै छ । यस्तोमा हाम्रो संस्कृति–जीवनपद्धति बौरिनु पर्दछ । विदेशमा काम गर्ने बहुसंख्यक नेपाली बाध्य भएर अब स्वदेश फर्कने अवस्था निम्तिने छ । विदेशी कम्पनी बन्द हुँदाको असर नेपाल राज्यले आर्थिक समस्याको रूपमा भोग्नु त छँदैछ, साथै यसै पनि नागरिकहरु बेरोजगारको मारमा परिरहेको अवसथामा अब थप बेरोजगार मान्छेको भिड लाग्ने देखिन्छ । त्यसले पार्ने प्रभावसँग राज्यले लिएको नीति परिवर्तन गर्न बाध्य बनाउने छ । रेमिट्यान्सले धानेको अर्थतन्त्र र त्यसमा रमाएर रहेका शासकहरूले अब सोच्न सुरु गरे हुन्छ कि कसरी मान्छेलार्ई ब्यवसायिक बनाउने, कसरी लगानीको वाताबरण बनाउने ? कुन–कुन क्षेत्रमा कर्म–व्यवसाय केन्द्रित गर्दा छिटो प्रतिफल हासिल गर्न सकिन्छ, कसरी फाइदा हुन्छ भन्ने कुराको पहिचान गर्ने आदित्यादि समयमै नसोचे यो विश्वब्यापी समस्याले हामीलाई मारमा पार्छ नै ।

बाटाका गमला उठाउने, पशुपतिमा सजाएको फुल चोर्ने, दुबो बचाउन प्रहरी नै तैनाथ गर्नुपर्ने, नियम-कानुनको धज्जी उडाउने, भीडभाड नगर्नु भन्यो भने खोट देख्ने नेपालीको प्रवृत्ति छ । हुँदाहुँदा कोरोनाविरुद्ध ऱ्याली गर्दै माइतीघरमा कोणसभा गर्न उपस्थित नहोलान् भन्न सकिन्न । क्वारेन्टाइनमा राखेकै मान्छे फरार भैदिने यस्ता अबुझ जनताहरूको लागि त यिनै प्रचण्ड, ओली, देउवा जस्ता नेता नै उत्तम छन् भन्नैपर्ने हुन्छ ।

छिमेकी भारतसँगको खुल्ला सीमाको असर हाम्रो उत्पादन ब्यवसायमाथिको निर्भरता आदिमा मात्र नभई विश्वब्यापी माहामारीमा दुवै देशलाई खुल्ला सीमाकै कारण महामारी रोकथाममा परेको असर दुवैतिर बुझ्नु–बुझाउनु समयको माग हो । खुल्ला सीमाले फाइदा भन्दा बेफाइदा के–के भयो र के–के आर्थिक नोक्सानी आजसम्म भएको छ, नेपाल सरकारले यस्तोबेला अलिक गहिरिएर सोच्नुपर्छ ।

वास्तवमा बुझ्नुपर्छ कि आजको कठिनाई खुल्ला सीमाकै कारण सिर्जित छ । हाम्रा उत्पादनभन्दा सस्तोमा आइदिने सागसब्जीदेखि गुन्द्रुकसम्म आयात हुँदा नेपालमा उत्पादन गर्न चाहने मानिस निराश हुन पुगे । अनि हाम्रा भूमि बन्जर बने र युवा जनशक्तिले वैदेशिक रोजगारलार्ई जीवनयापनको सुरक्षित माध्यमको रूपमा रोजे भनी सोच्ने, मनन गर्ने बेला हो यो । अराजकता वा आतङ्कवादको बढावा हुनुमा बेरोजगारी अनि वैदेशिक रोजगारीको के भूमिका हुन सक्छ र शासन–व्यवस्थामाथि त्यसकै आडमा कस्तो प्रभाव पर्न सक्छ भन्ने सवालमा पनि दुवै देशले सोचविचार गर्नुपर्छ ।

कहिले आउँछ हामीमा चेतना ?

कोरोना आक्रमणका कारण लाखभन्दा बढि मरिसके भने लाखौँ सङ्क्रमित छन्, यसबाट दुनियाँ आतङ्कित छ । तेस्रो विश्वयुद्ध नै यही रहेछ सायद, यस्तै अनुभूति गराएको छ । विशेषज्ञहरू भन्छन्, रोकथाम र उपचार आफूले आफैलार्ई गर्ने हो । नेपालमा पनि यो रोगको लक्षण फेला परिसकेको सन्दर्भमा सरकारले लकडाउन लम्ब्याउँदै सर्वसाधारणलार्ई बाहिर ननिस्कन आग्रह गरेको छ । कतिपयले सरकारविरुद्ध गालीगलौज गरेको समेत सुनियो । हरेक कुरामा सरकारको विरोध गर्ने, कानुनको खिल्ली उडाउने अनि देश होस् त चीन, जापान र अमेरिका जस्तो भनी मृगतृष्णा देखाउने !

वास्तवमा हामी नागरिकले के बुझ्नुपर्छ भने अनुशासनहीन या खराब जनता भएको मुलुकमा राज्य कहिल्यै असल भेटिँदैन । कानुन नटेर्ने जनता भएको ठाउँमा देश बन्दा पनि बन्दैन । तीनकुनेको दुबो चोर्ने, बाटाका गमला उठाउने, पशुपतिमा सजाएको फुल चोर्ने, दुबो बचाउन प्रहरी नै तैनाथ गर्नुपर्ने, नियम कानुनको धज्जी उडाउने, हुलदंगा भीडभाड नगर्नु भन्यो भने त्यसमा खोट मात्रै देख्ने नेपालीको प्रवृत्ति देखिएको छ । हुँदाहुँदा कोरोनाविरुद्ध ऱ्याली गर्दै माइतीघरमा कोणसभा गर्न उपस्थित नहोलान् भन्न सकिन्न । क्वारेन्टाइनमा राखेकै मान्छे फरार भैदिने यस्ता अबुझ जनताहरूको लागि त यिनै प्रचण्ड, ओली, देउवा जस्ता नेता नै उत्तम छन् भन्नैपर्ने हुन्छ ।

न्युजिल्यान्ड, चीन, जापानको जस्तो प्रधानमन्त्री या राष्ट्रपति खोज्नलाई आफू पनि ती देशका जनता जस्तै सभ्य हुनुपर्छ । जीवनको मूल कुरा भनेकै अनुशासन हो । हरेक मानिसले अनुशासन पालना गर्ने हो भने जस्तै विपत्तीलार्ई पनि जित्न सकिन्छ । सरकार तथा सरकारी निकायहरु, जस्तो कि प्रहरी, सेना, कर्मचारी, स्वास्थ्यकर्मीहरूको मात्रै जिम्मेवारी हैन नि, देशका हरेक नागरिकले बुझ्नुपर्छ । चीन, जापानलगायत जति पनि देशमा महामारी नियन्त्रणमा आएको छ, त्यहाँ जनता आफैले यो रोगको विरुद्ध लडे, उनीहरू आफै सचेत छन् र सरकारको निर्देशन पनि पालना गरिरहेका छन् ।

कोरोना महामारीलाई जित्दै हामीले अब जीवनपद्धति परिवर्तन गर्नेतिर अहिल्यैदेखि सोच्नुपर्छ । परिवर्तनको तात्पर्य आफ्नै मौलिकतामा फर्कने भन्ने बुझियोस् । हाम्रा धर्म, संंस्कार–संस्कृतिले सिकाएका पाठ र मूल्य–मान्यता जो हामीले अवज्ञा गर्दै आएका छौँ, ती त निकै वैज्ञानिक रहेछन् भन्ने समयले सिकाएको छ । यस महामारीले हामीलाई यो सम्झाइदिएको छ ।

यो भाइरसलार्ई यमराज आयो भनेर बुझ्दा हुन्छ । लकडाउन भनेको चेस खेल्न, क्यारम खेल्न, खसी काटेर खान, साथीहरू भेटघाट गर्न, चौतारीमा गफिन भनेर सरकारले बिदा दिएको हैन । धेरैको बुझाई ‘नेपाल बन्द’ जस्तै रह्यो– साँझ ५ बजेपछि बन्द सिध्धियो अब बाहिर निस्के हुन्छ भन्ने बुझाई गÞलत भयो । भिडभाड नगरौँ, जहाँ छौँ त्यहीँ बसौँ भनी पटक–पटक भनेपनि केही नलाग्ने कस्ता मान्छे हामी ? लकडाउन भनेको चोकमा तथा बाटोमा बसेर गफ दिनु हो र ? यस्तोमा दोष जनताको या सरकारको ? यत्रो त्रासको वातावरण हुँदाहुँदै हुल बाँधेर घुम्न निस्कने मान्छे देख्दा त नेपालीलार्ई अब सरकारले त के पशुपतिनाथले पनि बचाउन सक्दैनन् । दिनरात नेता खत्तम भनेर नथाक्ने हामी दुई–चार हप्ता संयमित भई जिम्मेवार बन्न सक्दैनौँ भने यस्ता गैरजिम्मेवार नेपालीको लागि मौजुदा नेता नै लायक छन् राज गर्न नभनेर के भन्ने ?

आफ्नो घरभित्र बसि आफू र अरुलाई कोरोनाबाट जोगाउन दिइएको अवसर हो लकडाउन । यस्तो अवस्थामा आफ्नो सुरक्षा आफैले गर्ने हो । सरकारले एउटा नियम लागू गर्ने हो, पालना गर्नुपर्ने हामीले नै हो । यसै पनि कोरोनाको कुनै औषधि अहिलेसम्म छैन, यसमाथि हामीसँग उच्च प्रविधि, उपकरण र पर्याप्त स्वास्थ्यकर्मी छैनन् । तर, हामी यो मनन नगरी, कसैको डर नमानी निर्धक्क हिँडिरहेका छौँ । फेरि यस्तो विकराल अवस्थामा पनि बजारमा कालो बजारिया र बिचौलियाहरूको बिगबिगी छ । केही ब्यापारीहरू यही मौका पारेर लुटधन्दामा ब्यस्त छन् । दुनियाँ कोरोनासँग लडिरहेको बेला स्वास्थ्य जस्तो संवेदनशील विषयलार्ई बेवास्था गर्दै कमाउन लागिपर्नेहरू देख्दा आफैलाई धिक्कार्न मन लाग्छ ।

अन्तमा, यो सबै पक्षमाथि गम्भीर सोचविचार गरी अनुशासित बनौँ । आफू बचेर अरुलाई पनि बचाउनेतिर लागौँ । सबभन्दा महत्वपूर्ण कुरा त, यो कोरोना महामारीलाई जित्दै हामीले अब जीवनपद्धति परिवर्तन गर्नेतिर अहिल्यैदेखि सोच्नुपर्छ । यहाँनेर परिवर्तनको तात्पर्य आफ्नै मौलिकतामा फर्कने भन्ने बुझियोस् । हाम्रा धर्म, संंस्कार–संस्कृतिले सिकाएका पाठ र मूल्य–मान्यता जो हामीले अवज्ञा गर्दै आएका छौँ, ती त निकै वैज्ञानिक रहेछन् भन्ने समयले सिकाएको छ । यस महामारीले हामीलाई यो सम्झाइदिएको छ । यो मनन गरौँ । पुनः भन्नैपर्छ– संयमित होऔँ र कोरोनालाई जित्दै जीवनपद्धतिमा पुनर्जागरण पहिल्याऔँ । अस्तु ।