बलात्कार तथा यौनजन्य हिंसा : समाधान के ?

बलात्कार तथा यौनजन्य हिंसा : समाधान के ?


■ सावित्रा दाहाल

विषय प्रवेश

नारी वा स्त्री भन्नाले जैविक विभिन्नतालाई जनाउँछ । छोरा/छोरी वा पुरुष र स्त्रीलाई चिनाउने प्राकृतिक नैसर्गिक भेद नै जैविक लिङ्गभेद हो भने समाजद्वारा निर्धारण गरिएका महिला र पुरुषबीचका फरक फरक भूमिकालाई सामाजिक लिङ्गभेद भनिन्छ । जुन मानिसद्वारा सृजित हुन्छ र परिवर्तन गर्न सकिन्छ ।

सामाजिक लिङ्गभेदका कारण हाम्रो समाजमा थुप्रै प्रकारका लैङ्गिक हिंसाका घटना हुने गरेका छन् । महिला हिंसा लैङ्गिक हिंसाको एक स्वरुप हो । महिला हिंसा लैङ्गिक विभेदका कारण महिलामाथि हुने हिंसा हो । अर्थात् महिला माथि शारीरिक, मानसिक र संवेगात्मक रुपमा क्षति पुऱ्याउने कुनै पनि कार्य महिला हिंसा हो । महिला हिंसाका विभिन्न स्वरुपमध्ये यौन हिंसा एक हो ।

यौन मानिसको प्राकृतिक, जैविकीय र आधारभूत आवश्यकता हो । हिन्दूहरूका मठ–मन्दिरमा राखिएका तस्बिरले पनि यौनलाई सकारात्मक पक्षको रूपमा लिएको देखिन्छ । तर यसो भन्दैमा सामाजिक मूल्य–मान्यता, आदर्श, सांस्कृतिक परिवेश र डरत्रासको बन्धनलाई तोडेर यौन चाहना पूरा गर्नु गलत हुन्छ । यौनहिंसा भन्नाले असामाजिक, अप्राकृतिक वा गलत तरिकाबाट यौन सन्तुष्टि प्राप्त गर्ने प्रक्रिया हो । जसलाई यौन दूराचार वा यौन विकृति पनि भनिन्छ ।

नेपालमा यौन हिंसाको शिकार बढी मात्रामा महिलाहरू हुने गरेका छन् । स्त्रीहरूमाथि गरिने यौनजन्य अवैध, अनुचित र नाजायज व्यवहार अर्थात् उनीहरूलाई भोगविलासको साधन सम्झेर कुनै पनि प्रकारको यौनजन्य क्रियाकलाप गरिनुलाई यौन हिंसा भनिन्छ । यसैगरी स्त्रीमाथि नराम्रो दृष्टिकोणले संवेदनशील अङ्गहरूमा नजर लगाउनु, जिस्काउनु, छुने प्रयास गर्नु वा छुनु, अश्लील र अनैतिक टिप्पणी गर्नु आदि पनि यौनहिंसाको श्रेणीमा पर्दछन् । यौनहिंसाका विभिन्न स्वरुपमध्येको बलात्कार एक गम्भीर अपराध हो ।

यौन मानिसको प्राकृतिक, जैविकीय र आधारभूत आवश्यकता हो । हिन्दूहरूका मठ–मन्दिरमा राखिएका तस्बिरले पनि यौनलाई सकारात्मक पक्षको रूपमा लिएको देखिन्छ । तर यसो भन्दैमा सामाजिक मूल्य–मान्यता, आदर्श, सांस्कृतिक परिवेश र डरत्रासको बन्धनलाई तोडेर यौन चाहना पूरा गर्नु गलत हुन्छ ।

बलात्कार के हो ?

बलात्कार कुनै पनि महिला वा बालिकालाई उसको मञ्जुरीविना करकाप, डर, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौन सम्पर्कलाई भनिन्छ । त्यसैगरी उमेर नपुगेको व्यक्तिलाई ललाइफकाइ मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कारकै रुपमा लिइन्छ । नेपालको कानुनले गरेको परिभाषाअनुसार यो फौजदारी अभियोग हो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग २ फौजदारी कसुरहरूको परिच्छेद १८ मा करणीसम्बन्धी कसुर भनी यो अपराधलाई नियन्त्रण गर्ने सजायको व्यवस्था गरेको छ । उक्त परिच्छेदको दफा २१९ मा उल्लेख गरेअनुसार बलात्कार (करणी) भन्नाले कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको ठहर्छ भनी उल्लेख गरेको छ ।

नेपालमा बलात्कारको अवस्था

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/०७४ मा ११३१ वटा जबर्जस्ती करणी तथा ५३६ वटा जबर्जस्ती करणी उद्योगका घटनाहरू, आर्थिक वर्ष २०७४/०७५ मा १४८० वटा जबर्जस्ती करणी र ७२७ वटा जबर्जस्ती करणी उद्योगका घटना भएका छन् भने आर्थिक वर्ष २०७५/०७६ मा २२३० वटा जबर्जस्ती करणी र ७८६ वटा जबर्जस्ती करणी उद्योगका घटना भएका छन् । विगतमा कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । यीलगायत देशभरी नै बलात्कारका घटना भइरहेको समाचार प्रकाशन र प्रशारण भइरहेका छन् ।

झापाको अवस्था

झापामा भएका बलात्कारका घटनाको प्रकृतिलाई हेर्दा ५ वर्षभन्दा कम उमेरका बालिकाहरू पनि बलात्कारका शिकार भएका छन्, झापाको अर्जुनधारा न.पा., दमक न.पा., झापा गा.पा. लगायतका क्षेत्रमा यस्ता घटना भएका हुन् । झापाकै हल्दीबारी गा.पा.मा आफ्नै हजुरबुबा (आमाको मामा) बाट १३ वर्षीया बालिका बलात्कृत भई गर्भवती भइन् । यसैगरी छिमेकी जिल्ला इलामको रोम गाउँपालिकाकी ७१ वर्षीया वृद्ध हजुरआमा आफ्नै नाति उमेरको २३ वर्षीय छिमेकी पुरुषबाट बलात्कृत भइन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट प्राप्त तथ्याङ्कअनुसार झापामा आ ब २०७३/०७४ मा ५७ वटा जबर्जस्ती करणी र १७ वटा जबर्जस्ती करणी उद्योगका घटना भएका छन् । यसैगरी आ.ब. २०७४/०७५ मा ९९ वटा जबर्जस्ती करणी र ३४ वटा जबर्जस्ती करणी उद्योगका घटना भएका छन् । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १२८ वटा जबर्जस्ती करणी घटना भएका छन् भने ४५ वटा जबर्जस्ती करणी उद्योगका घटना भएका छन् ।

माथिको संख्यालाई विश्लेषण गर्दा बलात्कार र बलात्कारजन्य घटनाको सङ्ख्या दिन–प्रतिदिन बढ्दो छ । प्राप्त समाचार तथा तथ्याङ्कअनुसार देशभरी नै १० वर्ष भन्दा कम उमेरका बालिकाहरू बढी मात्रामा वलात्कृत हुने क्रम बढ्दो रहेको छ । प्रहरी अनुसन्धान अनुसार ७० प्रतिशत भन्दा बढी बलात्कारका घटना परिवारका सदस्य वा चिनजानका मानिसबाट हुने गरेका छन् । यी घटनाहरूले जुनसुकै उमेरका महिला वा बालिकाहरू असुरक्षित रहेको स्पष्ट हुन्छ । यसको साथै बालिका तथा महिलाहरू आफ्नै घर परिवार र आफन्तसँग जोगिनुपर्ने भयावह स्थिति सृजना हुँदै गएको छ ।

बाबुले छोरीलाई, हजुरबाले नातिनीलाई, ४ वर्षीया बालिकादेखि ७१ वर्षीया वृद्ध हजुरआमा पनि बलात्कारका शिकार भइरहेका छन् । मावल गएकी भाञ्जी, विद्यालय गएकी विद्यार्थी, बसमा यात्रा गर्ने यात्रु, आफन्त वा साथीभाइकहाँ गएकी चेली, कामकाजी महिला जो कोही पनि सुरक्षित छैनन् ।

बलात्कारका प्रकार

बलात्कारलाई विभिन्न तरिकाबाट वर्गीकरण गरिएको छ, शारीरिक तथा मानसिक रूपले असक्षम महिलालाई गरिने यौन क्रियाकलाप, कानुनी रुपमा तोकिएको उमेरभन्दा कम उमेरका बालिकासँग गरिने यौन क्रियाकलाप जसमा नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै यौन सम्पर्क राखेमा पनि बलात्कार गरेको ठहर्छ । यसगरी श्रीमान्–श्रीमतीबीचमा सहमतीमा यौन सम्पर्क भए पनि यौन कार्यका शिलशिलामा शारीरिक क्षति पुऱ्याएमा वा अप्राकृतिक यौन क्रियाकलाप, जस्तै: गुदद्वार, मुखादिमा गरिने यौन क्रियाकलाप, कुनै महिला र पुरुषको विभिन्न ठाउँ वा सामाजिक गतिविधिमा संलग्न हुँदा पहिलादेखि नै चिनजान र परिचय भएको वा सामिप्यताका आधारमा कुनै महिला वा बालिकामाथि हुने यौन क्रियाकलाप, व्यक्तिहरूको समूह मिलेर एकजना व्यक्तिलाई गरिने सामुहिक बलात्कार र आफ्नो नजिकको रगतको नाता पर्ने व्यक्तिहरूसँग यौन सम्बन्ध राखिनु हाडनाता करणी यसअन्तर्गत पर्दछन् ।

बलात्कारका असरहरू

बलात्कार अपराधिक मानसिकताको एक उपज हो । यसले परिवार, समाज र राष्ट्रको विकासमा थुप्रै असरहरू पुऱ्याउँछ । बालिका बलात्कृत भए उसलाई शारीरिक, मानसिक, शैक्षिक तथा मनोवैज्ञानिक असर पर्न सक्छ । किशोरी बलात्कृत भए गर्भवती हुनसक्ने, सामाजिक रुपमा वहिष्कृत हुनसक्ने, मनोवैज्ञानिक असर पर्न सक्ने, हत्या वा आत्महत्या हुनसक्ने सभावना हुन्छ । महिला गर्भवती भई नाबालक बच्चा जन्मने र बाबुको परिचय पाउन झञ्झटिलो कानुनी प्रक्रिया, पीडित महिलालाई समाजमा पुनर्स्थापनामा समस्या तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ ।

बलात्कारका कारणहरू

बलात्कार हुने कारणका सम्बन्धमा विभिन्न विद्वानहरूले आ–आफ्नो दृष्टिकोण राखेका छन् । समाजशास्त्रीहरू बलात्कार समाजको अपराधिक मानसिकताका कारणले हुन्छ भन्दछन् भने औषधी विज्ञानले १५ वर्ष देखि ५५ वर्षसम्म मानिसमा अत्याधिक यौन चाहना हुने र यसलाई पूरा गर्न बलात्कार हुने गरेको धारणा व्यक्त गरेको छ । यसैगरी सामाजिक अभियन्ताहरू प्रविधिको दुरुपयोग र पितृसतात्मक समाजको सोचका कारण बलात्कार हुने गरेको बताउँछन् ।

खासगरी बलात्कार समाजका मानिसहरूको अपराधिक मनोवृत्ति, कानुनको कडाइका साथ कार्यान्वयन नहुनु, अपराधीलाई राजनैतिक संरक्षण, खुल्ला तथा पूजिँवादी समाजको प्रभाव, मादक पदार्थको बढ्दो सेवन तथा दुर्व्यसनलगायत छन् । सामाजिक सञ्जाल राखिएका अश्लिल भिडिंयो, गीत, फिल्म र तस्बिरहरूको असर, सञ्चारमाध्यममा यौन उत्तेजना फैलाउने सामाग्रीको प्रकाशन र प्रशारण, प्रतिरक्षा वा आत्मरक्षासम्बन्धी पर्याप्त ज्ञान तथा कानुनको अभावले पनि बलात्कार हुने गरेको छ । विद्यालयस्तरको पाठ्यक्रममा यौन शिक्षाको विषय समावेश नहुनु, आफ्ना बालबालिकालाई यौन हिंसा र यसबाट हुनसक्ने आक्रमण तथा बच्ने उपायहरूको वारेमा सानैदेखि जानकारी नगराउनु, असामाजिक व्यक्तिको आपराधिक मनोवृत्ति, गरिबी, टेस्टेस्टरेन नामक हर्मोनको अत्याधिक उत्पादन आदि कारणले हुने गर्दछन् ।

बलात्कार नियन्त्रणका उपायहरू

बलात्कार जस्तो गम्भीर अपराधलाई समयमा नै रोकथाम गर्न नसके यसले परिवार र समाजलाई ठूलो क्षति पुऱ्याउँछ भने र विश्व सामु नेपालको प्रतिष्ठामा पनि गम्भीर आँच आउने छ । यसलाई समयमै नियन्त्रण गरिनुपर्दछ ।

विद्यालयस्तरको पाठ्यक्रममा यौन शिक्षाको विषय समावेश नहुनु, आफ्ना बालबालिकालाई यौन हिंसा र यसबाट हुनसक्ने आक्रमण तथा बच्ने उपायहरूको वारेमा सानैदेखि जानकारी नगराउनु, असामाजिक व्यक्तिको आपराधिक मनोवृत्ति, गरिबी, टेस्टेस्टरेन नामक हर्मोनको अत्याधिक उत्पादन आदि कारणले हुने गर्दछन् ।

यसलाई नियन्त्रण गर्न राज्यसंरचनाका अङ्गहरू कानुन तर्जुमा र कार्यान्वयनमा संवेदनशील बन्नुपर्दछ । विद्यालयस्तरको पाठ्यक्रममा यौन शिक्षाको विषय समावेश हुनुपर्दछ । सानैदेखि घरमा यौन हिंसा र यसबाट हुनसक्ने आक्रमण तथा बच्ने उपायहरूको बारेमा जानकारी गराउनु पर्दछ । पहुँचको आधारमा न्यायसम्पादन हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने, प्रतिरक्षा वा आत्मरक्षासम्बन्धी कानुन बनाइ कडाइका साथ कार्यान्वयन हुनु पर्दछ । कानुनको कडाइका साथ कार्यान्वयन हुनुपर्ने साथै न्याय सम्पादन चुस्त, दुरुस्त र पारदर्शी हुनुपर्ने, जनचेतनामा वृद्धि मनोचिकित्सक परामर्शको व्यवस्था गर्नुपर्ने, राजनैतिक पार्टीहरू दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने, महिलाहरूको क्षमतामा बृद्धि गर्नुपर्ने, मानिसलाई नैतिक शिक्षा दिइनुपर्ने, पुरुषलाई भोक्ता र महिलालाई भोग्याको रुपमा हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन गरी महिला र पुरुष एकअर्काका परिपुरक हुन् भन्ने धारणाको विकास गर्नुपर्ने, सञ्चारमाध्यम तथा समाजिक सञ्जालका सञ्चालकहरूले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी अपराध र अपराधीको मनोबल गिराउने चेतनामूलक कार्यक्रम, विषयवस्तु प्रकाशन, प्रशारण निःशुल्क रुपमा गर्नुपर्ने, उपभोग्य तथा मनोरञ्जनका सामाग्रीहरूको विज्ञापनमा यौन उत्तेजना फौलाउने खालका सामग्रीको प्रकाशन, प्रदर्शन वा प्रसारण गर्न राज्यले रोक लगाउनुपर्ने आदिजस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ।

कानुनी तथा क्षतिपूर्तिको व्यवस्था

मुलुकी फौजदारी संहिताको दफा २१९ ले करणीसम्बन्धी कसुरमा हुने सजायबारे उल्लेख गरको छ । उक्त संहिताको दफा २१९ को उपदफा ३ मा भएको व्यवस्था अनुसार १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्म जेल सजाय, १० वर्ष भन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म जेल सजाय, १४ वर्ष भन्दा वढी र १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म जेल सजाय, १६ वर्षभन्दा बढी १८ वर्ष भन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म जेल सजाय, १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म जेल सजाय, वलत्कारपछि हत्या गरेको अवस्थामा आजीवन कैदको व्यवस्था कानुनले गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ दफा २२८ मा यस कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिव क्षतिपूर्ति भराइदिनुपर्ने छ ।

माथि उल्लेखित कानुनी सजाय र क्षतिपूर्तिको व्यवस्था आफैमा अस्पष्ट छ । ‘मनासिव क्षतिपूर्ति’ भन्ने शब्दले अन्योल उत्पन्न गरी तजविजी अधिकार प्रत्यायोजन गरेको छ । यसको साथै उक्त कानुनमा पीडकले उन्मुक्ति पाउने प्रशस्त बाटाहरू छन् । २०७४ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४’ कानुनमा आम जनताले धेरै आशा राखेका थिए । यद्यपि आशा गरे अनुरुपको कानुन आउन नसकेको उनीहरूको ठम्याई छ यसको साथै भएका कानुनको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

हाम्रा सवालहरू

यस लेखमार्फत म जिम्मेवार निकायसँग प्रश्न गर्न चाहन्छु कि बलात्कारीलाई धरौटीमा छोड्न मिल्छ कि मिल्दैन ? बलात्कारको मुद्दालाई मिलापत्र गर्न मिल्छ कि मिल्दैन ? बलात्कार घटनाका सम्बन्धमा राज्य संरचना सम्वेदनशील बन्नुपर्छ कि पर्दैन ? बलात्कारविरुद्धमा प्रतिरक्षा वा आत्मरक्षासम्बन्धी कडा कानुन बन्नुपर्छ कि पर्दैन ? कानुनी कारवाहीका लागि आवश्यक पर्ने ठोस प्रमाण जुटाउने, भएका प्रमाणको संरक्षण गर्ने जिम्मेवारी कस–कसको हो ? डाक्टरद्वारा हस्ताक्षरित गलत ल्याब प्रतिवेदनको जिम्मेवार को हुने ?

बलात्कार कानुनी रुपमा दण्डनीय, सामाजिक रुपमा निन्दनीय र मानवअधिकारको गम्भीर उल्लंघन हो । समाजमा यस्ता घटना हुन नदिन हामी सबैले आ–आफ्नो क्षेत्रबाट सरकरात्मक र सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ । यसका लागि कानूनमै परिमार्जन गर्ने र बलात्कारीलाई कडाभन्दा कडा सजाय, अपराधीको सर्वश्वहरण गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुका साथै पीडकमाथि सामाजिक वहिष्करण गरी पीडितलाई पुनःस्थापित हुने बातावरण बनाउन सबै तह र तप्काको सक्रियता आवश्यक छ ।

अन्त्यमा,

वर्तमान अवस्थामा नेपाली समाज अपराधीको अखडा बन्दै गइरहेको छ । बाबुले छोरीलाई, हजुरबाले नातिनीलाई, ४ वर्षीया बालिकादेखि ७१ वर्षीया वृद्ध हजुरआमा पनि बलात्कारका शिकार भइरहेका छन् । मावल गएकी भाञ्जी, विद्यालय गएकी विद्यार्थी, बसमा यात्रा गर्ने यात्रु, आफन्त वा साथीभाइकहाँ गएकी चेली, कामकाजी महिला जो कोही पनि सुरक्षित छैनन् । यो त केवल ‘Tip of the iceberg’ Phenomenon जस्तै हो । निर्मला हत्या काण्डले बलात्कारविरुद्ध राष्ट्रिय आन्दोलनको रुप लिएको छ । यसले अपराध अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको प्रहरी प्रशासनको छविमाथि गम्भीर प्रश्न उठेको छ । यद्यपि कतिपय घटनामा भने समयमा जाहेरी नआउने र सबुद प्रमाण नष्ट भइसक्ने तथा पीडित प्रभावमा परेको कारण घटनाको निष्पक्ष छानविन गर्न र न्याय सम्पादन गर्न चुनौती भएको प्रहरी भनाइ रहेको छ ।

बलात्कार कानुनी रुपमा दण्डनीय, सामाजिक रुपमा निन्दनीय र मानवअधिकारको गम्भीर उल्लंघन हो । यो समाज, सभ्यता र विकासको गम्भीर कलंक हो । त्यसैले समाजमा यस्ता घटना हुन नदिन हामी सबैले आ–आफ्नो क्षेत्रबाट सरकरात्मक र सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ । यसका लागि कानूनमै परिमार्जन गर्ने र बलात्कारीलाई कडाभन्दा कडा सजाय, अपराधीको सर्वश्वहरण गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुका साथै पीडकमाथि सामाजिक वहिष्करण गरी पीडितलाई पुनःस्थापित हुने बातावरण बनाउन सबै तह र तप्काको सक्रियता आवश्यक छ । यसका लागि हामी सबैको सामाजिक मानसिकतामा व्यवहारिक परिवर्तन आवश्यक छ । यो राष्ट्रिय स्तरको गम्भीर समस्यालाई नियन्त्रण गर्न आम सरोकारवालाहरू एकै ठाउँमा भएर समस्याको समाधानको लागि एकयैबद्धता जनाऔँ ।

(लेखक ‘नारी सञ्चार गृह’ झापाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)