कोरोनाको सम्बन्धमा यी कुरा जानिराख्दा राम्रो

कोरोनाको सम्बन्धमा यी कुरा जानिराख्दा राम्रो


■ दामोदर पौडेल

कोरोना वर्तमान समयको ठूलो आतङ्क बनेको छ कोरोना भाइरस ! मृत्युको अर्को नाम जस्तै मानिएको छ यो भाइरसको प्रकोपलाई । यसका सम्बन्धमा यथासक्य ज्यादा सबैले जानकारी पाउनु उपयुक्त हुने छ । त्यसैलाई ध्यान दिएर केही ब्यवहारिक कुरा उल्लेख गर्ने प्रयास गरिएको छ ।

प्रथमतः कोरोना के हो भन्दा यो एक भाइरस हो भन्ने सबैले बुझिसकेकै छन् । भाइरस साह्रै सानो जीवाणु हो । यसलाई निर्जिव र जिीवतको बीचको वस्तु भनिन्छ । जीवित वस्तुमा रहन पाएमा यो जीवित जसरी नै बढ्दै जान्छ । जीवितमा यसको फैलाओट गुणात्मक रुपमा जान्छ । निर्जिव वस्तुमा रहेमा यो निश्चित समयमा निस्क्रिय भएर जान्छ । भाइरसको प्रकारअनुसार यसको सकृय रहने वा कुनै वस्तुमा जीवित रहने समय फरक हुन्छ । जीवित रहनको लागि पस्थितिले पनि फरक पार्दछ ।

तर यसलाई जीवित वस्तुमा रहँदा जीवित भएको र निर्जिव वस्तुमा हुँदा निर्जिव तर जीवितको बिज रूपमा रहेको भन्न सकिन्छ । कोरोनासमेतका भाइरसको बारेमा अनेक अनुसन्धान भइरहेका छन् । कोरोनाका सम्बन्धमा भनिएका अधिकांश कुरा अनुमान र परिणामका आधारमा भनिएका हुन् । यसबाट मुक्ति पाउने माध्यम यही नै हो भन्ने किटान अनुसन्धानबाट भएको छैन । तैपनि यसबाट वच्नको लागि केही निश्कर्षहरू निकालिएका छन् ।

प्रथमतः शरीरमा रोग प्रतिरोध गर्न सक्ने अवस्थाको श्रृजना नै प्रमुख हुन्छ । यसको लागि मानिसको शरीरलाई ज्यादा रोग प्रतिरोधात्मक बनाउने हो । कतिपय रोग प्रतिरोधको लागि भ्याक्सिनहरू बनेका छन् । त्यस्तो भ्याक्सिन यस रोगको लागि बनिसकेको छैन । अर्कोतर्फ अनुभवको आधारमा रोग प्रतिरोध गर्ने गुण भएका खानेकुरा खाने भन्ने पनि छ । यसमा तातोपानी पिउने, ज्वानो, मरिच, ल्वाङ, गुर्जो आदि प्रयोग गर्ने तथा योगाभ्यास पनि पर्दछन् । यिनको प्रस्ट परिणाम नदेखिए पनि प्रयोग गरेर फाइदा नै हुने हुँदा यी कुराको प्रयोगलाई प्रोत्साहन गरेर फरक पर्दैन । सबै पहिलाका भाइरसको सक्रमण निश्चित समयपछि न्युन हुँदै अन्त्य भएको छ र यो भाइरस पनि केही समयमा अन्त्य हुने नै अपेक्षा छ । यसको अन्त्य हुने समय भने कसैलाई पनि थाहा छैन । त्यसकारण हामी सजग हुुनुको अर्को विकल्प अहिले देखिएको छैन ।

अर्कोतर्फ सामाजिक सञ्जालमा आएका हँसिमजाकका कुराहरूले मानिसमा भ्रम थप्ने काम पनि गरेका छन् । फेसबुकका प्रयोगकर्ताहरूले आफ्नो लेखाइबाट मजाकभन्दा पनि यसले के असर गर्दछ भन्ने पनि सोच्नु पर्दछ । एउटा घरमा दूरी कायम गरेर फरक–फरक ठाउँमा बस्ने, कहिले खाना दिँदा पनि धेरै टाढाबाट दिने जस्ता कार्य भएका देखाइन्छन् । यसले सामान्य मानिसमा के असर पर्ला ? यसैले बढि जान्ने वा बाठो हुुन पनि हुँदैन । मजाकको पनि एउटा हद हुन्छ ।

पहिलादेखि नै संँगै घरमा भएकहरूले दूरी कायम गर्न आवश्यक छैन । नयाँ सदस्य घरबाहिरबाट आएमा तिनले दुई साता अलग बस्नु आवश्यक हो । यसको एउटै कारण भनेको उनमा त्यो रोग लागेको भए १५ दिनभित्र देखिन्छ । देखिएमा उपचार गर्ने र नदेखिएमा १५ दिनपछि परिवारका अन्य सदस्यहरूसँगै बस्ने भन्ने नै हो । तर कहिलेकाहीँ कोभिड भाइरस शरीरमा भएर पनि कुनै ब्यक्तिको शरीरले त्यसलाई दबाएको तर शरीरमा भने रहिरहेकोमा त्यस मानिसलाई केही भएको छैन भन्दा पनि रोग सर्ने हुन्छ । यसको कुनै उपचार छैन । अर्थात् सबै जनसंख्याको जाँच गर्ने हो । त्यो सम्भव छैन । जे सम्भव छैन त्यसका बारेमा सोचेर पनि काम छैन ।

मानिसहरू कोरोनाको कारणले कतै मरिरहेका छन्, कतै उपचारमा छन् । कतै आइसोलेसनमा छन् । जहाँ जसरी भए पनि उनीहरू आर्थिक रुपमा निस्क्रिय छन् । आर्थिक गतिविधि सुन्यप्रायः हुन थालेका छन् । कोभिडबाट बाँचेर पनि खान नपाएर मर्ने अवस्था आउनु हुँदैन भन्नेतर्फ राज्यको र समाजको ध्यान जान आवश्यक छ ।

गाउँ–बस्तीहरूमा मानिसहरू जान थालेका छन् । यस अवस्थामा परिवारलाई सबैभन्दा सानो इकाइ मानेर परिवारबाट सम्भव हुने खेती लगाउन आवश्यक छ । खेतीमा तत्काल परिणाम आउने खालका र दीर्घकालीन कोटीका बाली लगाउन सकिन्छ । तत्कालका खेतीमा सागजन्य हुन् भने दीर्घकालीनमा अरु खाद्यान्न हुन् । मासुजन्य खाद्यवस्तुमा स्थानीय पञ्छी, खरायो छिटो प्रयोग गर्न सकिनेमा पर्दछन् । राज्यले ती उत्पादन गर्न प्रोत्साहित गर्ने र बिउसमेत अन्य चाहिने वस्तुको ब्यवस्था गर्न आवश्यक छ । नागरिकलाई सचेतना पनि आवश्यक छ । मल र पानीको तथा नजिकको जग्गाको सदुपयोग गर्ने र परिवारका सदस्यबाटै हुन सक्ने खेती गर्ने वातावरण हुन पर्दछ । मल तथा किटनासकको रूपमा मानिसकै पिसाबलाई तुरुन्तै प्रयोग गर्न सकिन्छ । पिसाबमा ४ गुना पानी थपेर प्रयोग गर्दा त्यो राम्रो मल हुने र खेती नमर्ने प्रमाणित नै भएको छ ।

जिरो टिल्ट (नजोती खेती गर्ने) को अवधारणाले पनि राम्रो काम गरेको छ । त्यसैले नजोतेर पनि खेती लगाउन सकिन्छ । गोरु ट्रेक्टर आदि नभएर पनि पहिला घाँस सफा गरेर लठ्ठीले जमिन घोचेर बिउ राखेर खेती गर्न सकिन्छ । यसमा प्रायः फर्सी, मकै गहुँ आदि प्रकारका खेतीहरू गर्न सकिन्छ । यस सबन्धमा सामान्य कृषि पढेकाले पनि जानकारी दिन सक्दछन् । क्रमशः परिवारलाई एक युनिट मानेर वरपरसम्म हेरेर छिमेकीको समेत परिवारका रोगजन्य परिणामको आधारमा एउटा टोललाई एउटा युनिट अर्थात् निकाय मान्न सकिन्छ । एउटा टोल एक निकाय भएपछि खेतिजन्य काम गर्न धेरै सजिलो हुन्छ । खेती र खानाको ब्यवस्था पनि सहकारी किसिमले नै गर्न सकिन्छ । इज्रायल जस्ता देशमा केही ठाउँमा अहिले पनि सामुहिक खेती प्रणाली र बसोबास छ । हिन्दुधर्ममा त मठ–मन्दिरहरूमा समेत सामुहिकताको अवधारणा छँदैछ । यो जटिल अवस्थामा जतिसुकै सुधार भए पनि वडालाई मात्र सुरक्षित र एक इकाई मान्न उपयुक्त हुन्छ । जोडिएका वडाहरूले पनि त्यस्तै गरेर जिल्ला नै पनि सुरक्षित इकाई बन्न सक्ला तर जाँचको निरन्तरताको लागि वडा र अझ टोललाई नै प्रमुख इकाई कायम गर्न आवश्यक छ ।

खाद्यान्न र नुन नै हामीहरूका आधारभुत आवश्यकता हुन् । हामीसँग कमसेकम २ वर्षलाई पुग्ने कपडा हुन्छन् नै । बच्चालाई धुलो धुवाँमा नराख्ने, चिसोबाट टाढा राख्ने, सफा पानी खुवाउने, सबै प्रकारका सरसफाइमा ध्यान दिने र सबैले पानी उचित रूपमा प्रयोग गर्ने तर कम प्रयोग भने नगर्ने कार्यले धेरै रोगहरूलाई टाढा नै राख्ने छ । विपी कोइरालाले नेपालमा रोगलाई कसरी कम गर्न सकिन्छ भनेर विकसित राष्ट्रका डाक्टर तथा विज्ञहरूसँग सोध्दा सफा र प्रशस्त पानी खानु पर्ने बताएको उनले भनेका थिए । त्यसो भए ९० प्रतिसत रोग नलाग्ने वा केही निको हुने उनको भनाई थियो । वातावरण प्रदुषणले गर्दा केही फरक भए पनि धेरै हदसम्म त्यो भनाई अहिले पनि लागु हुन्छ ।

हामी सजग र सचेत होऔँ । बाँचेमा र बाँच्नको लागि खाद्यान्नको उचित प्रबन्ध भएमा अरु सबै कुरा पछि ब्यवस्थित हुने छन् । अहिले काम नपरी बाटोमा बरालिएर वा जथाभावी भेटघाट गर्दै हिँडेर ठूलो मानिस भइँदैन भन्ने पनि ध्यान दिन आवश्यक भइसकेको छ । तर यो भाइरसको पनि फैलने अवधि निश्चित हुने र हामीलाई प्रष्टै जानकारी नभए पनि सामान्यतः १ वर्ष भन्दा बढि त्यो समय नहुने र त्यसको बढ्ने र कम हुने समय पनि हुने हुँदा हामी बढी नडराउनु नै उपयुक्त हुन्छ । किनभने अब यसको प्रभाव यसै पनि कम हुने अवधि सुरु हुँदैछ ।

अन्त्यमा, खाद्यान्न लिन जानैपर्छ तर कसरी सुरक्षित हुने त ? यो अहम् सवाल हो । खाद्यान्न समेत लिन जाँदा बाक्लो मास्क लगाउने, यसले गर्दा कसैको मुखबाट निस्केको पानीका स–साना कण हामीतिर आउँदा मस्कमा नै रोकिन्छ र पानीबाट सर्न पाउँदैन । तीन फिट ढाटाबाट काम गर्दा यसै पनि रोग सर्ने सम्भावना हुँदैन । पन्जा लगाएर मात्र सामान लिने, सकिन्छ भने सेनिटाइजर लगाएर मात्र बाहिर निस्कने हो भने हातमा आएका भाइरस निस्क्रिय हुन्छन् ।

हातले अन्यत्र नछुने र सामान घरमा ल्याएपछि सकेसम्म नबिग्रने अवधिसम्म घाममा राख्ने र घरमा आउनासाथ पुनः सेनिटाइजर लगाएर हरियो तरकारी केलाउने र छोपेर पकाउने, दुध पनि सोनिटाइजर लगाएर नै खोलेर तताउने गर्नु पर्दछ । प्लास्टिकजन्य वस्तुहरू टाढै राख्नु पर्दछ । त्यसपछि नबिग्रने वस्तुहरू तीन दिनपछि प्रयोग गरे हुने देखिन्छ । सामान ल्याउने तथा दुध र हरियो तरकारी पाकाउने काम गरेपछि पन्जा खोल्ने, हात साबुनले धुने, लगाएका कपडा समेत पुनः सेनिटाइजर लगाएर खोल्ने र बाहिर घाममा ५ घण्टा भन्दा बढि सुकाउने गरेमा संक्रमणबाट लगभग पूरा बच्न सकिन्छ । सकेसम्म नबिग्रने वस्तु एकैचोटि किन्ने गरेमा बारम्बार बाहिर निस्कन पर्दैन । खाने वस्तु सदुपयोग गर्ने र बचाउने पनि अर्को महत्वपुर्ण पाटो हो । मेरो परिवारल ते यसै गरिरहेको छ, यही अनुभव पस्किएको हुँ । अस्तु ।