कुलमानको ‘अकुत सम्पत्ति’माथि उजुरी : बनेपा र धुलिखेलमा २५ रोपनी जमिन खरिद

कुलमानको ‘अकुत सम्पत्ति’माथि उजुरी : बनेपा र धुलिखेलमा २५ रोपनी जमिन खरिद


  • सुरेन्द्र सुवेदी, काठमाडौं

अकुत सम्पत्ति कमाएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । राजधानीमा रहेको भ्रष्टाचार विरोधी अभियानका दामोदर शर्माले आयोगमा उजुरी दर्ता गराएका हुन् ।

आयोगमा परेको उजुरीमा भनिएको छ, ‘प्राधिरणका कार्यकारी निर्देशक घिसिङले पदीय हैसियत दुरुपयोग गरी अकुत सम्पति आर्जन गरी आफ्नो परिवारका सदस्यहरुका नाममा व्यापार, व्यवसायमा लगानी गरेको देखिएकोले निम्न बमोजिमका प्रमाणहरु संलग्न राखी अकुत सम्पति आर्जनमा अनुसन्धान र कारवाही गर्न निवेदन दिएको छु ।’

घिसिङं सातौं तहबाट नेपाल विद्युत प्राधिकरणमा करिब २२ बर्षअघि सेवा प्रवेश गरेका हुन् । उनी २०७३ साल भदौ २७ गतेबाट कार्यकारी निर्देशक नियुक्त भएका र बीचको ७ महिनाबाहेक निरन्तर हाल सम्म सो पदमा कार्यरत रहेका छन् ।

चिलिमे जलविद्युत आयोजनामा प्रबन्ध निर्देशक रहँदा बनेपा, धुलिखेलमा परिवारका सदस्यहरुका नाममा २५ रोपनी जग्गा खरिद गरेको उजुरीमा उल्लेख छ । २०७४ श्रावणमा आफ्ना दाजु, भाइहरु कृपासिंहका छोराहरु गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङं र सुरेश घिसिङंको नाममा ३ करोडको चुक्ता पूँजीसहित तेन्डेल हार्डवेयर कम्पनी (कम्पनी रजिष्टार, दर्ता नं १७१२६२/०७४/०७५०) दर्ता गरी सञ्चालन गरेका छन् । अहिले कम्पनीको वार्षिक कारोवार १ अर्ब भन्दा बढी रहेको छ । कम्पनीको नाममा १७ वटा बैंकमा खाता सन्चालन गरेका र प्राधिकरणका ठेकेदारहरुलाई आवश्यक निर्माण सामाग्री अनिवार्य रुपमा उक्त हार्डवेयरबाटै खरीद गर्न बाध्य पारिएको छ । अहिले उक्त हार्डवेयरका काठमाडौं, पाँचखालसमेत ३ वटा शाखाहरु छन् ।

२०७९ साल श्रावण २६ गते लामा कन्सट्रक्सन प्रालिको ९ लाख ६० हजार कित्ता सेयर १२ दशमलव ५ प्रतिशत कूलमानले आफ्नो भतिज अरुण घिसिङका नाममा खरिद गरी नामसारी गरिसकेका छन् । यो कम्पनीको मूल्य ४ अर्ब ४७ करोड रुपैयाँबराबर रहेको छ । यो हिसाबले उक्त शेयर बापतको मूल्य ५५ करोड ८७ लाख हुन आउँछ । तर, शेयर कारोबार जम्मा ९ करोड ६० लाख रुपैयाँमात्र देखाएर कर छलीमात्र गरिएको छैन, अवैध रकम सुद्धिकरणसमेत गरिएको उजुरीमा दाबी गरिएको छ ।

यसरी आफ्नो पदीय हैसियत दुरुपयोग गरी अकुत सम्पति आर्जन, कर छली र सम्पति शद्धीकरण समेत गरेका उपलब्ध प्रमाणहरुबाट प्रथम दृष्टिमै देखिन आएकोले निजमाथि छानविन गरी कारवाही हुन एक जिम्मेवार नागरिकका हिसाबले यो निवेदन पेश गरेको छु ।