वातावरण र जीवनको सह-सम्बन्धलाई खेलाँची नसम्झौँ

वातावरण र जीवनको सह-सम्बन्धलाई खेलाँची नसम्झौँ


■ रमेश भट्टराई ‘सहृदयी’

एउटा ‘संस्कारे रोग’ छ– बर्खा लाग्छ, अनि विकास र बजेटका गफ चर्किन्छन्, हिउँदतिर वर्षात् कम भएपछि फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रणका कुरा उठ्छन् ।

यसअघि नै सरकारले वातावरणीय संरक्षणको कडा नीतिलाई अगाडि सार्दै २० वर्ष पुराना यातायातका साधनलाई विस्थापन गर्ने, प्लास्टिकको झोला उत्पादनका कडाइ गरिने जस्ता सुन्दर योजनालाई अघि सारेका थिए । हरित शहरका कुरा थिए । केही बिजुली बस त किनिए तर प्रभावकारी रूपमा राजधानीले विगतमा लक्ष्यमा हातेमालो गर्नै सकेन । राजधानीमा ८९.५ प्रतिशत वायु प्रदूषण डिजेलबाट चल्ने गाडीका कारण हुने विगतका तथ्यमा कति परिवर्तन भए ? सगरमाथामा फोहोरको डङ्गुरले व्यवस्थापनको अपेक्षा गरेका विषय, वातावरणीय प्रदूषणले दिनानुदिन भयावह बनिरहेको तीतो यथार्थमा मान्छेले प्रकृतिको मूल्यलाई जानेर पनि उपहास गरिरहेको भान हुन्छ । आज विश्व परिवेश जलवायु परिवर्तनको चक्रव्युहमा फस्दै गर्दा अनेकौँ महामारीले त्रसित, पीडित अनि भयग्रस्त बनिरहँदा हामीले बोध गरौँ– प्रकृतिभन्दा मानव कमजोर हुन्छ ।

सहरीकरणको दीर्घकालीन सोच नहुँदा राजधानीले भोगेको दुरावस्था आज चुनौतीको पहाड बनेकै छ । विश्वमा करिब ७० लाखले वर्षेनि वायुप्रदूषणको सिकार बन्नुपर्छ । नेपालमा प्रतिलाख १ सय ३३ जना वायु प्रदूषणकै कारणले मृत्यु वरण गर्ने गरेको तथ्याङ्क रहेको देखिन्छ ।

वैज्ञानिक बस्ती तथा ढल व्यवस्थापनको साटो सहर भद्रगोल छ । हरेक गल्ली अनि लगभग हरेक खुला सडक दुर्गन्धित र सौन्दर्यहीन लाग्छन् । स्वच्छ प्रकृतिको सिरानीमा सुन्दर स्वस्थ जीवनरथ हाँक्न चाहने मानिसले रोगको कारणलाई आफैंले जन्माउँछ, प्रकृति स्वच्छतामा स्वार्थको ओढनी ओढाएर प्राणी अस्तित्व सङ्कटको चक्रव्युह आफैंले रच्दो रहेछ । मन्दिरमा स्वच्छ भई पूजाअर्चना गर्ने तर प्रसादका टपरी, फलोपूmलो या प्लास्टिकजन्य फोहोर छेउमा मिल्काउने संस्कारबाट हामी कहाँ उम्केका छौँ र !

आज हिमाली क्षेत्रमा समेत लामखुट्टे लाग्न थालेका घटनालाई मनन गर्नुपर्ने देखिन्छ । न त खुला दिसामुक्त क्षेत्रमा मानवीय स्वभावको प्रस्तुति झल्किन्छ । सिसा, टिनजन्य प्रकृतिका अपाच्य पदार्थलाई बिना हिचकिचाहट मिल्काउने आधुनिक आडम्बरमा गमक्क पर्ने मानिसले आफूलाई प्रकृति विध्वंसक हुँ भन्न त कहाँ रुचाउँछ र !

गाउँका स्वच्छ पाखा–पखेरीमा थोत्रा, पुराना जुत्ताचप्पल, प्लास्टिकले अलिअलि विस्तारवादी नीति लिएर दौडिँदै गर्दा पाटी, वनभोज या शुभ–अशुभ कार्यहरूमा सर्वश्रेष्ठ प्राणी मानिसले प्रकृतिका गर्भमा फोहोरपदार्थ फाल्नुलाई मन सानो पार्दैन । आज हिमाली क्षेत्रमा समेत लामखुट्टे लाग्न थालेका घटनालाई मनन गर्नुपर्ने देखिन्छ । न त खुला दिसामुक्त क्षेत्रमा मानवीय स्वभावको प्रस्तुति झल्किन्छ । सिसा, टिनजन्य प्रकृतिका अपाच्य पदार्थलाई बिना हिचकिचाहट मिल्काउने आधुनिक आडम्बरमा गमक्क पर्ने मानिसले आफूलाई प्रकृति विध्वंसक हुँ भन्न त कहाँ रुचाउँछ र !

हाम्रो सनातन संस्कारले सिकाएको वृक्षारोपण, प्रकृतिसंरक्षण तथा प्रकृतिपूजादेखि आजका पढाइने विषयमा राखिएका विषय भाषण, पढाइ र भावनामा अल्झिरहेकै छन् । विकास र परिवर्तनका नाममा कृत्रिमताको ढोल मात्र पिटेमा पुस्तौँपुस्ताले प्रकृतिको सजाय भोग्नुपर्ने कुरामा बोधगम्य हुनु अपरिहार्य ठहर्छ । वर्तमान सन्दर्भमा वायु, भूमि, ध्वनि र जलप्रदूषणको मुस्लोले मुलुकका लाखौँ मानव शरीरका अङ्गप्रत्यङ्ग मक्काउँदै छ । सिङ्गो देश, कुना–कन्दरा आज विछिप्त बन्दै छन् । संसारको दौलतले किन्न नसकिने मानव-जीवनलाई स्वच्छ वातावरणको आवश्यकता छ भन्ने जान्दाजान्दै सौता भित्र्याएर अनादिकालदेखि मानिसले प्रकृतिका हक र अधिकारमा अत्याचार गर्न छोडेको छैन ।

हामी किन सचेत छैनौँ ?

समुद्रको ह्वेलको पेटमा प्लाटिकको ठूलो हिस्सा भेटिँदा मान्छे त्यति धेरै दुःखै मान्दैन । आज सिङ्गो पृथ्वी ‘प्लास्टिकको ग्रह’का नामले चिनिन थालेको छ तर भय छैन त ! वातावरण कुनै एक पुस्ताले उपभोग गरेर तिरस्कार गर्ने क्षणिक उपभोग्यवस्तु होइन रहेछ । प्रदूषण, जलवायु परिवर्तनजस्ता समस्याले तमाम पृथ्वीबासी सजीव प्राणीको अस्तित्वमा प्रहार गरिरहेको छ । आज समुद्री सतह माथि उठ्दै गएको विश्वव्यापी समस्या र तथ्यप्रति विश्व समुदायले सचेत बन्नुपर्ने बेला आएको छ । जलवायु परिवर्तनको असरमा विश्वकै सङ्कटापन्न मुलुकमध्येमा पर्दै गर्दा कतै खडेरीले बाली लगाउन नसकेका पीडा त कतै बाढी पहिरोको भय हरेक वर्ष छ । धाँजाधाँजा भएर फुटेको जमिनले सुकेको धानको बिउलाई हुर्काउने सामथ्र्य गुमाइसकेका दृश्य कति हृदयविदारक होलान् । आज मानवीय सुविधाका लागि विकसित वैज्ञानिक सामग्रीको उचित उपयोग तथा फोहोरजन्य सामग्रीको व्यवस्थापनमा दर्बिलो तौरतरिका नहुँदा कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडजस्ता ग्यासको मात्रा बढ्न थालेको छ । कतै दाना नलागेका मकै उब्जेका घटना कतै बिउ नउम्रिएका पीडा सुनिन थालिएका छन् ।

हाम्रोजस्तो विकासोन्मुख मुलुकमा समेत् खाद्यचक्रको असन्तुलन हुनु, तापक्रमको बृद्धि हुनु, हिउँ पग्लिरहनु अर्थात् दैनिक जीवनका लागि अपरिहार्य पारिस्थितिक पद्धति खल्बलिनुले चुनौती बढ्दो छ । आरोग्य र स्वस्थताको चिप्लो भाषण छाँट्ने तर हरिया पहाडलाई सुकेनास लगाएर वन्यजन्तुलाई सुकुम्बासी बनाउँदै पक्षीलाई शरणार्थी बनाउने मानिसको दुष्चरित्रमा सुधारको शङ्ख ध्वनि बजेमा मात्र प्राणी अस्तित्वरक्षाको बाटो सोझिने आशा बढ्छ । यसर्थ करिब ६० प्रतिशत कार्बनडाइअक्साइडलाई सोस्ने तथ्यमा ‘हरियो वन नेपालको धन’ उखानले व्यावहारिकता पाउनु आवश्यक छ ।

फोहोरका टोकरीले कुना कन्दरामा भिक्षादान माग्न थालून्, दीर्घकालीन वैज्ञानिक बस्ती व्यवस्थापनको नीतिले जिउन पाओस्, अब । कुहिने र नकुहिने फोहोरबाट रुपैँया फल्दै गर्दा ‘फोहोरबाट मोहर’ भन्ने भावसँगै किसानले प्राङ्गारिक मललाई कोठेबारीमा घोप्ट्याओस् । कोही फोहोरबाटै बिजुली उत्पादनमा जुटून्, वैज्ञानिक र दीर्घकालीन प्रदूषण नियन्त्रण र रोजगारको दुई हातका लड्डु फलोस् ।

दीर्घकालीन समस्यालाई ध्यानमा राखेर हरेक बस्ती व्यवस्थापन गर्ने चुनौतीसँग जागरणको प्रवाह होस् । कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गरी कुहिने फोहोरबाट प्राङ्गारिक मल तयार पारेर कृषकले करेसाबारीमा रमाउन पाऊन् । फोहोरबाट बिजुली उत्पादन गर्ने विषयमा गाँसिएको रोजगार तथा प्रदूषण सुव्यवस्थापनको दोहोरो फाइदासँग वैज्ञानिक र दीर्घकालीन योजना कार्यान्वयन् होऊन् । नकुहिने कतिपय पुनः प्रयोग गर्न सकिने, प्रशोधन गर्न सकिने तथा नवीकरणद्वारा प्रयोगमा ल्याउन सकिने सामग्रीको सूची तयार पारेर प्रदूषण व्यवस्थापनका साथमा आय आर्जन र रोजगारको दोहोरो फाइदा लिन सकिने सम्भावनाहरू छन् । गाडीभित्रबाट फोहोर फ्याँक्ने, पराग खाएर फ्याँक्नेजस्ताले सजायको कठघारामा उभिनुपर्ने हो । सरकारले हालै मात्र वातावरण संरक्षण सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने उद्देश्यले बनाएको प्रतिवेदनमा वातावरण प्रदूषण गरेमा रु. ५० लाखसम्मको जरिवाना तिर्नुपर्ने विधेयक जारी गरेको छ । यस्तै प्रदूषण प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गराउनुपर्ने प्रस्तावको हकमा त्यस्तो प्रतिवेदन स्वीकृत नगराई विपरीत हुने गरी प्रस्ताव कार्यान्वयन गरेमा ५० लाख जरिवाना तिर्नुपर्ने विधेयक बनेका समाचार छन् ।

फेरि उही दुःखका साथ भन्नुपर्छ– गाडीहरूमा फोहोरका टोकरीले स्थान पाउने नियम कागजमै अड्केका छन् । एउटा स्वस्थ व्यक्तिलाई ६ वटा रूखले दिने अक्सिजनको आवश्यकता पर्छ । वातावरणीय संरक्षणको गम्भिर पक्षसँग पर्यटकीय गन्तव्यले नातो गाँसेको राजधानीको शोभा र सौन्दर्यमा दुर्गन्धित सहरको उपनाम गाँसिइरहेको दुःखेसो छ । प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध गर्ने तर प्लास्टिक उद्योगको विकल्पसँग सरलीकरण हुन नसकेका दृष्टान्तसँग हाम्रा प्रयत्न फितला साबित बनिदिन्छन् । शरीरमा अत्तर छर्केर मुखमा माक्ससम्म लगाउने सभ्यता बनाएका हामीले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो भन्ने विषयमा एकाकार हुन नसकेको सत्यलाई बोध गर्नै सकेका छैनौँ ।

एकपटक सोचौँ !

वाग्मती, विष्णुमती लगायत सडक सरसफाइको एकता कार्यक्रम तथा यदाकदा हुने गरेका राजधानीमा चक्रपथ सफाइ अभियानसँगै घरटोल सफाइ गर्ने, नदी स्वच्छ पार्ने कार्यलाई सह्राहना गर्नैपर्छ । प्रकृति संरक्षणमा वृक्षारोपण, वातावरण तथा वन व्यवस्थापनका हरेक तह तप्काले जाग्ने कार्य ढिलो भइसकेको प्रतित हुँदै छ । अल्पकालीन तथा दीर्घकालीन योजनासँग एकताको नातो गाँसेर पर्यावरणीय स्वच्छताको महायज्ञमा सचेत नागरिक अवश्य होमिन्छ । थोत्रा सवारी साधनलाई बिदाइको सिन्दुर पहराएर वैज्ञानिक यातायातका व्यवस्थापनका योजनासँग राहतको रङ्ग गाँसिन्छ । फोहोरका टोकरीले कुना कन्दरामा भिक्षादान माग्न थालून्, दीर्घकालीन वैज्ञानिक बस्ती व्यवस्थापनको नीतिले जिउन पाओस्, अब । कुहिने र नकुहिने फोहोरबाट रुपैँया फल्दै गर्दा ‘फोहोरबाट मोहर’ भन्ने भावसँगै किसानले प्राङ्गारिक मललाई कोठेबारीमा घोप्ट्याओस् । कोही फोहोरबाटै बिजुली उत्पादनमा जुटून्, वैज्ञानिक र दीर्घकालीन प्रदूषण नियन्त्रण र रोजगारको दुई हातका लड्डु फलोस् । पुनः प्रयोग गर्न सकिने, प्रशोधन गर्न सकिने तथा नवीकरणद्वारा प्रयोगमा ल्याउन सकिने सामग्रीको सूची तयार पारेर प्रदूषण व्यवस्थापनका साथमा आय आर्जन र रोजगारको दोहोरो फाइदाका सम्भावनाहरू तड्पिरहेका छन्– सभ्यता सिक्न लालायित मानवबस्तीहरू । साथमा कानुनको दायराले निःस्वार्थ र दादावादका धब्बाबाट बच्न आम नागरिकको दायित्व जोडिन्छ । धुवाँरहित इलेक्ट्रिक यात्रु बस सञ्चालन गर्नसक्ने सम्भाव्यता बोकेको राजधानीले कमसेकम सडकका छेउमा प्रचारका लागि मात्र नभएर अपरिहार्य स्वच्छताको हरियाली वृक्षरेखामा साइनो जोडोस् ।

कतिपय अपरिचित रोगसँगै नाक, कान, घाँटी, मुटु, नसा, फोक्सोजस्ता अति संवेदनशील अङ्गमा प्रदूषणको प्रत्यक्ष प्रहार हुने चिकित्सकहरूको मतले नेपाल आमाको परेली ओभाउन पाएको छैन । विषादीले सजिसजाउ बासी तरकारीका साथमा दूषित पानीको थप परिकारको फलस्वरुप हस्पिटलका लेखा शाखामा मोटो रकमको कारोबार बढिरहन्छ ।

हामी विदेशका सुन्दर रोड, हरियालीले सजाएका दृश्य हेरेर लोभिन्छौँ । तर राजधानीजस्ता सुविधा, रोजगार, शिक्षा या त अवसरका आशाले आकर्षित हुने विकसित सहरमा बाटोघाटो हेर्दा सास फेर्न गाह्रो, अर्कोतिर महङ्गीको चटारो । अबको संघीय सरकारले यस्ता विषयमा बेलैमा सचेत रहनु आवश्यक छ । व्यवस्थित सहर र प्रदेश राजधानी बनाउने अभियानमा कदम चलाउनतिर ध्यान जानुपर्छ । वर्षात्ले सास फेर्ने बाटो बनाउँदै गए हिलाम्मे हुनै पर्छ, वर्षात् रोकिएको केही घण्टामै उस्तै धुलाम्मे सहरबासीका स्वस्थतामै सङ्कटका लप्काले हिर्काइरहेका छन् । यसै कारण काठमाडौंलाई धुलमाण्डौ, डस्टमाण्डौको उपनाम मिलिरहन्छ । ठूलो बोर्डमा या घरका भित्तामा ‘यहाँ फोहोर फाल्नेलाई रु. ५००० ।– जरिवाना दिलाइनेछ’ भनी लेखिइरहिएको हुन्छ तर कसैको आँखा छलेर वा रात–साँझको मौका छोप्दै दुर्गन्धित बस्तीका सुगन्धित मानिसले फोहोरको पोको झ्यालबाहिर मिल्काइएका तथ्य खोज्न टाढा जानै पर्दैन । विकासले विनास नहोस् भन्ने भावना र प्रतिक्रियाका उद्गारले स्थान ओगटिरहेका छन् । बढ्दो असचेत तथा अव्यवस्थित सहरीकरण र औद्योगीकरण, परम्परागत इँट्टाभट्टा तथा कोइला प्रयोग, पुराना सवारी साधन लगायत धुवाँ प्रदायक कारखनाहरूबाट निर्लज्ज फ्याँकिएका प्रदूषणका डङ्गुरले प्रकृति धमिलिँदो छ ।

दिनानुदिन बालबच्चाका कलिला मुटुले स्वच्छ वायु फोक्सोमा प्रवाहित गर्ने अधिकार निमोठिँदै छन् । वायुप्रदूषणकै कारण लाखौँ मानिसले यमढोका ढक्ढक्याउनु परेको अनि काठमाडौँमा मापदण्डभन्दा पाँचौँ गुणा बढी प्रदूषणले घेरिसकेको प्रतिवेदनलाई विश्व स्वास्थ्य सङ्गठनले बताउँदा नेपाली मन चस्किनुपर्छ । वर्षात्को शुद्धता अभावका अलावा लगभग २०० दिनभन्दा बढी मापदण्ड विपरित वायुले राजधानीमा डेरा जमाएका त्रासद प्रमाण फेला परेका छन्– कारण, राजधानी उपत्यकालाई छोडेर हावाले बाहिरिने बाटै भेट्दैन– विज्ञको मत हो ।

लोभ, विलासिता, मानसिक कल्मषको जालोमा बेरिएको मानिस प्रकृतिलाई नेपथ्यमा छोडेर एक्लै दौडन चाहँदा लाखौँ मानिसले वायुप्रदूषणकै कारण मृत्युवरण गर्नुपरेको तथ्य निस्किन्छ । यसको असर क्यान्सर रोगीले मृत्युकै बाटो रोज्नुपरेको अनि फोक्सोजन्य रोग, टाउको दुख्ने, खोकीजन्य अल्पकालीन तथा दीर्घकालीन रोगले सताउने, खाना रुची नहुने, बान्ता हुने, वाकवाकी लाग्नेजस्ता सरुवा तथा नसर्ने रोगका असर देखिएका र भोग्दै गरिएका तथ्यहरूलाई सञ्चार माध्यमद्वारा सचेतनाका लागि पस्किरहिएकै छन् ।

कतिपय अपरिचित रोगसँगै नाक, कान, घाँटी, मुटु, नसा, फोक्सोजस्ता अति संवेदनशील अङ्गमा प्रदूषणको प्रत्यक्ष प्रहार हुने चिकित्सकहरूको मतले नेपाल आमाको परेली ओभाउन पाएको छैन । विषादीले सजिसजाउ बासी तरकारीका साथमा दूषित पानीको थप परिकारको फलस्वरुप हस्पिटलका लेखा शाखामा मोटो रकमको कारोबार बढिरहन्छ । गरिखाने भाँडो बनाएर कालोधन बटुल्ने नीच सोचलाई बदल्न सक्ने नीति अबको आवश्यकता हो । सम्पूर्ण प्राणीको अस्तित्व बचाउका लागि प्राकृतिक संरक्षण, सन्तुलन, सम्बद्र्धन तथा विकास रक्षामा देशले नवीन अभियान चाल्नुपर्छ । वातावरण र जीवनको सह–सम्बन्धलाई खेलाँची नसम्झौँ ।