एक महान् आमाको महाप्रस्थान !

एक महान् आमाको महाप्रस्थान !


‘विश्वदेवी आमा त्यस्तै हुनुहुन्थ्यो-
जस्तो छ धौलागिरीको उबडखावड
लगभग उस्तै-उस्तै
नाकको टुप्पोमा करुणाको हिमाल
आँखाभरि
गोधुलीको झुल्कोमा गाज दह
हिमालको धर्सो आमाको सिउँदो
खुम्चिएको ट्यार्लुङ्ग झैँ गाला
देश, सन्तान र प्रेमीको आस्था
काँधामा बोक्ने अदम्य हिम्मत
दुश्मनको लागि गोली
बाका लागि हिम्मत
र, आमाले दिएको मेरो स्वास…!’

मैले देखे, भोगे र सुनेअनुसार पनि विश्वदेवी आमा खासमा यस्तै-यस्तै हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसका वयोवृद्ध नेता, पूर्वसांसद गोविन्द कँडेल अर्थात् गोविन्द बा, देहलाई हथेलीमा राखेर न्याय र समानताको लागि सर्पझैँ जीवनभर हिँडी रहे । इन्क्लावको लागि चल्मलाइरहे, कहिल्यै थाकेनन् । अहिलेबाट हैन, सात र पन्ध्र सालबाटै आस्थामा निदाउने र हिमाल ब्युँझाउने ताकत भएका देशभक्त हुन् उनी । अहिले उनी पनि छयासी वर्षका भइसके । हाम्री आमा, अर्थात् उनै नथाक्ने नेताकी धर्मपत्नी विश्वदेवी । सबैले भन्छन्- ‘पावेलकी आमा जस्तै उनी कांग्रेसकी अमर आमा हुन् !’

जो पञ्चायती यातनामा बाँचेका थिए हो ती पुराना कार्यकर्ताहरू भन्छन्, ‘विश्वदेवी नवीन, शेखर र राधिकाकी आमा मात्र हैनन्, पार्टीकी आमा हुन् । उनिजस्तै आमाहरूको करुणाले पार्टीका कार्यकर्ताहरू अझै पार्टीको लागि ज्युज्यान दिन तयार छन् ।’

आज तिनै धौलागिरिको छायामा रहेर प्रजातन्त्रको स्तुति गर्ने, बिपीलाई आदर्श मानेर आफ्नो श्रीमान्लाई हौसलाको शिखर चढाउँदै संघर्षमा सदैव प्रेरणा प्रदान गर्ने आमाको स्वर्गारोहण भएको छ । संकटमा सदैव आफ्नो लक्ष्यलाई शिरमा राखेर प्रजातन्त्र र समाजवादको लागि समर्पित एक राजनैतिक तपस्वी गोविन्द कँडेल, धौलागिरीको शिरझैँ सबैखाले निरंकुशताको विरुद्ध संघर्षको ताज आकाशमा पुऱ्याउने समाजवादका एक ज्युँदा धरोहर गोविन्द कँडेल, २०४८ सालमा निरंकुशताको अन्त्य हुँदा देश र जनताको अभिमतले देशलाई आदर्शको गरिमा पढाउन सफल जननेता, नेपाली काङ्ग्रेसलाई अनुशासन र आदर्शमा हिँडाउन जीवन अर्पेका देशकै एक होनहार प्रतिबिम्ब गोविन्द कँडेलको सहयोद्धा धर्मपत्नी विश्वदेवी कँडेलको यही २९ अप्रिलमा भएको निधनले बिहुँ वा बाग्लुङमात्र नभएर देश नै स्तब्ध छ ।

इतिहास दोहोरिँदैन तर लेखिन्छ र सदैव स्मरण गरिन्छ । पञ्चायत कालमा जब देशभर प्रजातन्त्रवादीहरूमाथि धरपकड भयो, त्यो बेला सबै स्वतन्त्रताप्रेमी देशभक्तहरू पक्राउ पर्न थाले । प्रजातन्त्रको आन्दोलनमा होमिएकाहरू शाहीतन्त्रको कालकोठरीमा नारकीय यातना भोग्न बाध्य भए । त्यो बेला धौलागिरीका प्रजातन्त्र सेनानी गोविन्द कँडेल, तिलक सापकोटालगायत धेरै योद्धाहरू जेलमा कोचिए । त्यो कठिन दमनको अवस्थामा गाउँका आफ्ना कार्यकर्ताहरूलाई हत्यारा तानाशाहहरूबाट बचाउने, राजबन्दीहरूलाई खाना तथा आर्थिक सहयोग पुऱ्याउने र पार्टीका सर्कुलरहरू गोप्य रूपले कार्यकर्ताहरूसम्म पुऱ्याउने यिनै विश्वदेवीहरू थिए । गाउँमा पार्टी तथा आन्दोलन बचाउने यी आमाहरू वास्तवमा पार्टी र देशकै आमाहरू हुन् । यिनै महान् आमामध्येकी एक आमाको भर्खर निधन भएको छ ।

चाहेर पनि भुल्न नसकिने आमाहरू, गीत गाएर पनि लयमा गाल्न नसकिने आमाहरू, निरंकुशताको प्रलयमा साथ दिने धर्तीका छोरीहरू र कठिन समयमा पनि पार्टी तथा देशको लागि ज्यान अर्पण गर्न सक्ने नेपालआमाका छोरीहरूमध्येकी एक महान् छोरी हुनुहुन्थ्यो स्वर्गीय विश्वदेवी कँडेल ।

वर्तमान राष्ट्राध्यक्ष रामचन्द्र पौडेलका सहयोद्धा गोविन्द कँडेल अहिले पत्नीशोकले विक्षिप्त हुनुहुन्छ । मातृशोकले समस्त सन्तान र सिङ्गो भूमी स्तब्ध छ ।

भनिन्छ, ‘आमा दुविधारहित अकाट्य सत्य हुन् । बाउचाहिँ सामाजिक, प्राविधिक वा विश्वासका सत्य हुन् । आमा अन्तरंग सत्य हुन् । आमाको शरीरभित्रको रगत विकसित भएर हाम्रो शरीर बन्छ । आमाको दूधबाट हामीमा प्राण सञ्चार हुन्छ । जगतसँग सम्पर्क गर्ने भाषा सर्वप्रथम आमाबाटै सिकिन्छ । मानिसको मनोभावना र व्यक्तित्वको प्रारूप आमाको काखदेखि नै निर्माण हुन्छ । सृष्टिको मूल स्रोत भनेकै आमा हुन् ।’

त्यसैले सन्तानको विक्षिप्तता, आमा नहुनुको पीडा सर्वथा भयङ्कर हुन्छ । त्यस्तै, देशका आमाहरूले छोडेर जाँदा बन्धुबान्धवमात्र नभएर सिङ्गो देशले मातृत्व गुमाएकोमा दुःख ब्यक्त गर्छ । भनिन्छ, आमाको शोकले प्रकृति पनि मलिन हुन्छ ।

भूमिगत कालमा ती आमा जसले बनाएको खानाले बिपी, किशुनजी, गणेशमान, तिलक सापकोटा, मणिभद्र कँडेल, कुलराज शर्मादेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई समेत ताकत दियो, उहाँको बात्सल्यले सिङ्गो धौलागिरिका कार्यकर्तामात्र नभएर सम्पूर्ण पार्टीपङ्क्ति उर्जावान छ । आज ती आमाको महाप्रस्थान भएको छ ।

आफूलाई चित्त नबुझेका कुरामा आमा चर्को स्वरमा बोलेको, आमाले आफ्ना इच्छा प्रकट गरेको वा कुनै कुरामा गुनासो गरेको न सन्तानले सुने न त श्रीमानले नै । त्यसैले ‘विश्वदेवी आमा सधैँ धैर्य, सहनशीलता र बात्सल्याकी खानी हुनुहुन्थ्यो’ भन्छन् उहाँका छोराछोरीहरू ।

पञ्चायतकालमा, स-साना छोराछोरीलाई हुर्काउनु, पढाउनु, गोठाली गर्नु र श्रीमान्लाई अनिष्टबाट बचाउन हमेसा चनाखो रहनु विश्वदेवीको जैविक कर्म बन्यो । सँधै कसैले मार्छ कि वा श्रीमान्लाई पुलिसले समात्छ कि भन्ने डरलका कारण सुत्नु कहाँ.., आनन्दसँग खानु कहिले.., सूचना खोज, पठाउ र देश-विदेश पार्टी काममा हिँडिरहने श्रीमान्लाई बाटोखर्चको जोहो गर, कर्म यस्तै-यस्तै रह्यो । कठिन संघर्षको बेलामा पनि विश्वदेवी आमाको बाप्रति कहिल्यै हुनासो रहेन भन्नुहुन्थ्यो गोविन्द बा ।

वास्तवमा छिप्पिएकै भएपनि सन्तान आमाकै स्नेहले पुलकित भइरहन्छन् । सन्तानका लागि आमा सर्वथा परम् आदरणीय हुन्छिन् भने सन्तान आमाका लागि वात्सल्य खन्याउने पोखरी जस्ता सदाबहार बालक । सतासी वर्षमा परमधाम हुनुभएकी विश्वदेवी आमाका देशमा थरिथरिका सन्तान थिए, छन् र सम्झिरहेका छन् । सामिप्यताको आधारमा मुलुकबासीले पार्टीकी आमा विश्वदेवीलाई अहिले सम्झँदै छन्, उहाँका कृत्यहरूको प्रशंसा गर्दै बिदाइमा हात हल्लाइरहेका छन् ।

अन्तमा, समस्त शोकाकुलजनमा समवेदनासहित पङ्क्तिकार पनि सपरिवार स्वर्गीय आमा विश्वदेवीलाई हृदयमा राखेर श्रद्धान्जली अर्पण गर्दछ । श्रद्धाञ्जली आमा !!