■ लक्ष्मणप्रसाद खतिवडा
हामी कृषिमा सबल नभइकन उन्नति सम्भव छैन । कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको र ६०.४ पप्रतिशत जनसंख्या आबद्ध भएको कृषि क्षेत्र आर्थिक समृद्धि हासिल गर्ने मूल आधार नै हो । तर पनि हामीसँग आधुनिक कृषिसम्बन्धी ज्ञान, सीप र प्रविधिको अभाव नै रहेको छ । जमिन एकीकरण गरी व्यवसायिक खेती, पशुपंक्षी पालन र जडिबुटी खेती गर्न सकिएको छैन । यहाँ कुल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन भएपनि बाह्रै महिना सिंचाई सुविधा पुर्याउन सकिएको छैन । जसले गर्दा हामी अहिलेसम्म मौसमी खेतिमा नै भर पर्नुपरेको छ ।
नेपालले आर्थिक वर्ष ०७३/७४ मा कृषि विकास रणनीति कार्यान्वयमा ल्याई सन् २०३५ सम्ममा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य लिए तापनि वर्षभरी खेतबारीमा काम गर्ने कृषकहरूले उचित प्रतिफल पाउन सकेका छैनन् । एकातिर किसानहरूको उत्पादन त्यसै सडेर गएको छ भने अर्कोतिर विदेशबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था सृजना भएको छ । हामी वर्षको खर्बौ रुपैया खाद्यान्न आयातमा खर्च गरिरहेका छौँ । अहिले भएको लकडाउनमा पनि सबैभन्दा बढी माग कृषि उत्पादनको नै छ । कृषि उत्पादनविना हाम्रो भान्छा नै चल्दैन । तर पनि हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौँ ।
नेपालको हावापानीमा सबै प्रकारका अन्नबाली, तरकारी र फलफूल उत्पादन हुन्छ । यहाँका पहाडी तथा हिमाली भूभागमा कृषिजन्य उत्पादनककका साथै पशुपालन, फलफूल, जडीबुटी, तरकारी उत्पादन गर्न सकिन्छ । यसलाई बढावा दिने हो भने नेपाललाई कृषि निर्यातमा संसारकै सफल मुलुक बनाउन सकिन्छ । यसका साथै चिराइतो, जटामसी, यार्सागुम्बा, पाँचऔंले जस्ता जडिबुटीहरू उत्पादन गरी संसारभरी पुर्याउन सकिन्छ । यसको लागि एक्ला एक्लै खेति गरेर सम्भव छैन । त्यसैले राज्यले सामुहिक खेतिको अवधारणा बनाई सोहीअनुसार अगाडि बढ्न जरुरी छ । यसो गर्न सकेमा हामी कृषिजन्य उत्पादनमा आत्मनिर्भर भइ निर्यात पनि गर्न सक्छौँ ।
भारत, बंगलादेश, वर्मा, इन्डोनेसिया, पोल्याण्ड, नर्वे आदि देश कृषिमै आधारित छन् । हाम्रो अर्थतन्त्र पनि कृषिमा आधारित भएकोले यसको वैज्ञानिक ढङ्गले सुधार गर्न जरुरी छ । खेतीपाती गरियो भन्दैमा त्यसमा आधुनिकता र वैज्ञानिक प्रविधि अपनाइएन भने उत्पादन राम्रो हुन सक्दैन । युवा वर्गलाई आकर्षित गर्न सकिदैन । यसको साथै आधुनिक औजार, उन्नत बिउ बिजनको प्रयोग पनि हुनुपर्दछ । तरकारी तथा फलफूलको सङकलन केन्द्र खोलेर संकलित खाद्यान्नको बजारीकरण गर्नुपर्दछ । कृषकबाट उत्पादिन तरकारी उपभोक्तासम्म पुऱ्याइनुपर्दछ । यसको लागि खाद्य बस्तुहरूको बिक्री-वितरणमा राज्यले सहजीकरण गर्नै पर्दछ । जमिनको तिब्र खण्डीकरण रोकी बिजुली, सिँचाई, गोदाम घर, सडक, कृषि बजार, संकलन केन्द्र, शीत भण्डार, चिस्यान केन्द्र, आदिकको सहज व्यवस्था गरी कृषिको उत्पादकत्व बढाउनु पर्दछ । यसको साथै कृषिमा आधारित उद्योगको विकास गरी रोजगारी र आम्दानी बृद्धि गर्न जरुरी छ ।
कोरोना महामारीपश्चात् उत्पन्न हुने भोकमरी तथा बेरोजगारी समस्याबाट आफ्ना जनतालाई बचाउन समेत कृषि उत्पादनलाई महत्व दिनुपर्छ । कृषिमा युवालाई आकर्षित गर्न कृषिलाई यान्त्रिकीकरण गरी उत्पादित वस्तु बिक्रीको ग्यारेन्टी राज्यले लिनुपर्दछ । यसका साथै प्रत्येक वडामा कृषिसम्बन्धी लघु उद्योग सञ्चालनमा ल्याई कृषि क्षेत्रलाई सम्मानित बनाउन सबै क्षेत्र लाग्नु जरुरी छ ।
हुन त नेपाल सरकारले कृषि पेशालाई व्यवसायिकतातर्फ उन्मुख गराउन पहल नगरेको होइन । कृषि अनुदान, बाली तथा पशुपंक्षी बीमा, घरदैलोमा प्राविधिक सेवा दिएको छ । तर पनि कृषि उत्पादनमा वृद्धिको साथसाथै बजारीकरण अनि उपयोगमा विविधिकरण हुन सकेको छैन । अब कोरोना महामारीपश्चात् उत्पन्न हुने भोकमरी तथा बेरोजगारी समस्याबाट आफ्ना जनतालाई बचाउन समेत कृषि उत्पादनलाई महत्व दिनुपर्छ । कृषिमा युवालाई आकर्षित गर्न कृषिलाई यान्त्रिकीकरण गरी उत्पादित वस्तु बिक्रीको ग्यारेन्टी राज्यले लिनुपर्दछ । यसका साथै प्रत्येक वडामा कृषिसम्बन्धी लघु उद्योग सञ्चालनमा ल्याई कृषि क्षेत्रलाई सम्मानित बनाउन सबै क्षेत्र लाग्नु जरुरी छ ।
कस्तुरीले आफ्नै नाभीको बास्ना नचिनेझैँ प्रकृतिले अनुपम उपहार दिए पनि हामीले नचिनेर विदेशमा लाहुरे हुन जानु परेको छ । मलेसिया, अरब, दुबइ जस्ता मुलुकहरूमा प्रचण्ड गर्मीमा पसिना बगाउनु परेको छ । अबअब जसरी भएपनि विदेश जानुपर्छ वा जागिर खानुपर्छ भन्ने धारणालाई परिवर्तन गरी उपेक्षा गरिँदै आएको कृषिलाई एक सम्मानित पेशा बनाउनुपर्दछ । कृषिलाई व्यवसायीकरण गरी भारतलगायतका देशबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्दछ । सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । आधुनिक कृषि औजारको प्रयोग गरी कृषिकर्मलाई सजिलो बनाउनुपर्दछ । कृषकहरूलाई कृषि शिक्षाको साथै सिँचाईको व्यवस्था गर्नुपर्दछ । कृषिजन्य उद्योग हरेक स्थानीय तहमा खोल्नुपर्दछ । स्थानीय स्तरमा उत्पादन हुने बस्तु उत्पादनमा प्रोत्साहन गर्नुका साथै कम श्रम प्रयोग तथा प्रविधि र औजारहरूको प्रयोग गरी उत्पादन हुने बस्तुको उत्पादनमा जोड दिनुपर्दछ ।
हामी गाई, भैंसी, कुखुरा, भेडा, बाख्रा आदि पालन गरी आत्मनिर्भर बन्न सक्छौँ । गाउँपालिकामा गुणस्तरीय शिक्षा र सुविधा सम्पन्न स्वास्थ्य केन्द्रको व्यवस्था गर्ने हो भने जो कोही पनि गाउँ छाडेर शहर तथा विदेश जाँदैनन् । यसको साथै आफ्नो देशको लागि आवश्यक पर्ने कृषि औजारको कारखाना, जडीबुटीजन्य औषधि उत्पादन लगायतका उद्योग खोलल्न सकेमा नेपाली युवालाई रोजगारी पनि दिन सकिन्छ ।
हामीकहाँ धान, मकै, कोदो, आलु, फापर, गहुँ, तोरी आदि उत्पादन हुन्छन् । तर यसलाई सामुहिक खेती प्रणालीमा विकास गर्न जरुरी छ । कृषिमा क्रान्ति भनेकै सामुहिक खेती प्रणालीबाट नै सम्भव हुने हो । यसको लागि एक्लै होइन मिलेर खेती गर्नुपर्दछ । जसले आर्थिक उपार्जनका साथै रोजगारी समेत सिर्जना गर्दछ । हामीसँग खेती गर्न पर्याप्त जमिन छ । प्रविधिको प्रयोगले युवापुस्तालाई कृषिमा आकर्षण गर्न सकिन्छ । कृषि क्रान्ति भनेको परम्परागत निर्वाहमुखी कृषि भन्दा नयाँ प्रविधिमा आधारित कृषि प्रणाली हो ।
प्रतिक्रिया