रमेश भट्टराई ‘सहृदयी’
हामीले आफ्नै इतिहासलाई, पुर्ख्यौलीपनाको कालजयी सन्देशलाई भुल्दै छौँ । यान्त्रिक सुख र भौतिक सम्पन्नता नै सर्वेसर्वा मान्छौँ । विदेशी नक्कलझक्कललाई आधुनिकीकरण भनेर गलत रूपमा बुझ्यौँ । हाम्रा पुर्खाले भन्थे– ‘हुलमुलमा जिउ जोगाउनुपर्छ, अनिकालमा बिउ जोगाउनुपर्छ ।’ आज विश्वमहामारीको संकटले घरभित्र राखेर बन्दाबन्दी तुल्यायो । हुलमुलबाट टाढा बस्न सिकाउँदै छ । खाद्यसंकटका लागि बिउ जोगाउने आवश्यकता बढ्दो छ । यो समयमा स्वास्थ्यसुरक्षा र नागरिकको गाँस, बासको समस्याले मूलतः शहरीक्षेत्रका सर्वसाधारणको हुर्महत्ते भएको छ ।
यतिबेला सरकार पनि धर्मसंकटमा छ कि घर पठाउँ भने पनि हुलुमुल हुन्छ, राखौँ भने पनि कसरी सम्हाल्ने ? कतिन्जेल कोठामा बस भन्ने ? वास्तवमा हाम्रो देशले विपद्का बारेमा व्यवस्थापनको पूर्वयोजना तय गर्न नसक्दा एउटा निर्णयले अर्को समस्या उब्जिँदै छ । तर, सबैलाई घरको मायाले तान्दै छ, कोठाको अन्नपात रित्तिँदै छ, पर्सको पैसो खाली हुँदै छ । बस्ने र खाने गर्नुपर्दा कमाइविहीन भएर आर्थिक मन्दीको पीडाले थिच्दै छ ।
वि.सं. २०२८ सालको अनिकाल, २०४५ र २०७२ का भूकम्पलाई बिहोरेर पनि नेपालले न त कृषि विकासमा छलाङ माऱ्योे न त ग्रामीणीकरणको मूल्यलाई नै ग्राह्यता दियो । शहरीकरणले कृषिप्रधान देशको माटो घडेरीमा रूपान्तरण भयो अनि गाउँका खेत बाँझै भए । विश्वमा नै आउन सक्ने खाद्यसंकट र भोकमरीको सम्भाव्यतालाई आँकलन गरिरहिएको यो अवस्थामा पनि हाम्रो मुलुक भने राजनीतिक आरोहअवरोहका लप्काभित्र बिरामी छ ।
कतिपय समयक्रममा स्वतः भएका परिवर्तनको जस पनि राजनीतिक उपलब्धिमै लगेर गाभ्न जान्ने राजनीतिक चक्रव्युहभन्दा माथि मानवता भन्ने कुरा पनि हुन्छ । सामाजिक, सांस्कृतिक, पर्यावरणीय विकाससँग नेपालीपनाको जीवनका विषय पनि ठूला विषय हुन् । सबैभन्दा ठूलो विषय आत्मनिर्भरताको विकास हो । मर्नेबेलामा हरियो काँक्रो भनेजस्तो योजनाविहीनका क्षणिक उपलब्धिले नेपाल विभिन्न नामधारी परिवर्तनसँग अभावैअभावको गरिबीमा डुबुल्की मारिरहेकै छ ।
‘नाकाबन्दी’ले पनि हामीलाई स्वाभिमानी र आत्मनिर्भरताको पाठ पढाएन । मान्छेलाई विकास, अवसर, अध्ययन, स्वास्थ्योपचारको अभिलासाले शहरीकृत गरायो । अझ बढी त द्वन्द्वकालले थुप्रै परिवारलाई नै शहरतिर लघाऱ्यो । भूकम्पले पनि गाउँ फर्काउन सकेन । बरु राहतलाई तह लगाउनका लागि गाउँमा साना टहरा भूत घर जस्ता भए । टहरा धनी शहरतिरै भास्सिए ।
गत साल मात्रै भयंकर बाढी आए, डुबान भए तर पनि सतर्कताका बारेमा सोच्न सकिएन । यी त आखिर प्राकृतिक विपत्ति थिए । तर, यी घटनाबाट पाठ सिकेर मानवताका हिसाबले पनि अल्पकालीन र दीर्घकालीन योजनातर्फ नेपालमा दलीय एकताको आवश्यकता छ ।
भारतद्वारा गरिएको ‘नाकाबन्दी’ले पनि हामीलाई स्वाभिमानी र आत्मनिर्भरताको पाठ पढाएन । उतिखेर त ग्याँस खानी सर्वेक्षणका, ग्याँसको विकल्प, डिजेल–पेट्रोलका विकल्पका कुरा हुँदै थिए । सामान्य अवस्थासँगै एकाएक ती कुरा हराए, बिलाए । बरु उसैगरी मान्छेलाई विकास, अवसर, अध्ययन, स्वास्थ्योपचारको अभिलासाले शहरीकृत गरायो । अझ बढी त द्वन्द्वकालले थुप्रै परिवारलाई नै शहरतिर लघाऱ्यो । भूकम्पले पनि गाउँ फर्काउन सकेन । बरु राहतलाई तह लगाउनका लागि गाउँमा साना टहरा भूत घर जस्ता भए । टहरा धनी शहरतिरै भास्सिए ।
लोकतन्त्र दिवसको खुशीयालीमा विगतको पीडाले प्रहार गर्छ । मुलुकमा २००७ साल यता आजको संघीय लोकतान्त्रिक युगसम्ममा थुप्रै परिवर्तनका आकार र बनोटले आशाका ठेली लिएर आए । ठूला–ठूला राजनैतिक परिवर्तन भए, क्रान्ति भए । रगत बगाइए । नेपाल बन्द भन्दै काटाकाट र मारामार गर्न तम्सने राक्षसी लालसा कम दर्दनाक भएनन् । जघन्य कहालीलाग्दा घटनामा निर्दोषको रगतको होली खेलिएकै हो । सिन्दुर पुछिए, काख र कोख रित्तिए । ती आँशु आज पनि सन्तप्त छन् । परिवर्तन भनिए, आखिर उही परिवर्तनको अर्थबोध नभएर आजसम्म मुलुक गुमराहभित्र छ । अझ महामारीमा समेत भ्रष्ट दुर्मुखाहरू निर्घिणी विचार बोकेर मुख बाउँछन् ! अहिले पनि भूकम्पमै जसरी राहतमा ¥याल काढ्ने अमानवीय चरित्र देखिन्छ ।
राजनीतिक अनुशासनहीन मान्छेको ढाकछोप गर्दै, तिनै भ्वाङ टाल्दैमा सत्ताधारी र प्रतिपक्षी नेताहरू जुहारी खेलिरहेकै छन्, उसैगरी । भूकम्पका राहतका चामल त्यतिखेर गोदामभित्रै कुहिए, त्रिपालमा भ्रष्टाचार भए । जनता वर्षौँसम्म छाप्रोमा रोइरह्यो । पाउने–नपाउने सबैले राहतमा राजनीति गर्न तम्सिए । आज पनि यस्तै घटना दोहोरिनु असंवेदनाको पराकाष्ठा हो । यी विषयबाट पनि पाठ सिकेर अब अलिकति व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयमा सोच्ने बेला आएको छ ।
आज पैसाका निम्ति नसुत्ने मान्छे पहिलोपटक जीवन रक्षाका निम्ति घरमा सुत्छ । मानिसलाई अलिकति प्राकृतिक जीवन जिउन सन्देश पनि मिलेको छ । आखिर प्रकृतिले समय-समयमा आफूलाई सन्तुलन राख्न यस्ता घट्ने हुन् कि भन्न पनि सकिन्छ ।
भूकम्पले घरबाहिर राख्यो, कोरोनाले घरभित्रै रहन अभ्यास गराइरहेको छ । जबजब विपत्तिको समय आउँछ तबतब शहरमा विभिन्न उद्देश्य बोकेर आएका सर्वसाधारणलाई भने गाउँको मायाले सताउँछ । मजदुर, विद्यार्थी, सामान्य कामदारहरू, सामान्य पसले आदिलाई कमाएको रकमको थैली रित्तिँदै जाँदा र कोरोना संक्रमणको स्थिति नकारात्मकतातिर बढिरहँदा गाउँको याद आउनु स्वाभाविक कुरा हो । अहिले सडकमा घर फर्किँदै गरिएका दृश्य र घटना पनि कमसेकम घरसम्म पुग्न पाए पारिवारिक आनन्दमा ढिँडोरोटो खाएर भए पनि बाँचौँ भन्ने जनमनोविज्ञानलाई बोध गराइरहेको छ ।
यो आलेख तयार पार्दासम्म विश्वमा ३० लाख भन्दा धेरै व्यक्ति कोरोना भाइरसबाट संक्रमित रहेको देखिएको छ भने मृत्यु हुनेको संख्या पनि २ लाखबाट निकै उकालो लागिसकेको छ । नेपालमा पनि पचासभन्दा ज्यादा व्यक्ति संक्रमित रहेका तथ्यांकलाई हेर्दा र चीनमा पुनः एकान्तवासको नियम दोहोऱ्याएका घटनालाई विश्लेषण गर्दा एकान्तवास (लकडाउन) लाई हतारोमा खुलाउनु उचित पनि देखिँदैन । फलतः राज्यलाई थप आर्थिक भार बढ्न सक्छ । यसर्थ, घर फर्किन चाहनेलाई सबैको तथ्यांक लिएर प्रभावकारी स्वास्थ्य परीक्षण गर्दै घर जान दिनु नै उचित देखिन्छ । यसो भएमा सरकारले एकोहोरो रूपमा सोच्न पाउँछ ।
काठमाडौंजस्ता ठूला शहरमा सरकारले एकान्तवास (लकडाउन) लाई प्रभावकारी व्यवस्थापन गराउनका लागि खर्चिने रकमलाई बचत गरेर स्वास्थ्य सेवातिर खर्चिने उपाय खोज्नुपर्छ । सम्बन्धित क्षेत्र र जिल्लाका स्थानीय सरकार तथा सम्पर्क मञ्चसँग सहकार्य गर्ने तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहतिको सुरक्षित यात्रा गराउने हो भने यो समस्याको उचित हल निस्केला ।
कैयौँ परिवर्तन र आविष्कारले बन्द गर्न नसकेको भूलोक हुलमुलमा जिउ जोगाउन चाहन्छ । यतिखेर स्वास्थ्यकर्मीहरूलाई तिव्र परीक्षणमा जुटिरहँदा आफ्नो असल कर्म प्रदर्शनको अवसर छ भने आत्मसुरक्षाको चुनौती पनि छ । विश्वका अनुसन्धान केन्द्रहरू कोरोना उपचार गर्ने औषधि निर्माणार्थ लागे पनि हामी चाहिँ सामान्य बचाउका विधिमै सीमित छौँ । तर, हामीले पनि हाम्रा भएका प्रविधिलाई उपयोग गरी कमसेकम प्रयास गर्नु वाञ्छनीय हुन्छ । कोरोनाको समस्या हल भएपश्चात् विश्वमा आउने आर्थिक मन्दीलाई पूर्वानुमान लगाउँदा जुन देशले कोरोना उपचारका लागि औषधि निर्माण गर्छ त्यो मुलुकको धनाढ्य बन्ने सम्भाव्यता प्रचुर रहन्छ । साथमा सम्बन्धित देश र आविष्कारकको यश त फैलिन्छ नै ।
हाम्रो देशमा करिब ४० प्रतिशत युवाशक्ति रहेकाले बाहिरबाट आएका युवाको ज्ञान तथा त्यो युवाशक्तिको उपयोगबाट देशको भविष्यरेखा कोरिन सक्छ । हाम्रो देशले अल्पकालिक र दीर्घकालिक योजनालाई तुन्ने बेला आएको छ ।
आज पैसाका निम्ति नसुत्ने मान्छे पहिलोपटक जीवन रक्षाका निम्ति घरमा सुत्छ । मानिसलाई अलिकति प्राकृतिक जीवन जिउन सन्देश पनि मिलेको छ । आखिर प्रकृतिले समय–समयमा आफूलाई सन्तुलन राख्न यस्ता घट्ने हुन् कि भन्न पनि सकिन्छ । तेह्रौँ, चौधौँ शताब्दीतिरै प्लेग रोगका कारण शहरीक्षेत्र प्रभावित भएको इतिहासलाई पढ्दा, सन् १३४७ तिर युरोप (इटाली) तिर फैलिएको ब्ल्याक डेथले करिब २० करोड मान्छे मरेका रहेछन् । अझ उक्त समयमा त प्रविधिले यति धेरै फट्को मारिसकेको थिएन पनि । सन् १९५० तिर फैलिएको बिफरका कारण करिब ५ करोड ६० लाख विश्वका मानिसको चिहान हुनु सामान्य कुरै थिएन । त्यस्तै गरेर सन् १९१८ को स्पेनिस फ्लुका कारण लगभग ५ करोड मानिसको ज्यान गयो ।
वास्तवमा हवाइजहाजमा आवागमन गर्ने मानिसका कारण कोरोनाले ठूला–ठूला समुन्द्रलाई पारीसम्म आफ्नो अड्डा जमाउन सक्यो । हुलमुलबाट टाढा रहने कुरामा देशभित्र होस् या बाहिर सतर्कताको आवश्यकता अनिवार्य छ । आज अमेरिकाको बढ्दो संक्रमणको दरलाई हेर्न हो भने त्यहाँ ‘एकान्तवास’ (लकडाउन) को नियमलाई सुरुमै प्रभावकारी व्यवस्थापन गरिएन । विश्व खाद्य संकटको प्रक्षेपण गरिरहिएको यो अवस्थामा अब नेपालले त्यसको असरबाट जोगिन कृषि विकासका नवीन तौरतरिकालाई खोज्नु अपरिहार्य आवश्यकता हुन्छ । समस्या विगतको इतिहासजस्तो नहोला किनकि आजका मान्छेसँग प्रविधि छ, अनुभव छ तर हामी नेपालीमा कति सजगता छ भन्ने विषय चाहिँ महत्वपूर्ण कुरा हुँदै छ ।
आय आर्जनको ठूलो हिस्सा रेमिट्यान्सले धानेको हाम्रो देशका धेरै नेपाली दाजुभाइहरू अब आर्थिक मन्दीका कारणले स्वदेश फर्कने सम्भावना छ । यसर्थ खेतीयोग्य जमिनमा महँगो घडेरी बनाउने सोचलाई बदल्ने नेपालीपनको नीति नै ‘समृद्ध नेपाल : सुखी नेपाली’को कोसेढुंगा बन्न सक्छ ।
हाम्रो देशमा करिब ४० प्रतिशत युवाशक्ति रहेकाले बाहिरबाट आएका युवाको ज्ञान तथा त्यो युवाशक्तिको उपयोगबाट देशको भविष्यरेखा कोरिन सक्छ । हाम्रो देशले अल्पकालिक र दीर्घकालिक योजनालाई तुन्ने बेला आएको छ । यो २१ औँ शताब्दीको विज्ञानको युगमा यान्त्रिक विलासितामा पिसोल्टिएको मानिसलाई प्रकृतिको झापड हानेको पनि हो । प्रकृतिले आफ्नो वास्तविकत स्वरूप ग्रहण गर्ने अवसर पनि पाएको छ । वातावरण प्रदूषण ह्वात्तै घट्यो । वन्यजन्तु निर्वाध जंगलमा चर्न पाइरहेका छन् । आज मान्छे कृत्रिमताभित्र अन्धो भएर उत्ताउलो भइरहेको छ ।
वास्तवमा ग्रामीणीकरणको आवश्यकताको विकर्षण शिक्षा, रोजगार र स्वास्थ्यको अभाव मात्र हो । अब नेपालले कृषि विकासमा प्रोत्साहन गर्नुपर्छ । शिक्षा र स्वास्थ्यलाई ग्रामीण क्षेत्रमा विस्तार गर्ने तथा केवल सरकारीकरण गर्नुपर्छ । यी दुई क्षेत्रलाई नितान्त निःशुल्क बनाउने योजना उन्ने हो भने थुप्रै महामारीसँग जुध्ने खुबीको विकास हुन्छ । खाना पकाउने ग्याँस, डिजेल, पेट्रोलको आयातका कारण मुलुकको ठूलो रकम बाहिरिने हुँदा अब विद्युतीय विकासतर्फ लम्कनु अर्को आवश्यकता हो । आय आर्जनको ठूलो हिस्सा रेमिट्यान्सले धानेको हाम्रो देशका धेरै नेपाली दाजुभाइहरू अब आर्थिक मन्दीका कारणले स्वदेश फर्कने सम्भावना छ । यसर्थ खेतीयोग्य जमिनमा महँगो घडेरी बनाउने सोचलाई बदल्ने नेपालीपनको नीति नै ‘समृद्ध नेपाल : सुखी नेपाली’को कोसेढुंगा बन्न सक्छ ।
[email protected]
(लेखक समसामयिक सन्दर्भका साथै भाषा र साहित्यका विषयमा कलम चलाउँछन् ।)
प्रतिक्रिया