इन्द्रप्रस्त हार्दा लडाइँ गर्ने, हस्तिनापुर हारे के गर्ने ?

इन्द्रप्रस्त हार्दा लडाइँ गर्ने, हस्तिनापुर हारे के गर्ने ?


■ आर.पी. पाठक

द्वापरयुगमा महाभारतको युद्ध दाजुभाइबीच देशको अंश लगाउने निहुँमा भएको थियो । महाराज सन्तनुका छोरा देवब्रतले भीष्मप्रतिज्ञा गरी राजा नबन्ने भएपछि उनका नतिहरूले राजगद्दी आरोहण गर्ने सुनिश्चित भयो । राज–उत्तराधिकारी छान्ने अलग्गै परम्परा भएका कारण दाजु अन्धा र अयोग्य भएकै कारण भाइ पाण्डुले राजगद्दी सम्हाले । तर, उनको समेत अल्पायुमा मृत्यु भयो र नाबालक राजा नहुने भएका कारण पुनः उनै अन्धा धृतराष्ट्रले नायवी साशक बन्ने अवसर त पाए सोही अवसर कालान्तरमा जन्मसिद्ध शासकीय परम्परा परिणत भयो ।

धृतराष्ट्रको शेषपछि घुमाइफिराइ दुर्याेधन राजा हुने भए । लोकलाज जोगाउन उनै महाराज धृतराष्ट्रले चिहान र जंगल भएको देशको एउटा सानो भु–भाग आफ्ना भाइका छोराहरू युधिष्ठिरसहित पाँचभाइलाई दिएका थिए, तर कालान्तरमा शकुनी पासा पल्टाएर फेरि दुर्याेधनले नै हात पारे । जालझेलवश पाण्डवलाई बनवास र अज्ञातवास पठाइयो ।

यतिबेलासम्म त हस्तिनापुर सिङ्गो राष्ट्र नै थियो । बाँडिएको इन्द्रप्रस्तसमेत प्रपञ्च गरेर समेटियो । टुक्ऱ्याउनै नहुने देशलाई पुत्रमोहमा फसेर धृतराष्ट्रले टुक्रा पारे । यतिमा नै केही हदसम्म भने पनि शान्ति प्राप्ति हुन्थ्यो होला तथापि दुर्याेधनको अहङ्कार र अकर्मण्यताका कारण शकुनीको सल्लाह र कपटी चौसर खेलमा पाण्डवले सत्ता हारे । कालान्तरमा सोही हार एउटा महायुद्धमा परिणत भयो । लाखौँ योद्धाले वीरगति त पाए तर राष्ट्र जोगाउनका खातिर नभएर भाइ–भाइबीचको अक्षम्य नकारात्मक भावका कारण यो भीषण महामारी राज्यले खेप्नु परेको थियो ।

इतिहासमा कालो दागसहितको राज्यभोग अट्ठाइस वर्षसम्म गरेर उनै योद्धा पाण्डवहरू समेत देवलोक प्रस्थान गरे । एउटा नमिठो दुःस्वप्नपछिको ब्युँझाई कति कष्टकर हुन्छ भन्ने पाठ पढाएर महाभारत त टुङ्गियो तर सोही महाभारतका अध्यता बन्नुपर्नेहरू आफ्नै कमजोरीको पाठ पढ्न छोडेर उन्नत समाज बनाउन बाइबल पढ्न थाल्यौँ । हाम्रो समाजमा घटेको विगतको गल्ती अहिलेसम्म दोहोरिने अवस्थामा हामी पुग्न लागेका छौँ ।

एउटा असाध्य रोगको महामारीले मानव अस्तित्वमाथि नै धावा बोलिरहेको क्षणमा त हामी अजेय बरदान पाएको रावण भन्दा कम भएनौँ भने शान्तिको अवस्था हामी देशवासीले कहिले भोग्न पाउने ?

जस्तो कि, आज तिनै सह–वंशीय दुइभाई सत्ताकै लागि लडाइँ लड्दैछन् । अर्काे गान्धार नरेश सकुनीको चाल चल्दैछ । आफ्नो वंशजको सत्ता लुटिएको र मानहानी भएको प्रतिशोधस्वरुप लडाउँदै छ । कहिले कौरवरुपी चरित्रको पछि लागेर त कहिले आफ्नै कुलको मानहानीको प्रतिशोध लिनका लागि मात्रै भए पनि उसले आफ्नो आकारप्रकार ग्रहण गरिसकेको छ । युद्धको सुनिश्चित गरेर आफ्नो प्रतिशोधको लामो र गहिरो हाँसो हाँस्दैछ । त्रिपक्षीय ताण्डव नृत्य शुरु भैसकेको छ । चौसर पासाको खेलमा इन्द्रप्रस्तको हार स्विकार्दै वनबास र अज्ञातबास जाने सुनिश्चित भैसकेको छ । भविष्यमा युद्धको विभिषीका तय भैसकेको छ । तर इतिहासको गर्भमा उब्जिएको एउटा प्रश्नले यो समाजलाई हमेसा घोचिरहने नै छ । इन्द्रप्रस्त मात्रै हार्दा त लडाइँ लडिएला तर हस्तिनापुर नै गुमाउनु पऱ्यो भने के गर्ने भन्ने मुलभुत प्रश्नको उत्तर भविष्यले पनि सायदै दिन सक्ला ?

सङ्क्रमित रोगको महामारीले संसार आक्रान्त भएको यस्तो विषम अवस्थामा समेत हामी नेपालहरू सत्ताका लागि एक आपसमा लडिरहेका छौँ । यस्तो अवस्थामा त हामी सत्ताभोगमा नै निर्लिप्त भयौँ भने बाँकी सहज अवस्थामा हाम्रो हालत के होला ? एउटा असाध्य रोगको महामारीले मानव अस्तित्वमाथि नै धावा बोलिरहेको क्षणमा त हामी अजेय बरदान पाएको रावण भन्दा कम भएनौँ भने शान्तिको अवस्था हामी देशवासीले कहिले भोग्न पाउने ?

हामीले बुद्धको देशमा जन्मिएर पनि अमनचयन हाम्रो लागि अप्राप्य नै हुने भयो । त्यसैले महाराज ख्वामित् ! हामीले इन्द्रप्रस्त त यो लोकतन्त्ररुपी चौसर पासामा हारिसक्यौँ । यसका लागि त लडाइँ लडौँला, तर सिङ्गो हस्तिनापुररुपी नेपाल नै गुमाउनु पऱ्यो भने के गरौँला महाराज ? एउटा राष्ट्रिय गीत ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे.. नेपालै नरहे…’ भन्दै आजलाई बिट मारौँ है त ? जय होस् !