■ विश्व सिग्देल
प्रिय भाइ अमृतको वालमा यो हलो झुण्ड्याएको गाईको तस्बिर देखेपछि मलाई पचास वर्षअघिको पोखराको तस्बिर याद आयो । त्यतिखेर पशु र मानिसको सहचर्य कस्तो थियो, आंखिझ्यालबाट हेर्न सहयोग पुगोस् ।
गोठभरी लैना र बकेर्ना गाईभैंसी हुन्थे । गोरु र लैना गाईभैंसीले विशेष सम्मानसाथ कुँडो–पानी अन्नपात पाउँथे । चैतबाट मकै लगाउन अन्य पाखोबालीका निमित्त बाहिर लैजानुपर्ने हुँदा गोरूलाई घिउ, तोरीको तेलका साथ नुन बाँसको ढुङ्ग्रोमा राखेर खुवाइन्थ्यो अनि दुःख–बिमारमा निकै ख्याल गरिन्थ्यो । ज्वोरो–खरोबाट आराम दिलाउन गुदरगानो, गुर्जो आदि स्थानीय जडीबुटीहरू खुवाइन्थ्यो । घाउचोट लागेमा बेसार र तोरीको तेल फिटेर घाउमा दली पुरानो सिरकको खोल च्यातेर काप्रो बाँधिन्थ्यो ।
गौडी पूर्णिमा, तिहारआदि चाडपर्वमा गाईबस्तुले सेलरोटी, खिर र चामलको पिठोको पिण्डोसमेत फेला पार्थे । गाईबस्तुकै भागबाट केटाकेटीहरूलाई पनि पशुलाई झैँ बोलाएर केही रोटी–खिर दिइन्थ्यो । केटाकेटीहरू पशुझैँ चार हातखुट्टा टेकेर रोटी–खिरको दुनोसम्म पुग्नुपर्थ्यो । हामी त्यो दिन कुरेर बसेका हुन्थ्यौँ । गाइभैंसी ब्याउनुभन्दा अघि र पछि पुरै संवेदनशीलता साथ स्याहारसम्भार पोषणमा ध्यान दिइन्थ्यो भने घरमा परिवारकै सदस्यका झैँ एघार दिन नै सुतक बारिन्थ्यो, न्वारन गरिन्थ्यो र नवजातको नाम दिइन्थ्यो । सुतकभरी शुभ कार्य हुँदैनथ्यौ । स्त्री चौपायालाई ‘तिमी’ भनेर बोलाइन्थ्यो भने पुरुष चौपायालाई तँ भनेर सम्बोधन गरिन्थ्यो ।
स्याल, फ्याउरा, खरायो, चौघडा, तित्रा, बटैहरू बारीभरी उछलकुद गर्थे । मलेवाले बिस्कुन टिपेर हैरान पार्थ्यो । कुनै जनावर मर्नेबित्तिकै गिद्धको बथान झरेर त्यो सिनो केही छिनमै सिनित्तै पारीदिन्थे । सडेको दुर्गन्धले नाक थुन्न पर्दैनथ्यो । डोकाको पासो थापेर ढिकुर छोप्न धेरै समय लाग्दैनथ्यो । घरका खटप्वालैपिच्छे भँगेरा, डाङ्ग्रे, ठेउवा, जुरेलाका गुँड हुन्थे । गौंथलीको गुँड नभएको घर हुँदैनथ्यो । घरभित्र दलिनमा गुँड बनाउने हुँदा गौंथलीलाई चलाए पाप लाग्छ भनेर अभिभावकहरूले बच्चाहरूको मनमा ठुंसी दिन्थे । उनीहरू निर्बाध भित्र–बाहिर गरिरहन्थे ।
रोपाइँका गोरुले हली, खेताला र बाउसेले भन्दा पनि मिठोचोखो पाउँथे । राम्रो–राम्रो पोषिलो घाँस तथा अन्नपातले पेट भर्थे । घरमालिकले गाईबस्तुलाइ तिमी भनेर बोलाउँथे, सुम्सुयाउँथे, बात मार्थे । मालिकको बोलाइ र सुम्सुम्याइको बदला ती पशुहरूले पनि आँखा, कान, मुन्टो आवाज लगायत विभिन्न अंगप्रत्यंगबाट संवाद गर्थे । यो एक प्रकारको पशु र मानिसबीचको गजबको सम्वाद मैले मेरो बाल्यकालभरी अनुभव गरेँ ।
मेरा बा गौवा लिएर दुहुन बस्ने बेलामा गाई वा भैंसीलाई बडो प्रेमले ढाडमा सुम्सुम्याउनुहुन्थ्यो, धाप मार्नुहुन्थ्यो । चल्ने, पुच्छरले हान्ने गर्दा मायापूर्वक ‘नचल्न भनेको’ भनेर दूध निखार्न दिन अनुरोध गर्नुहुन्थ्यो । कुनै त यस्ता दुर्छे हुन्थे कि एउटा खुट्टा खाँबोमा टन्टन्ती कसेर दुहुन बस्नु पर्थ्यो । कहिलेकाहीँ सुम्ला उठ्ने गरी चुटाइ पनि खान्थे ।
गोठमा बस्न पाउने, घाम र पानीको दर्को छेल्न पाउने त लैना बकेर्ना र गोरुहरूको भाग्यमा लेखेको हुन्थ्यो, तर टकेर्ना, थोरे, बुढापाका र दुधछुटेका बाच्छाबाच्छी पाडापाडीहरू गोठबाहिर बारबेर पारेको खोरनुमा खुला ठाउँमा घामले टट्टिएर असिनापानीले चुटिएर बस्नुपर्थ्यो । ती बस्तुहरू गोबरका लागि मात्र भनेर पनि पालिएका हुन्थे । तिनीहरूको खानपिन दानापानीका निम्ति तिनीहरूलाई दिउँसो खुला चहुर वा पाटनमा निकालिदिन्थे । त्यही दुबोमा दाह्री दल्ने, पोखरीको पानी खाने, आहाल खेल्ने गर्थे । गर्मी वा पानीले सताउँदा ठुलो रुख, पहरो वा ओडारको सहायता लिन्थे ।
बँधुवा पशुले गर्भधारण गर्न खोजे भने विशेष प्रकारले कराउने, उफरफाफर गर्ने, छट्पटाउने, यौनाङ्गबाट सेप फाल्नेलगायतका क्रियाकलाप गर्थे । घरधनीले यस्ता हाउभाउ छट्पट्को मूल्याङ्कन गरेर ती गाईवस्तुले गर्भधारण गर्न खोजेको वा नखोजेको पत्ता लगाउँथे ।
त्यतिबेला पोखरामा मानिसभन्दा पशु धेरै थिए । वन्य जीवजन्तु धेरै थिए । चराहरू धेरै थिए । चौतारा र पोखरीहरू प्रशस्त थिए । पाटन, गौचरन र खेलमैदान, सहरीवन पनि मानिसका लालपुर्जाहरू भन्दा धेरै थिए । पोखरामा अहिले पनि पाटन र चौर नाम जोडिएका दुई दर्जन भन्दा बढी ठाउँहरू छन् तर ती पाटन र चौरका रूपमा छैनन्, कङ्क्रिटकाा भद्दा आँखा बिझाउने थुप्रा छन् । त्यतिबेला पशु र मानिसहरूको साहचर्य गजबको थियो, र पोखरा ‘पोखरा’ भएको थियो ।
चर्न गएका गाईवस्तु साँझ परेपछि प्रायः आफै फर्केर आउँथे अनि तगारोमा मालिकको प्रतीक्षा गरेर बस्थे । कहिलेकाहीँ अन्य घरका साथीभाइसँग मिलेर ओडार, पहरा वा ठुलो रुखमुनि रात काट्थे । घरधनी गोबरको मायाले साँझ घर नफर्केका गाईवस्तु खोज्दै हिँड्थे अनि भेटेपछि रन्केर चुट्दै घर ल्याउँथे ।
चरीचरनमै मायाप्रीति हुन्थ्यो । गर्भाधान भएपछि त्यो सम्बन्ध टुङ्गिन्थ्यो । बँधुवा पशुले गर्भधारण गर्न खोजे भने विशेष प्रकारले कराउने, उफरफाफर गर्ने, छट्पटाउने, यौनाङ्गबाट सेप फाल्नेलगायतका क्रियाकलाप गर्थे । घरधनीले यस्ता हाउभाउ छट्पट्को मूल्याङ्कन गरेर ती गाईवस्तुले गर्भधारण गर्न खोजेको वा नखोजेको पत्ता लगाउँथे ।
पशुहरूमा यति अचम्मलाग्दो घ्राणशक्ति हुन्थ्यो, कोसौँ टाडा भएका साँढे वा राँगो पत्ता लगाएर किलोबाट फुस्कनेबित्तिकै उहीँ पुग्थे । गर्भाधान गराउँदा राँगो वा साँढेका मालिकलाई खुराक भनेर पत्रम–पुष्पम दिनु पर्थ्यो । भेँडाबाख्राका निम्ति पनि यही चलन थियो ।
मानिसको हैसियत पशुधनबाट नापिन्थ्यो । गोठमा लैना, बकेर्ना गाईभैंसी र हलगोरु हुनुलाई ‘एक मानो खानपुग्ने घर’ मानिन्थ्यो । अझ कसैकोमा घोडा रहेछ भने त्यसको औकात राजा–रजौटाको जस्तो भैहाल्थ्यो । लैनाबकेर्ना पाल्नका लागि जग्गाजमिन पनि त हुनु पऱ्यो ।
विन्ध्यवासिनी, कुँडहर, छिनेडाँडा मझेरीपाटनदेखि बैदाम मात्र नभएर अर्घौं अर्चलेसम्मका मानिसहरू मात्र हैन गाई बस्तुहरूसमेत सबै चिनिन्थे । ‘बैदाम फलानो पाहारीको भैंसी बर्किएर मझेरीपाटन आइपुगेको छ, लिन आउनु’ भनेर खबर पठाइन्थ्यो । कसले गोरु, भैंसी कहाँबाट ल्यायो ? कति पैसा तिऱ्यो ? उधारो ल्यायो कि खुरमै गनेर ल्यायो ? कसका गोरु राम्रा ? कसका भैंसीले कति दुध दिन्छन् ? जस्ता प्रश्नमा केन्द्रित भएर चौतारीमा बसेका भलादमीहरूका बीच चर्चा हुन्थे । कुनै गरिबगुरुवाको घरमा संयोगले पाथी दुध दिने भैंसी वा जख्खड गोरु पऱ्यो भने मुखियाको निद हराम हुन्थ्यो । त्यो कसरी आफ्नो गोठमा ल्याएर बाँध्ने भन्ने जुक्ति लडाउँथे ।

खेतीपाती गोबरमलमै निर्भर रहने हुँदा गोठ नपुगे पनि खोरमै राखेर भए पनि बुढाखाडा थोरे बाँझा गाईवस्तुहरू पालिन्थ्यो, अघि नै भनियो । गोठबाहिरका पशुहरूमध्ये बलियाबाङ्गा र चतुरहरू चोरेर खान उस्ताद हुन्थे । चार हात अग्लो बाण्डो त्यसमाथिको घोचा, साटाको बार बन्देजलाई ओलम्पिकको हाइजम्पको खेलाडीझैँ फिटिक्क फड्कीदिन्थे । चोरीमा संग्लग्न भैरहेको बेला घरधनीले गन्ध पाउँदानपाउँदै मिलिक्कै हुन्थे । तिनै चोरहरूका कारण गाउँमा झैझगडा, हात हालाहाल, गालिगलोज, पञ्चकचहरी, पानी बाराबार हुन्थे ।
नगर तथा गाउँपञ्चायतले यस्ता चोर गाईवस्तु र तिनका धनीलाई तह लगाउन कान्जेस्, काञ्जीहाउसको व्यवस्था गरेका हुन्थे । किसानहरू जति पीडित भए पनि प्रधानपञ्च, सदस्य वा अन्य हान्ने–मार्नेहरूका गाईवस्तु काञ्जिहाउसमा हुल्ने आँट गर्दैनथे । कसैले गरिहाल्यो भने पनि काञ्जिहाउसको हेरालाले भित्र हुल्नै मान्दैनथ्यो । उसको जागीरको सवाल हुन्थ्यो ।
चोरेर गाली खानुपर्ने, जरिवाना तिर्नुपर्ने, उस्तैपरे चुटाइ खाँदाखाँदा आजित भएर मालिकहरूले गाईबस्तुका खुट्टा र घाँटीनजिकै पारेर वा अगाडिका दुई खुट्टा बाँधेर छाडिदिन्थे । गला र खुट्टा बाँध्ने हुँदा त्यसलाई गलखुट्टी भनिन्थ्यो । चोरको घाँटीमा पुरानो तगारोको मुड्को वा हलो झुण्ड्याइन्थ्यो (तस्बिरमा) जसले चोर बस्तुलाई बान्डो फड्कन अवरोध हुन्थ्यो । मुड्काको बोझले टाउको उठाउन पनि सक्दैनथ्यो ।
पशु, मानिस र प्रकृतिको साहचर्यले पृथ्वी धानिने हो । हामी आफैले ध्वस्त पारेको यो तादाम्यताका दुष्परिणाम बिस्तारै सतहमा आउँदै छन् । आज हामी कहाँ आइपुग्यौँ ? आत्मचिन्तन गरौँ, आत्मनिरीक्षण गरौँ र आत्ममन्थन गरौँ ।
प्रतिक्रिया