यो देशमा कसलाई र कस्तो आयो प्रजातन्त्र ?

यो देशमा कसलाई र कस्तो आयो प्रजातन्त्र ?


■ आरपी पाठक

जनताद्वारा जनताकै लागि गरिने शासन पद्धतिलाई प्रजातन्त्र भनिन्छ भन्ने भनाई अमेरिकाका प्रसिद्ध राष्ट्रपति अब्राहम लिङ्कनको हो । प्रजातन्त्रको परिभाषाले जहिले पनि जनकेन्द्रित शासन पद्धतिलाई मात्र खास प्रजातन्त्र मान्दछ । स्वतन्त्र आवधिक निर्वाचनद्वारा जनताले स्वस्फूर्त चुनेर पठाएका जनप्रतिनिधिहरूद्वारा गरिने जनमुखी शासन व्यावस्था नै वास्तविक प्रजातान्त्रिक प्रकृया हुन सक्छ ।

तर, फगत दलीय व्यवस्था र आवधिक निर्वाचनको मात्र सुनिश्चित गरेर बाँकी सबै प्रकृया व्यक्ति केन्द्रित सोचले सञ्चालन हुने र निर्वाचनमा भाग लिने उम्मेदवारसमेत निश्चित व्यक्तिले नै चयन गर्ने र सोही व्यक्तिलाई पार्टीको निर्देशनमा लौरो उभ्याए पनि भोट दिनुपर्ने अनि त्यो निर्जीव ‘लौरो’लाई पनि जिताउनै पर्ने बँधुवा कार्यकर्तागत मनोभावले प्रेरित पद्धतिको विकाश भएको अवस्थालाई के प्रजातन्त्र मान्न सकिएला ? यो सवाल फेरि पनि सङ्गीन रूपले उठेको छ ।

सबै जनता कार्यकर्ता र सबै कार्यकर्ता नेता हुने । त्यति मात्र नभएर जेल बसेको, लाठी खाएको अझै विरासतबाट आएको उम्मेदवार अब्बल ठहर हुने परम्परा के प्रजातन्त्रको मुल्यसङ्गत हुन सक्छ ? परिवारको एकजना सदस्य नेता भएकै आधारमा बाँकी सबै उसका परिवार र आफन्तहरू समेत नेता नै हुनुपर्ने, नभए नेतासरह नै मान–मर्यादा जनता वा कार्यकर्ताले जाहेर गर्नुपर्ने अवस्थालाई प्रजातन्त्र मान्न सकिएला ? चुनावमा मोटो रकम खर्च गर्न सक्ने, अझै चुनावको टिकट बाँड्दाकै अवस्थामा उपल्लो दर्जाको नेतालाई नजराना चढाउन सक्ने, चुनावमा गाडी–घोडा र लफङ्गा जमात खडा गर्न सक्ने व्यक्तिलाई नै अब्बल उम्मेदवार सम्झेर बाँकी जनता र कार्यकर्ताले उसैलाई भोट दिने–दिलाउने पद्धति के साँच्चिकै प्रजातान्त्रिक पद्धति हो ? के यस्ता उमेदवार विजयी भएर आए भने देश, जनता र समाज बन्ने आशा गर्न सकिएला ? जनताको चाहना र योगदानको कदर नगरिकनै परिवर्तित अवस्थामा उपल्ला दर्जाका नेताका मनोमानीले तय गरेको झुन्डलाई नै जनताले जबर्जस्त स्विकार गर्नुपर्ने पद्धति के प्रजातन्त्र हुन सक्ला ? त्यति मात्र नभएर जनताद्वारा तिरस्कृत भएका व्यवस्थादेखि पुरस्कृत भएको शासन व्यवस्थासम्म आइपुग्दा समेत उही पुरानै अनुहार र खानदानका सदस्यहरू नै शासनसत्तामा दरिने व्यवस्थालाई लोकतन्त्र मान्न सकिन्छ ?

मौलिक संस्कार–संस्कृतिको विस्थापन गरेर आयातीत परम्परा स्विकार गर्न बाध्य तुल्याउने नियत बोकेको झुण्ड लोकतान्त्रिक दल हुन सक्छ ? बहुमतको कदर नगर्ने र अल्पमतको सम्मान नगर्नेहरू कहिल्यै बहुलवादी हुन सक्लान् ? अक्षम्य अपराध गरेर भौतिक सुविधामा निर्लिप्त भएका झुण्डलाई अघोषित समर्थन दिएर जनतालाई दुःख दिनेहरू कहिल्यै जनमुखी हुन सक्लान् ?

प्रश्न यति मात्र होइन । कुनै पनि पेशा, व्यावसाय वा राष्ट्रसेवामा संलग्न हुन आवश्यक तालिम वा योग्यता हासिल गरेका अब्बल उमेदवारहरूले समेत आफ्नो योग्यताअनुकुल पेशामा संलग्नता जनाउनका लागि समेत दल र सिद्धान्तको झण्डामुनि अनिवार्य रहनुपर्ने अवस्थालाई लोकतन्त्र मान्न सकिएला ? आफ्नो औकात र लगानीमा अध्ययन गर्न वा औषधी–उपचारका लागि प्राप्त हुने अवसरका लागि समेत दलकै निर्देशन वा खटनपटनअनुसार हुने अव्यवस्था कत्तिको लोकतान्त्रिक हो ? संविधानप्रदत्त सामान्य मौलिक हकको प्राप्तिमा समेत दलको सिफारिस कुरेर बाँच्नुपर्ने अवस्थालाई प्रजातान्त्रिक मान्न सकिन्छ ? नेताअनुकुल संविधान संशोधन हुने तर जनताअनुकुल नहुने संविधान आफैमा संविधान हुन सक्छ ? के त्यस्तो विधानले जनमतको कदर गर्न सक्ला ?

सवाल अझै छन् कि मौलिक संस्कार–संस्कृतिको विस्थापन गरेर आयातीत परम्परा स्विकार गर्न बाध्य तुल्याउने नियत बोकेको झुण्ड लोकतान्त्रिक दल हुन सक्छ ? बहुमतको कदर नगर्ने र अल्पमतको सम्मान नगर्नेहरू कहिल्यै बहुलवादी हुन सक्लान् ? अक्षम्य अपराध गरेर भौतिक सुविधामा निर्लिप्त भएका झुण्डलाई अघोषित समर्थन दिएर जनतालाई दुःख दिनेहरू कहिल्यै जनमुखी हुन सक्लान् ? देश र समाजविरोधी राष्ट्रघातक जनघातक विषाणु भनेका भ्रष्टाचारीहरू हुन्, त्यस्ताको वकालत गर्ने र तिनैबाट आश्रृत भएकाहरूबाट देश विकाश हुने कल्पना गर्न सकिएला ? वंशलाई आफ्नो राजनीतिक विरासत सुम्पनेहरू कहिल्यै प्रजातन्त्रवादी हुन सक्छन् ?

जतिसुकै लामो योगदान र आन्दोलनको बलले स्थापना भएको स्वनामधन्य लोकतन्त्र भनिएता पनि माथि उल्लेखित प्रवृत्तिमा सुधार नआएसम्म जनताले सुखको दिनको कल्पनासम्म मात्र पनि गर्न सक्ने छैनन् । राजनीतिलाई पेशा व्यावसायसरह मान्नेहरू हाबी भएसम्म राजनीति सङ्लिने छैन । धमिलो पानीमा माछा मार्नेहरू यसरी नै सकृय रहेसम्म देश र जनताले अवश्य काँचुली फेर्ने छैनन् । समय सन्दर्भ मिलान गरेर छद्मभेषीहरू जबसम्म राजनीतिमा हाबी हुन्छन् तबसम्म राजनीति फोहोरी खेलमा नै सीमित रहनेछ । विशुद्ध सामाजिक सेवाभाव राख्नेहरू राजनीतिमा सहभागी हुने परम्पराको शुरुआत नभएसम्म राजनीति समाजसेवा बन्न सक्दैन । जबसम्म राजनीतिद्वारा निमुखा जनताहरूको उद्धार हुँदैन तबसम्म देशमा प्रजातन्त्र भएको अनुभूति जनताले गर्न पाउने छैनन् ।

गोहीले माछाको हितमा भाषण वा वकालत गर्छ भने गोही धेरै भोकाएको रहेछ भनेर बुझ्नु पर्दछ । बाघ र सिंहले हरिण र मृगको हितमा कहिल्यै काम गर्छन् होला ? नेपालमा आएको प्रजातन्त्र पनि तिनै बाघ सिंह र गोहीहरूले जनतालाई उल्लु बनाएर छद्म आन्दोलनमार्फत् ल्याइएको ‘नक्कली प्रजातन्त्र’मा सीमित भएका कारण जनताले वास्तविक लोकतन्त्र उपभोग गर्न पाएका छैनन् ।

संघीयता समावेशी क्षेत्रिय जातीय लैंगिक र सीमान्तकृतका नाममा संसदमा ताली बजाउने झुन्ड नियुक्ति गर्ने तिनै सामन्ती सोच पालेका छद्मभेषी नवसामन्तहरू हुन् । लोकप्रिय भाषण र आकर्षक कार्यविभाजनका नाममा हुक्के–चौके–बैठकेलाई जातीय क्षेत्रिय र लैंगिक उपमा दिएर आफूअनुकुल ढुकुटी भण्डार र सेफको तालाचावी वैधानिक रूपले खोल्न नियुक्त गरेका ढोकेहरू आफैमा तत् तत् समुदायको प्रतिनिधित्व गर्न लायक ठहर्दैनन् । जातीय क्षेत्रिय र लैंगिक नेतृत्व गर्नेहरू समेत आ–आफ्ना वर्गका हितअनुकुल शासन सञ्चालन गर्नसक्ने क्षमताका हुनु पर्दछ । अन्यथा उनै नवसामन्तका अघोषित भरिया बन्नुसिवाय केही उपलब्धि हासिल हुने छैन ।

आजसम्म उपल्ला अभिजात्य वर्गका प्रतिनिधिपात्रहरू नै त्यस्ता सीमान्तकृतहरूका वकालतमा भाषणवाजी गरिरहेका हुन्छन् । त्यो हुनुको पछाडि तिनै उपेक्षित निमुखाहरूलाई देखाएर आफ्नो नवसामन्ती व्यावहारलाई संविधानसम्मत अनुमोदन गराउन खेलेको खेल हो भन्ने कुरा तत् तत् वर्गले नबुझेसम्म देशमा वास्तविक प्रजातन्त्र कायम रहन असम्भव छ । जो–जो जुन–जुन वर्गको प्रतिनिधित्व गर्छन् सोही–सोही वर्ग वा समुदायले यसको बारेमा निःस्वार्थ प्रश्नको उठान गर्ने सही ढंगले हल गर्ने वातावरण नभएसम्म उपेक्षित वर्गको हित सम्भव छैन । बाँकी अन्य कुनै वर्ग विशेषले यस्ता संवेदनशील विषयको उठान गर्ने अवस्था भनेको उही पुरानै सामन्ती परम्पराको नयाँ अनुमोदनका खातिर मात्र हुनेछ ।

जबसम्म आफ्नो हित वा अहित ठहर गर्न सक्ने वर्ग आफै खडा हुने अवस्था आउँदैन, अर्थात्- जनता स्वयं जबसम्म सचेत हुँदैनन् तबसम्म वास्तविक प्रजातन्त्र खडा हुनै सक्दैन । गोहीले माछाको हितमा भाषण वा वकालत गर्छ भने गोही धेरै भोकाएको रहेछ भनेर बुझ्नु पर्दछ । बाघ र सिंहले हरिण र मृगको हितमा कहिल्यै काम गर्छन् होला ? नेपालमा आएको प्रजातन्त्र पनि तिनै बाघ सिंह र गोहीहरूले जनतालाई उल्लु बनाएर छद्म आन्दोलनमार्फत् ल्याइएको ‘नक्कली प्रजातन्त्र’मा सीमित भएका कारण जनताले वास्तविक लोकतन्त्र उपभोग गर्न पाएका छैनन् । यसका लागि फेरि एकपटक जनस्तरबाट अन्तिम आन्दोलन उठ्न जरुरी छ । र, सम्भवतः छिट्टै अब यस्तो आन्दोलनको ज्वारभाटा उठ्दै छ ।