■ राजेन्द्रप्रसाद पाठक
हामीले प्रजातन्त्रमाथि धावा बोल्ने शासकका विरुद्ध धेरै लेख्यौँ । उनका विरुद्ध धेरैभन्दा धेरै वितृष्णा फैलायौँ । कथित अग्रगमनकारी आन्दोलनको बहानामा तिनका कतिपय शालिकमा जुत्ताको मालासमेत लगाउन भ्यायौँ । भेटेसम्म शालिक पनि भत्कायौँ । ‘जहानिया’ र ‘एकतन्त्रीय’ शासनविरुद्ध उत्रिँदा पङ्क्तिकारका लगायत धेरैका बाबु–बाजेले रहे–भएको जागिर–जेथा गुमाए । धेरैका बाबुबाजे अराष्ट्रिय तत्व (अत) घोषित हुनुपऱ्यो । आजको मूल्यमा हुन्थ्यो भने करोडौँको सम्पत्ति गुमाइयो । तिनले प्रवासको चिसो भुइँ र अर्काले खटाएर दिएको सीमित दानापानीले दिनचर्या चलाए । सन्तानको शिक्षा र पालन पोषण भनेनन् । कतिका घरजम बर्वाद भए । कतिले प्रवासमै देहत्याग गरे ।
यसरी लामो बलिदानी र संघर्षले जहानियातन्त्र र एकतन्त्रीय पञ्चायती व्यावस्था ढलेको थियो । पञ्चायतका कतिपय क्रुरता र कुशासन सम्झिएर हामी पौष १ गतेलाई ‘कालो दिन’ पनि भन्छौँ ।
आजसम्म आइपुग्दा प्रजातन्त्र पुनर्वहाली भएको पनि ३० वर्ष पूरा भैसकेछ । उमेरले त सबैभन्दा जेठो कथित ‘प्रजातन्त्र’ नै भैसकेको रहेछ । अब त समयले उत्तरार्धको नेटो काटेर समृद्धि हासिल गर्ला भन्दा त उल्टै पुर्वार्ध सम्झन पो बाध्य पारेको महसुस भैरहेको छ । उनै पञ्चायती शासनका प्रवर्तक राजा महेन्द्रलाई सम्झन बाध्य तुल्याइएको जस्तो लाग्छ ।
नेपालमा समाजवाद स्थापनाका लागि लागेका पार्टीका संस्थापक नेताहरूको त अवशान भैसक्यो, तर तिनैका चेला–चपेटाले आजसम्म तिनै पुराना दलहरूलाई हाँकेका छौँ पनि भन्छन्, तथापि आफैलाई लिकबाट बाहिरिएको रेल जस्तो भएको चाहिँ मनन गर्दैनन् । आज पञ्चायतका संस्थापकको अन्त्य भएको पनि पाँच दशक पूरा हुन लाग्दैछ । त्यही एकतन्त्रीय शासकले हालेको समाजवादको जगलाई बहुदलीय शासकले समेत राम्रो कार्य हो भनेर असल कामको सह्राहना गर्दै देश निर्माणमा लागेको भए आज यो देशमा पुर्णरुपेन समाजवाद सफल भैसकेको हुने थियो । तर, प्रतिशोधको भावनाले प्रेरित भएर देखावटी रूपमा समाजवाद फलाक्ने अनि भित्रभित्रै पुँजिवादी जहानिया चरित्र बोकेका नेताहरूका कारण आजसम्म आइपुग्दा न समाजवाद भयो न त पुँजीवादलाई नै स्विकार गरियो ! अलपत्र अवस्थामा देश र जनतालाई पुऱ्याइयो । जसका कारण आज जनता मर्नु न बाँच्नु या घर न घाटका भएका छन् ।
लोकतन्त्रको नाममा लुटतन्त्र चलाउन उद्यत् देखिएका शासकहरूका कारण आजित भएर आज देशवासीले राजा महेन्द्रलाई सम्झिन थालेका छन् । राजा महेन्द्र बितेर गएका आज झण्डै आधा शताब्दि पुग्न लाग्दा पनि यतिबेलाका नयाँ ‘राजा’हरू अझै उनलाई धारेहात लगाएर सत्तोश्राप गर्न शर्म मानिरहेका छैनन् ।
यो देशमा आपतविपद् निम्तियोस् कि कुनै उल्लास–उत्साहको अवस्था होस्– जेसुकै बहानामा पनि जनता र देश नै लुटिने हो । देशको गरिबी देखाएर नेता र प्रशासक धनी भएका छन् तर देश अत्यन्तै जिर्ण अवस्थामा गुज्रिएको छ । काला दिनको शुरुआत गर्ने भनिएका उनै शासकहरूले देशवासीका लागि भनेर खोलिदिएका सार्वजनिक संस्थानहरू आजसम्म यथावत रहिदिएका भए जनताले यो कारुणिक अवस्था भोग्नुपर्ने थिएन होला । केवल जनताका लागि र देशको पुँजी पलायन हुनबाट रोक्न अनि मुलुकमा औधोगिकीकरणका लागि खोलिएका विभिन्न संस्थानहरू खाद्य संस्थान, कृषि औजार कारखाना, जुटमिल, चिनिमिल, कृषि सामग्री संस्थान, आदि चुस्तदुरुस्त अवस्थामा भैदिएको भए आज देशका कृषकहरू लाभान्वित हुने थिए । किसानको उखुको पैसा निहित व्यापारीको स्वार्थपूर्तिमा दुरुपयोग हुने थिएन । कृषि मजदुरहरूले काम पाउँथे । कृषिप्रधान देशले खाद्यान्नको आयात गर्नुपर्ने थिएन । विप्रेषणबाट आएको रकम ढुकुटीमा भरिएर रहने थियो ।
यतायाततर्फ साझा यातायात, यातायात संस्थान, ट्रलीबस, वायुसेवा निगम आदिको समुन्नति भैदिएको भए आज सीमित यातायात व्यावसायीले कार्टेलिङ गरेर जनतालाई सास्ती दिएर लुट्न सक्ने थिएनन् । यस्तो विषम परिस्थितिमा जनता आफ्नो कुम्लोकुटुरो बोकेर सयौँ माइलको पैदलयात्रा गरी कर्मथलोबाट अपहेलित भएर जन्मथलो सम्झदै नाबालक च्यापेर भोकै–प्यासै घामपनी नभनेर एकमुठी सास जोगाउने शर्तमा गाऊँ पर्किनु पर्ने थिएन । यता सरकारले समेत आफ्नै श्रोत–साधन उपयोग गरेर जनताको उद्धार गर्न सक्षम हुने थियो । आज त्यो काम गर्न सरकार चाहेर पनि असक्षम भैरहेको छ । उता वन वातावरण र औद्योगिकरणतर्फ टिम्बर कर्पाेरेसन, कपडा उद्योग, धागो कारखाना, सिमेन्ट उद्योगहरूमा हेटौंडा सिमेन्ट, उदयपुर सिमेन्ट कारखाना, छालाजुत्ता कारखाना, भुकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, हिमाल सिमेन्ट, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, साझा सहकारी संस्थान, दुरसञ्चार संस्थान, विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान, शाही औषधी लिमिटेड, आयल निगम, नेपाल गुणस्तर विभाग साथै राजमार्गको विकाशका लागि अत्यन्तै महत्त्वपूर्ण पूर्व–पश्चिम राजमार्ग आदि दूरगामी महत्वका कामहरू छोटो समयमा सम्पन्न गरेर राजा महेन्द्रले स्थापना गरेको समाजवादी जगलाई हामीले नै समर्थन गरेको बहुदलीय अवधारणाका प्रवर्तकहरूले प्रतिशोधको भाव जगाएर आफ्ना आफन्तलाई नियुक्ति गर्दै त्यस्ता महत्त्वपूर्ण जगको ढुङ्गा समेत बेच्न–मास्न लगाएर ‘नयाँ नेपाल’को श्रृजना गर्ने खोक्रो हुङ्कार आज गर्दैछन् ।
हिजो अन्न निर्यात गर्ने देश आज सागपातसमेत आयात गर्दैछ । देश निर्माणका लागि खटाइएको बजेट कि त खर्चै हुँदैन, खर्च भैहाल्यो भने पनि नेता, ठेगदार र प्रशासकको खल्तीमा आउँछ तर काम भने जस्ताको तस्तै । देश चलाउन चुनेर पठाएका नेता ठेकदार र विचौलियाको चलनचाँजोमा मात्र चल्छन् ।
उतिबेलाका सरकारका कमजोरी भनेको एकात्मक शासन व्यावस्थाबाहेक अरु त कुनै पनि थिएन भनियो भने प्रतिगामी सोचका हिमायती भन्ने आरोप त लाग्न सक्ला, तर यथार्थलाई कालो पर्दाले छोपिरहन भने सकिन्न । आज देशका निरीह जनताले आफूलाई अभिभावकविहीन ठान्ने थिएनन् । देशले दिनानुदिन दरिद्र राज्यको फेटा गुथ्नुपर्ने थिएन होला । देशी–विदेशी विचौलियाहरू छाती फुलाएर सोझा–साझा जनतालाई ठग्न सक्ने अवस्थामा हुने थिएनन् । आज देशले सामान्य जीवनयापन गर्नका लागि आवश्यक पर्ने खाद्यान्न समेत विदेशबाट आयात गर्नुपर्ने थिएन होला । देशका होनहार युवा कामका लागि दलाललाई रकम खुवाएर विदेश पलायन हुनुपर्ने थिएन । कतिका घरवार बर्बाद भएका छन् । देशले दीगो विकासबाट विमुख हुनुपर्ने थिएन । शैक्षिक बेरोजगारीको चरम अवस्था आउने थिएन ।
भएका संस्थानहरू कौडीको भाउमा विचौलियाले खरिद गरेका छन् । उद्योगलाई शौचालयको मूल्यमा बेचिएको छ । चेलिबेटी रोजगारका नाममा बेचिएका छन् । हिजो अन्न निर्यात गर्ने देश आज सागपातसमेत आयात गर्दैछ । देश निर्माणका लागि खटाइएको बजेट कि त खर्चै हुँदैन, खर्च भैहाल्यो भने पनि नेता, ठेगदार र प्रशासकको खल्तीमा आउँछ तर काम भने जस्ताको तस्तै । देश चलाउन चुनेर पठाएका नेता ठेकदार र विचौलियाको चलनचाँजोमा मात्र चल्छन् । देशको ढुकुटीको साँचो जिम्मा लिनेहरू साँचो दलाललाई बुझाएर रक्सीको नशामा निदाउँछन् । हुनेखानेहरू, नेताहरू आफ्ना सन्तान–दर्शन्तानलाई विदेशमा नै पढाउँछन् र उतै स्थापित गराउँछन् ।
अन्तमा, राजनीतिलाई विरासतीय रुप दिँदै जहानियातन्त्र खडा गर्न आफ्नो शेषपछि आफ्नै सन्तानलाई पदमा विराजमान गराउँछन् । देशको कानुन आफैअनुकुल बनाउँछन् । यता देशमा भएका सरकारी शिक्षण संस्था र स्वास्थ संस्थाहरूलाई कोमामा पठाएर स्वास्थ र शिक्षाको व्यापारमा विचौलिया खडा गरी कमिशन असुलउपर गर्छन् । देशका सबै पद प्रतिष्ठा कि त आफै राख्छन् कि त मोटो रकम असुलेर बेच्छन् । रैतीका लागि आज आफ्नै देश परदेश भैरहेको छ । लोकतन्त्रमा आज सच्चा लोकले बाँच्न पाउने अधिकार समेत गुमाउँदैछन् । आज हाम्रो देश अनाचारीको दोहन गर्ने थलो बनेको छ । लोकतन्त्रको नाममा लुटतन्त्र चलाउन उद्यत् देखिएका शासकहरूका कारण आजित भएर आज देशवासीले राजा महेन्द्रलाई सम्झिन थालेका छन् । राजा महेन्द्र बितेर गएका आज झण्डै आधा शताब्दि पुग्न लाग्दा पनि यतिबेलाका नयाँ ‘राजा’हरू अझै उनलाई धारेहात लगाएर सत्तोश्राप गर्न शर्म मानिरहेका छैनन् । तर, यो सबै निर्लज्ज क्रियाकलाप आफ्ना काला कर्तुतको ढाकछोप गर्न मात्र रहेछ भनी आमनेपालीले बुझ्दैछन्, र त राजा महेन्द्रलाई सम्झँदै होलान् । अस्तु !
प्रतिक्रिया