■ आरपी पाठक
त्रेतायूगमा भगवान श्री रामचन्द्र जी महाराजको वनबास समाप्तिपश्चात अश्वमेध यज्ञ सम्पन्न गर्नका लागि आवश्यक तामझाम सबै पूरा भयो । अर्धाङ्गिनीको अभावमा हुने व्यावधानलाई समेत सीतामाताको स्वर्णमूर्ति निर्माण भैसकेको अवस्थामा जब यज्ञको शुरुवात भयो तब सबै गुरु पुरोहित र बडामहारानीहरू र धर्मपिता महाराज जनक र माताको समेत चरण धुवाइपश्चात् श्रीरामले आफ्ना भाइ शत्रुघ्नलाई घोडा ल्याउने आदेश दिए ।
सो आदेशसँगै लोक विचरण गर्न छोडिने घोडालाई सुरक्षा प्रदान गर्ने र सुरक्षित यज्ञशालासम्म फर्काउने कार्यको जिम्मेवारी पाएका सेनासहितको जत्था घोडाको पछि–पछि लाग्यो । कतै पनि बाधा ब्यवधान नआउने आँकलन गरेर चरम आत्मविश्वासका साथ यज्ञ सम्पन्न हुने अभिलाषा चारैतिर थियो । रावण जस्ता महावीर र परम तपस्वी दस–दस महाविद्याका साधक जसका छोराले स्वर्गका राजा इन्द्रलाई समेत दुहाई बनाएका थिए र त रावणपुत्र मेघनादको नाम इन्द्रजित रहन गएको थियो । जसका भाइ कुम्भकर्ण जस्ता महावीरलाई समेत किञ्चित् नमानी लंकायुद्ध समाप्ति गरेर सकुशल राजधानी फर्किएका श्रीरामको यज्ञमा ब्यावधान आउनेसम्मको शंका कसले गर्न सक्थ्यो र ? तर बाधा–ब्यावधान बाजा बजाएर आउँदैन भन्ने कुराको दृष्टान्त स्वयम् भगवान श्रीरामले समेत ब्यहोर्नु परेको थियो, त्यो पनि आफ्नै आफन्तजनबाट । त्योपनि किञ्चित् नसम्झिएको बालक–बबुराहरूबाट !
यस्तै सावित भयो नेपालको प्रचण्ड बहुमतीय सरकारद्वारा ल्याइएको दलसम्बन्धी अध्यादेशको हविगत । जुन उद्देश्यले अध्यादेश ल्याइएको थियो, त्यो सम्पन्न हुन सकेको भए आजको सरकारको शक्ति र क्षमतालाई कम आँकलन गर्ने अवस्था आउने थिएन । विगतका अभ्यासलाई पुनः दोहोर्याउने, उनै बिरालाभाव राख्ने लोभिपापी चरित्रका जनप्रतिनिधि भनौदाहरूलाई पदको पगरी गुथाइदिने, कोहीलाई रकम कलम उपलब्ध गराएर साम दान दण्ड भेद आदि चारै नीति अपनाएर सम्पन्न गर्न खोजिएको शक्ति सञ्चय र प्रवर्द्धनको यस राजनीतिक महायज्ञमा विचरणमा पठाइएका बिरालाहरूको व्यावस्थापन उचित संरक्षण गर्न निश्चित पहरागण समेत खटाइएको थियो होला । तर अचम्म ! त्रेतायुगीन लवकुश जस्तै किञ्चित् ठहरिएका मधेसीदलहरू यसरी एकट्ठा होलान् भन्ने कसैले पनि आँकलन गरेका थिएनन् । यदि भएको भए त्यसको प्रतिरक्षाका लागि अर्काे वैकल्पिक व्यावस्थापन समेत गरिने थियो होला ।
‘घरका जहान–परिवार मरे भर्सेलीमा आगो ताप्दै दूध सुर्क्याउन पाइन्थ्यो’ भन्ने अभिलाषा राख्ने बिरालाहरूलाई जहिलेसम्म देश चलाउनेहरूले पालनपोषण गर्दै जालान् तबसम्म यस्तो भैरहन्छ ।
मधेशी दलहरूका विगतका चरित्रहरूलाई नियाल्दा त यस्ता कार्य सजिलै सम्पन्न गर्ने जस्तो देखिन्थ्यो तर राजनीतिक फरमुला गणितको भन्दा फरक हुने रहेछ भन्ने कुराको हेक्का नराखेका हाम्रा धुर्त खेलाडीहरू फेरि एकपटक नराम्ररी पछारिएका छन् । तर योजनाभन्दा हठ ठूलो र योग्यताभन्दा इगो ठूलो ठान्ने खेलाडीबाट अबका दिनमा सहजै खेल सम्पन्न गरेर खेलाडीहरू सुरक्षित अवतरण हुन नसक्ने अनुमान लगाउन चुक्नु हुँदैन, ता कि अबको दिनमा प्रयोग गरिने सुत्र गणितको जस्तो मात्र नभएर सामाजिक परिवेशअनुकुल हुन सकोस् । त्यति मात्र होइन कुनै पनि ठूलो भन्दा ठूलो काम सम्पन्न गर्न र त्यस्तो कामबाट आउने परिणाम समेत जनस्तरमा सर्वस्वकार्य गराउन जन चेतनाको समेत प्रचुर आवश्यकता पर्दछ । अन्यथा बलियो सामाजिक सञ्जालसहितको सञ्चारमाध्यमका कारण जुनसुकै बेला त्यस्ता परिणाम ल्याउन सक्ने महायज्ञ बाटैमा नतुहिउन् ।
वास्तवमा परिणाम भन्दा प्रकरणलाई बढि महत्त्व दिएपछिको अवस्था यस्तै–यस्तै नै हुन्छ । त्यसैकारण विगतको इतिहासलाई नियाल्दा नेपालमा गठन भएका दुई तिहाई बहुमत र प्रचण्ड बहुमतका सरकारहरू समेत बेला–बेलामा निकम्मा सावित भैसकेका छन् । लामो ऐतिहासिक अन्तरालमा प्राप्त भएको बहुमतीय सरकारले समेत यस्तै यस्तै दशा व्यहोरिरहेको छ । सरकार चलाउने पक्षले समेत गलत मनसाय नराखीकन यस्ता राजसुय यज्ञहरू सम्पन्न गर्न खोज्नु पर्दछ, ता कि विपक्षीले समेत आशा गर्न सकोस् । अहिलेको अवस्थालाई हेर्ने हो भने त विपक्षीभन्दा पनि सत्तापक्षी नै नाराज भएको देखिँदैछ ।
हुन त ‘घरका जहान–परिवार मरे भर्सेलीमा आगो ताप्दै दूध सुर्क्याउन पाइन्थ्यो’ भन्ने अभिलाषा राख्ने बिरालाहरूलाई जहिलेसम्म देश चलाउनेहरूले पालनपोषण गर्दै जालान् तबसम्म यस्तो भैरहन्छ । यस्ता बिरालाहरूलाई निमिट्यान्न पार्न सक्ने नेतृत्वको विकास गरेर हुन्छ कि यस्तालाई ठेगान लगाएर हुन्छ, यसका लागि जस्तोसुकै हतकण्डा अवलम्बन गर्नसक्ने क्षमताको नेतृत्व भयो भने मात्र ठुला योजना महत्वाकांक्षा वा अभिलाषाले स्थान पाउला । अन्यथा यस्ता बिरालोमेध यज्ञ निरन्तर चलि नै रहलान् । यस्तो यज्ञको रुकावटको विधिसमेत अपनाइरहलान् ।
उच्च स्थानमा बसेर योजना बनाउँदा सो योजनालाई यदि सम्पन्न गर्नु छ भने जनमानसमा भएको शंकालाई पहिले उन्मुलन गरेर जनतालाई विश्वासमा लिन सक्ने वातावरण तय गरिनुपर्छ । रहलपहलमा रहेका केही लोभिपापी बिरालाहरूलाई सदाका लागि तह लगाउनु पदछ । ठूला योजना सम्पन्न गर्न अरु स–साना वैकल्पिक योजनाहरू समेत सँगै ल्याउनु पर्दछ । त्यति मात्र नभई विगतका गणतीय सुत्रलाई मात्र उपयोग गरेर राजनीतिक अभीष्ट पूरा गर्न अब असम्भवप्रायः भैसकेको छ । यसका लागि सामाजिक चेतना र दीगो विकासका सुत्रहरूलाई उपयोग गर्दै जनविश्वास हासिल गरिसकेपछि मात्र ठुलो महत्वाकांक्षा र अभीष्ट पूरा होला, अन्यथा यस्ता यज्ञहरू अधुरै छोड्नुपर्नेछ । जय होस् !
प्रतिक्रिया