कोरोना महामारी र देशको भविष्य

कोरोना महामारी र देशको भविष्य


■ लक्ष्मणप्रसाद खतिवडा

नेपालमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका, भुल्केवरपर बसोबास गर्ने ११ जनामा कोभिड–१९ को संक्रमणको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण वा समुदायस्तरमा प्रवेश गरेको हो ।

विदेशबाट आएका संक्रमित व्यक्तिबाट उनको परिवारका अर्को सदस्यमा गत ०७६ चैत्र २२ गते संक्रमण सरेको पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो । यसरी दोस्रो चरणमा प्रवेश गरेको एक महिना नबित्दै तेस्रो चरणमा प्रवेश गर्नु हाम्रो लागि किमार्थ राम्रो संकेत होइन । अब थप सतर्कताका साथ लकडाउन, सामाजिक दूरीको पालनाको साथसाथै संक्रमितको खोजी कार्यलाई समेत तीव्रता दिइ समुदायलाई नै परीक्षणको दायरामा ल्याउनुपर्ने देखिन्छ । यसका साथै यो आयातीत संक्रमण भएकोले बन्दाबन्दी नै एक मात्र विकल्प बनेको र विश्वसनीय औषधी तथा खोप बनिनसकेको वर्तमान अवस्थामा सुरक्षात्मक उपायले नै यसको संक्रमण फैलनबाट जोगाउने भएकोले त्यतातर्फ ध्यान दिनु जरुरी छ ।

महामारीको रुपमा फैलिएको यस भाइरसको संक्रमणले दिन–प्रतिदिन विश्वलाई त्रसित पारिदिएको छ । यसबाट बच्न विश्वका शक्तिशाली देशहरूले औषधी तथा खोप बनाउने प्रयास गरे तापनि ती पूर्णतः सफल बन्न सकेका छैनन्, जसले गर्दा मानिसको जनजीवन झन् कष्टकर बन्दै गएको छ । चीन हुँदै सुरु भएको यो भाइरस आज इटाली, स्पेन, अमेरिका, फ्रान्स जस्ता पश्चिमा देशहरूलाई अत्यन्त पीडा दिँदै विश्वभर नै तीव्र गतिमा फैलिइरहेको छ । यसका साथै हाम्रो छिमेकी मुलुक भारतमा समेत यो भाइरसबाट संक्रमित हुनेको संख्या करिव २० हजार पुगिसकेको छ । विश्वभर नै यसबाट संक्रमितको संख्या करिब २६ लाख पुग्नु तथा मृत्यु हुनेको संख्या लगभग २ लाख हुनुले यस भाइरसको महामारीलाई सहजै बुझ्न सकिन्छ ।

कोरोना भाइरसको कारणले रोजगार गन्तव्य मुलुक धरासयी भई अर्बौं रोजगारी गुम्ने निश्चित देखिन्छ । आफ्नो खेतबारी बाँझो राखी विदेशीभूमिमा रोजगारीको लागि जान रुचाउने हाम्रो लागि गन्तव्य मुलुकले रोगजारी कटौती गरेमा हामीलाई थप समस्या हुने निश्चित छ ।

कोरोना भाइरसको संक्रमणको कारणले विश्वभर नै भय, त्रास र शंका मात्र देखिन्छ । सधै थप संक्रमित तथा मानव मृत्युका समाचारले मानिसको मन त्रसित बन्न पुगेको छ । यो भाइरस संसारभर तीव्र गतिमा फैलिरहेको कारणले मानिसहरू स्वनजरबन्दमा परेका छन्न् । परदेशमा रोजगारीका सिलसिलामा विदेशिएका नेपालीहरू समेत आफ्नो देश फर्कन पाएका छैनन् ।

यति मात्र कहाँ हो र ! कोरोना भाइरसको कारणले रोजगार गन्तव्य मुलुक धरासयी भई अर्बौं रोजगारी गुम्ने निश्चित देखिन्छ । आफ्नो खेतबारी बाँझो राखी विदेशीभूमिमा रोजगारीको लागि जान रुचाउने हाम्रो लागि गन्तव्य मुलुकले रोगजारी कटौती गरेमा हामीलाई थप समस्या हुने निश्चित छ । त्यसैले रोजगारी गुमाएका यी युवा समुहलाई राज्यले कृषिकर्ममा लगाउन सके हामीलाई आत्मनिर्भर हुने बाटो खुल्ने देखिन्छ । अब राष्ट्रिय अर्थतन्त्र धराशायी हुने अवस्था आउन नदिन बेलैमा राज्यले स्वनिर्भरताउन्मुख आर्थिक नीति अवलम्बन गर्नुपर्ने देखिन्छ । जसको लागि हाम्रा बाँझो खेत तथा बारीहरूमा खेती गर्न उत्प्रेरित गर्ने नीति राज्यले बेलैमा ल्याउनुपर्छ । अतः कोरोनाको कारण थला परेको अर्थतन्त्रलाई उकास्न तथा बेरोजगारहरूलाई आफ्नो देशमा नै रोजगार बनाउन राज्यले कृषिक्षेत्रको विकास गर्नुपर्ने देखिन्छ ।

आज हाम्रा दाजुभाइहरू रोजगारीका सिलसिलामा विदेशिएका छन् । तिनीहरूले यस्तो महामारीमा न काम गर्न पाएका छन् न त नेपाल फर्कन नै । जसले हामीलाई वैदेशिक रोजगारलाई बढावा दिनको सट्टा आफ्नै स्रोत–साधनको प्रयोग गर्न सिकाएको छ । हाम्रो उपभोगमुखी र बजारमुखी व्यवस्थालाई यसले नराम्ररी प्रभाव पारेको छ । युवाहरूलाई आन्तरिक उत्पादन बढाउने काममा लगाई दैनिक उपभोग्य बस्तुको निम्ति परनिर्भर होइन स्वनिर्भर बन्न सिकाएको छ ।

यो महामारीले मानवीय तथा आर्थिक क्षति पक्कै पुऱ्याएको छ तर नेपालमा यो नियन्त्रणकै अवस्थामा रहेकाले हामीले हाम्रा अवसरहरूलाई चिन्नुपर्दछ । बाह्य मुलुकहरूसँग निर्भर रहँदा हुने असहजतालाई बुझी देशलाई बचाउन आन्तरिक उत्पादनमा जोड दिनुपर्दछ । हामीसँग थोरै मात्रामा भएपनि कृषिसँग सम्बन्धित ज्ञान छ यसलाई राज्यले सही रुपमा परिचालन गरी देशको मुहार फेर्नुपर्दछ ।

हुन त यस्ता महामारीहरू विगतमा पनि आएकै हुन् । प्लेग, बिफर, हैजा, क्षयरोग, एड्स, डेंगु जस्ता महामारीसमेत समयअनुसार सामान्य बन्दै गएकाले यो पनि केही समयमा सामान्य बन्नेछ । कोरोना भाइरस नियन्त्रणमा आएपछि विश्व–समुदायमा आर्थिक मन्दी हुनेछ । विश्वव्यापी रूपमा फैलिएको यो भाइरसले नेपालमा पनि गम्भीर समस्या उत्पन्त गर्ने देखिएको छ । गरिबी तथा बेरोजगारी समस्यामा रहेका हाम्रो जस्तो मुलुकका नागरिकमा भोकमरीको समस्या आउन सक्छ । कोरोनाको कारण दाता राष्ट्र नै आक्रान्त बने भने वैदेशिक सहायता, अनुदान र लगानी अपेक्षाअनुरुप भित्रन सक्दैन ।

नेपालको सन्दर्भमा दीगो अर्थतन्त्रको लागि महत्वपूर्ण क्षेत्र भनेको कृषि तथा पशुपालन क्षेत्र नै हो । हामी अझैसम्म यसमा आत्मनिर्भर हुन सकेका छैनौँ । अब कृषि र पशुपालनमा हामी आत्मनिर्भर बन्नै पर्दछ । अब हामी कृषिमा आत्मनिर्भर भई विदेशबाट फर्किने नेपाली युवाहरूलाई उत्पादनमूलक व्यवसायमा आकर्षित गर्न सक्नुपर्दछ । अन्यथा महामारीले भन्दा भोकमरीले धेरै नागरिकको ज्यान जान सक्ने देखिन्छ ।

कोरोनाको नियन्त्रणको लागि विश्व नै युद्धस्तरमा लागिरहेको बेला यसले सृजना गर्ने नयाँ परिस्थितिको सामना गर्न हामी पनि तयार हुनुपर्ने देखिन्छ । सम्पन्न राष्ट्रहरूले ठूलो मानवीय तथा आर्थिक क्षति ब्यहोरिरहँदा हामी पनि यसबाट मुक्त हुन नसक्ने वास्तविकतालाई हृदयङ्गम गरी स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न अग्रसर हुनुपर्दछ । जसबाट परनिर्भरता अन्त्य भइ बेरोजगारको समस्या अन्त्य हुनेछ । स्थानीय तह, प्रदेश तह एवम् संघीय तहबीचमा उचित समन्वय भइ संक्रमणबाट बचाइ आर्थिक रुपान्तरको लागि देश-विदेशबाट गाउँ फर्केका युवाहरूलाई गाउँमै स्वरोगजार बनाउन सक्नुपर्दछ । कोरोनाको महामारीलाई अवसरको रुपमा प्रयोग गर्दै सबैलाई सीप र क्षमताको आधारमा स्थानीय स्तरमा रोजगार दिन सकिएमा पक्कै पनि देश अग्रगतिमा पुग्न सक्छ ।

संकटले देशलाई नोक्सानी मात्र होइन अवसर पनि प्रदान गर्दछ । यो महामारीले पनि मानवीय तथा आर्थिक क्षति पक्कै पुऱ्याएको छ तर नेपालमा यो नियन्त्रणकै अवस्थामा रहेकाले हामीले हाम्रा अवसरहरूलाई चिन्नुपर्दछ । बाह्य मुलुकहरूसँग निर्भर रहँदा हुने असहजतालाई बुझी देशलाई बचाउन आन्तरिक उत्पादनमा जोड दिनुपर्दछ । हामीसँग थोरै मात्रामा भएपनि कृषिसँग सम्बन्धित ज्ञान छ यसलाई राज्यले सही रुपमा परिचालन गरी देशको मुहार फेर्नुपर्दछ । सबैलाई चेतना भया ।