नेपाली भूमि अतिक्रणविरुद्ध तत्काल कदम चाल्न नेकपा प्रवक्ताको आग्रह

नेपाली भूमि अतिक्रणविरुद्ध तत्काल कदम चाल्न नेकपा प्रवक्ताको आग्रह


लिपुलेकको विवाद कायम रहेकै अवस्थामा भारतले नेपाललाई जानकारी नदिई नेपाली भूमिहुँदै तिब्बत सीमासम्म जोड्ने सडक निर्माण गरेको सन्दर्भ यतिबेला चर्चामा छ । एकाएक प्रकाशमा आएको यस मामलामा सरकारका तर्फबाट ‘स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको’ भन्ने बाहेक हालसम्म आधिकारिक धारणा सार्वजनिक नगरिए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भनाई सार्वजनिक गरेका छन् । नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने उनको धारणा छ ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रमा सडक बनाएकामा आपत्ति प्रकट गर्दै सो माग गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आज ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘नेपाली भूमिमा सडक बनाई शुक्रबार उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्सर्ना गर्दछु ।’

प्रवक्ता श्रेष्ठले हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने धारणा राखेका हुन् ।

भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका छन् ।

नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ । यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्र्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो ।

(भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । यसबारे नेपाल सरकारले आफ्नो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।)
pict: rss