भारत मातालाई नेपाल आमाको पत्र !

भारत मातालाई नेपाल आमाको पत्र !


■ तिलक पौडेल

भारत माताप्रति
नेपाल आमाको अभिवादन !

विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना कहरका बेला कसले पो आराम छु भन्न सक्लान् र ! तैपनि तिमी-हामीकहाँ तुलनात्मक रुपमा सङ्क्रमण अहिलेसम्म कम मात्रामा देखिएकोलाई सन्तुष्टै मान्नुपर्ला । र पनि तिम्रो धेरै जनसंख्याबाट मेरो थोरै जनसंख्याभित्र मेरै जनतालाई फिर्ताको अवसर जुटाइदिंदा सङ्क्रमणको छेलोखेला हुन पुग्यो र मेरा प्रधानमन्त्रीले भारतको कोरोना कडा भयो भन्नुलाई तिम्रा विज्ञजनले अनर्थ लगाएको पाउँदा अलि दुःख लागेको छ ।

तिमी र म दुवै सार्वभौम हौं, विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी छौं, दक्षिण एसियाली सहयोग सङ्गठनमा त सहयोद्धा नै छौं, र पनि तिमी जस्ती भूमि र जनकी ठूलीलाई ‘तिमी’को सम्बोधन गर्दा नमीठो मानेकी हौली । हुन त तिमीलाई सवा अर्बले ‘माता’ सम्बोधन गर्दा र मलाई तीन करोडले ‘आमा’ भन्दैमा हाम्रो मातृवात्सल्यतामा कम-बेशी त हुँदैन नि ! त्यसमा पनि पराधीनताको प्रसङ्गमा भने सदा स्वाधीन रहेकी म श्रेष्ठ हुँ, तापनि असल छिमेकीको नाताप्रधान गरी यसरी सम्बोधन गरेकोलाई सोही बमोजिम ग्रहण गर्ने छौ भन्ने विश्वासमा अघि बढ्दछु ।

तिम्रो ठूलो कदको परिणति मेरो तीनतिरको सीमा घेराइले मलाई तिम्रो काखमा रहे जस्तै लाग्दछ । मकहाँ ‘ठूला रुखको ओत लागे, एक तहरो पानी ओतिन्छ’ भन्ने उखानै छ । त्यही विश्वासमा मेरा देशवासी आफ्नै सुतेधन्दामा लागिरहेका थिए/छन् । ‘विश्वासमा परेकालाई ठग्नमा केको चलाखी ?’ अनि ‘काखमा सुतेकालाई मार्नमा केको पुरुषार्थ ?’ भन्ने व्यहोरा, शास्त्रका ज्ञाता तिम्रा प्रधानमन्त्रीलाई जानकारी नहुने त मैले कल्पना पनि गर्न सक्दिन । तर सन् १८१६ को सुगौली सन्धिदेखि मेरा नाउँमा परिभाषिएको लिम्पियाधुराबाट बहेको कालीनदीभन्दा पूर्वको भूभागमा, कालापानीलाई समेत समेटेर अघिल्लो वर्ष राजनैतिक/प्रशासनिक नक्सा प्रकाशन गरे । यसले स्वभावत: मेरा जनमनमा चिसो पसाली दियो । फेरि विश्व नै कोरोनाको चिन्तामा रहेको अवस्थामा मेरो त्यही भूभागबाट ‘मानसरोवर मार्ग’ निर्माण गरी तिम्रा रक्ष मन्त्रीमार्फत् उद्घाटन गराएपछि मेरा देशवासीहरू धर्म रक्षाका लागि दृढ बनेका छन् । आफ्नो भूमि, सम्पत्तिको रक्षा गर्नु जो-कोहीको पनि आफ्नो परम धर्म हो भन्ने तिमीले पनि बुझेकै कुरा हो । वास्तवमा चार/पाँच वर्ष पहिले अर्को छिमेकी (चीन) समेत भई मेरो भूमिबाट नाका खोल्ने सहमति हुँदा मेरा प्रतिनिधिहरूलाई सोधनीसम्म नगर्नुलाई तिमीले पनि उही ‘विश्वासमा परेकालाई ठगेर’ तिम्रा नेताले चलाखी प्रकट गरेको सोचेकै हौली ।

वास्तवमा राष्ट्र ठूलो हुँदैमा, जनसंख्या धेरै हुँदैमा नेतृत्व गर्नेका मस्तिष्कको सोच्ने खुबी पनि ठूलो र धेरै हुन्छ भन्ने त छैन नि ! तर अहिले तिम्रा र मेराबीचमा फाटो पार्ने केही दुष्चेष्टाहरू तिम्रा नेताहरूले गरे । यही सीमा विवादको सन्दर्भमा हेर न सन् १८१६ मा ब्रिटिश इष्ट इण्डिया कम्पनी र मेराबीच सुगौली-सन्धि भयो । त्योबेलाका नेपाली र भारतीयहरू अहिले कोही छैनन् । अझ तिनताका त तिम्रो अस्तित्व शुरु नै भएको थिएन । बरु वि.सं. २०११ सालमा त्यो लिम्पियाधुरावासीको जनगणना गर्ने जनगणना अधिकृत भैरव रिसाल मकहाँ जिउँदै छन् । अनि उजस्ता जिउँदा प्रमाणको व्यहोरा अनसुनी गर्ने हो भने विवाद टुङ्ग्याउन सन्धिपछिका दस्तावेजलाई नै आधार मान्नु परेन त !

संयुक्त राष्ट्र संघको महासभामा सबैले मनचिन्ते दिवाकालीन भोजन गर्दा तिम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले योग गर्दै तुलसीपानी खाए भन्दा मकहाँ रमाएका हिन्दूमनप्रति अहिलेको व्यवहार, २०४५ सालको नाकाबन्दी अझ २०७२ सालको महाभूकम्पबाट त्रसित मनमा लादिएको अघोषित नाकाबन्दीले कति ठेस पुऱ्याएको होला ? भन्ने अड्कल तिम्रा नेतागणले त गर्न सकेको देखिएन तापनि तिमीले पक्कै आत्मबोध गरेकै हौली । के सानो भूभागमा पन्पेका मानवाकृतिमा मानवीयता नै हुँदैन ! सोच्दछन् कि क्या हो तिम्रा नेताहरू ?

सुगौली सन्धिले महाकालीलाई सीमा नदीको रुपमा उल्लेख नगरी केवल नदीको पूर्वतर्फ नेपाल र पश्चिमतर्फ भारत उल्लेख गरेपनि महाकाली-सन्धिका समयमा उक्त नदी साझा मानेकै अवस्था छ । सीमाङ्कनका लागि तिम्रा–मेरा प्राविधिकहरूले नाप–नक्सा बनाई सहमति गर्दै छाङ्ग्रु (लिम्पियाधुरा र लिपुलेकबाट निस्केका नदीहरूको दोभान) सम्म पुगेकै थिए । छिमेकीहरूबीच सीमा विवाद उपयुक्त हुँदैन र छैन भनी सीमाबारे छलफलका लागि मैले अनुरोधहरू गरिरहँदा अनसुनी गर्नुले सुगौली–सन्धि, नदीको उद्गमस्थानको बारेमा मौन रहेको सजाँय मैले एकतर्फीरुपमा उक्त क्षेत्रको जमीनउपर आत्मासमर्पण गर्नुपर्छ भन्न खोजे झैं देखिएको छ । वास्तवमा नदीको लम्बाइ, नदीमा पानीको आयतन, नदीमा मिसिने खोला-खोल्साको संख्या, नदीको पानीढलो क्षेत्र जस्ता नदीका अन्तर्राष्ट्रिय परिभाषा हेर्दा लिम्पियाधुराबाटै बग्ने नदी महाकाली हो भन्ने व्यहोरा तिमी हामीले त सनातनी देखी-बुझिआएकै छौं । त्यसमा पनि तिम्रा शास्त्रज्ञ प्रधानमन्त्रीले श्रीमद्स्कन्दपुराणको मानसखण्डको ११६ अध्यायको ८/१४ श्लोकमा पनि कालीको मुहान लिम्पियाधुरा उल्लेख भएको हेर्नुभएकै होला नि ! यो कालीको उद्गमस्थलको पौराणिक शास्त्रीय प्रमाण हैन त ?

सो जग्गा सन्धिसर्पनको महसुस भएपछि लिपुलेकबाट उद्गम भएको लिपुखोलालाई ‘काली’ नामाकरण गरी वास्तविक महाकालीलाई ‘कुटियाङ्दी’ नाम राखे, यो पनि तिमी हामीले देखेकै कुरा हो । र पनि स्थानीय भाषामा ‘कुटि’ भनेको ‘काली’ र ‘याङ्दी’ भनेको ‘नदी’ हो । आखिर चीनसँग युद्ध हुँदाखेरि सैनिक क्याम्प राख्न कालापनीको भूभाग प्रयोग गरेपछि ऐलेसम्म सैनिक फिर्ता नगर्नुलाई तिमीले पनि आफ्ना नेताको हठको प्रदर्शन र सानाप्रतिको बलमिच्याईं नै ठान्छ्यौ होला । अचेल त झन् त्यहींनेर दुर्गाको मन्दिर बनाई केही माथिको पोखरीलाई तलाउको रुप दिएका रछन् । अझ कालो ढुङ्गा राखेर कालो पानी बनाई बगाएर त्यसैलाई काली नदीको उद्गमस्थान भन्नुलाई तिम्रो अन्तर आत्माले स्वीकार्न सकिरहेको छैन होला नै । हुन त बुद्धको जन्मस्थलको प्रतिरुप लुम्बिनी निर्माण गरी ‘गौतम बुद्ध भारतमा जन्मेका हुन्’ भन्ने धृष्टतासम्म तिम्रा नेताले गरेको विगत तिमीले पनि बिर्सेकी छैनौ होला । त्यसो त हिन्दूहरूका आरध्यदेव ‘पशुपतिनाथ’ अनि संसारको सर्वोच्च प्रतीक ‘सगरमाथा’ पनि मेरै धर्तीमा छन्, जुन पृथ्वीकै पहिचान हुन् ।

फेरि लिपुलेकदेखिको नदीलाई नै सिमाना मान्दा पनि सैनिक क्याम्पनेर दुर्गा मन्दिर बनाई कृत्रिम काली बनाएर त्यसपछिको नेपाल-भारत सिमानालाई डाँडाको पानीढलो कायम गरी सेना बसेको कालापानी भूभागलाई आफ्नो बनाउन गरिएको चालबाजीलाई हामीले साँच्चैको हो भनेर बुझ्नुपर्ने बाध्यता लाद्न खोजेको जस्तो प्रतीत हुन्छ । जब कि सुगौली सन्धिमा कालीनदी पूर्व नेपाल र पश्चिम भारत भनी लेखोएकोछ । सो व्यहोरालाई आफूखुसी डाँडाको सिमाना कायम गरी कालापानी समेटेको नक्सा जारी गर्दा छिमेकीको भूमि मिचें, यसको पाप त लाग्दैन ! भन्ने व्यहोरा तिम्रो नेताको आध्यात्मिक मनमा पक्कै उब्जेको हुनुपर्छ, तर स्वार्थ र मोहका कारण कसैले प्रकट गरिरहेका छैनन् । तिमी र म बाहेक अमर, अजर त कोही पनि हैन र छैनन् । अनि आत्मा परमात्मासँग मिलन हुन जाँदा माथि उल्लिखित नाटक रचेर नेपाली भूमि हडप्ने चेष्टा किन गरेको मोदी ? भन्दा के उत्तर देलान् ? कि त्यसबेला मौनता साँधेर परमात्मासामु ऋजुता प्रकट हुन्छ भन्ठानेको होलान् ! भनेर मेरा देशवासीहरूले अचेल चिन्ता प्रकट गर्दछन् । किनभने जति गरेपनि ‘हामी मेरो प्रमाण अनुसारको भूभाग छाड्नेवाला छैनौं र भारतीयहरूको एक रुन्को जग्गामा पनि आँखा लगाउँदैनौं नै’ भनेर मेरा जनताहरू अहिले सनातनीभन्दा कठोर दृढता प्रकाट गरिरहेको आभाष तिमीले पनि गरेकै हौली ।

आखिर तिमीलाई चाहिएको भनेको भारत-चीनबीच प्रत्यक्ष सम्पर्क न हो ! अनि दुई ठूला राष्ट्राध्यक्षहरूले मेरा प्रतिनिधिलाई एक आखर सोधनीसम्म नगरी छिमेकीको मनमा पीडा दिएको व्यहोरा पनि मलाई त समीचीन ठहरेन । आखिर बाटो बनाउने उपयुक्त रुट त्यही भएकोले त्यहींबाट बाटो बनाउनु परेको थियो त ‘बाटोमा तिमीहरूको भूमि पर्ने भयो, तसर्थ दुबैतिर सिमानामा नाका बनाई निर्णयानुसारको कर उठाऊ’ भनेको भए, नेपालीमनले सम्मानपूर्वक आशिष पो दिन सक्थे, त्यो समय पन तिम्रा र चीनका नेताले गुजारे । आपसमा खुला सीमा भएका कारण तिम्रा राजनेताले क्षेत्रफलमा ठूलो भएको ध्वाँस (?) दिंदै बन्द-व्यापार मात्र हैन समुद्रसम्मको बाटोको अत्यावश्यकता उपर समय-समयमा नाकाबन्द थोपरेर भय सिर्जना गरी सिमानाका जङ्गेपिलर हटाउने, मेरो भूभागतिर सार्ने, सीमालाई अस्तव्यस्त रहन दिने, मेरा राजनीतिज्ञहरूलाई ‘विचरा’ बनाउँदै राजकाजलाई स्थिर हुन नदिने जस्ता चलखेल गरिरहेको महसुस तिमीलाई पनि भएकै हुनुपर्छ । ‘अति सर्वत्र वर्जयेत’ भन्छन् ऐले त मेरा प्रधानमन्त्रीले पनि तिम्रो राष्ट्रिय प्रतीकको हवाला दिंदै ‘सिंह मेव जयते हैन सत्य मेव जयते’ हुनपर्छ भनेर सबैदलहरूको सम्मति बटुलेका छन् ।

अहिले तिम्रा सञ्चार माध्यम मार्फत् युद्धघोष समेतको आह्वान जस्ता प्रचारबाजीले अहस्तक्षेपको धज्जी उडाउँदै मुठी भित्रको झिंगा मार्ने बहादुरी ठनेको जस्तो प्रतीत हुन्छ । आखिर मेरा ‘वीर गोर्खाली’ले भारतको स्वतन्त्रता सङ्ग्रममा जीवन बलिदान गरेको बिर्संदा आध्यात्मिक मनले पाप लाग्ला कि भन्ने र सनातनी हिसाबमा पनि कृतघ्नताको डर तिम्रा पत्रकार एवं नेतागणमा देखिएको पाइन । महाभारतको युद्धनीति अनुसार सेनापति(सेनापति अर्थात् दर्जानुसारका व्यक्तिहरूबीच लडाईं गर्ने हो भने मेरा वीर गोर्खाली सामु त तिम्रा सेनाको आत्मासमर्पण मात्र हुनेछ । त्यसो त हैन, भएभरको तागत, शक्ति नै प्रयोग गर्ने शोच राखेका हुन् भने त जे गरेपनि भयो । अन्तर्राष्ट्रिय जगतलाई नै दुई फ्याक बनाएर तेस्रो विश्वयुद्ध नै निम्त्याउने धृष्टता गर्न लगाएकी हौ भने त अर्कै कुरा ! यसमा मेरो पनि केही भन्नु छैन । मेरा नेपाली वीर गोर्खालीलाई जीवन बलिदान त सनातनीदेखि चलिआएको वीरताको निशानी हो । विदेशी भूमिको संरक्षणमा त गरेका छन् भने आफ्नै भूमिका लागि फरक पर्ने कुरै भएन ।

सुन न ! राष्ट्र ठूलो सानो हुँदैमा सार्वभौमिकता पनि ठूलो सानो हुन्छ भन्ने त तिमी मान्दिनौ नै होला नि ! अनि सोचाइ पनि धेरै जनताको नेतृत्व गर्दैमा धेरै नै हुने त हैन नै । हैन भने तिम्रै नेताको सहमतिमा गठित प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदनसमेत तिम्रा प्रधानमन्त्रीले बुझिरहेका छैनन् । आखिर कुनै पनि विषयमा कि पढेर, कि परेर बल्ल जानकार हुन्छन् मानवहरू । कालापानी क्षेत्रको सन्धिबारेका जिउँदा व्यक्ति हैनन् मोदी ! ताकि उनले परेरै जानेको छु भन्न सकुन् । हैन भने त्योसम्बन्धी प्रतिवेदन अध्ययन गर्नु पर्दैन र ! यसै लालबुझक्कडी प्रतिक्रिया दिँदा पहिलो नेपाल भ्रमणका बेलामा वाही–वाही पाएका मोदीले मेरा जनताको मनमा निर्मित उनीप्रतिको मन–मन्दिर भत्काएको बुझेकी छु मैले । त्यसैले एकपटक तिमीले नै सीमा विवादका तथ्य प्रमाण एवं प्रतिवेदनहरू बुझेर अध्ययन गर्न र छातीमा हात राखेर प्रमाणहरू केलाउने चेतना हालिदेऊ । साँच्चैको मानवीय मोदी हृदयले निहित स्वार्थभन्दा माथि उठेर अन्तरात्माले देखेको निर्णय सुनाउन्, कतै गल्ती भएको महसुस हुँदा क्षमा याचना गर्न पछि नपरुन् । क्षमा नै धर्म हो, सत्य हो, शान्ति हो । ऐतिहासिक त्रुटीलाई सँच्च्याई विश्वका अगाडि भारतवर्षमा एक नमूना फिंजाउन् । विश्व मानचित्रमा भारतवर्षको प्रतिष्ठा समग्रमा हामीहरूकै हो । अहिले त किन हो कुन्नी दम्भी बने झैं लाग्दछ – तिम्रा प्रधानमन्त्री ! छिमेकमा भूटान होस् वा बाङ्लादेश, श्रीलङ्का होस् वा पाकिस्तान ! सबैलाई आफ्नो हैकम लाद्न खोजे जस्तो देखिन्छ । यो मेरो महसुसीकरण हो ।

अन्त्यमा यो कोरोनाको कहरबाट तिमी हामी मात्र हैन समस्त धरावासीहरूलाई शीघ्रतिशीघ्र मुक्ति मिलोस् भन्दै हाम्रो सनातनी सुमधुर सम्बन्ध थप उचापमा पुगोस् भन्ने कामनामा कतै उचाइ-निचाइ खस्न पुगेको भए, नेपाली जनताको पीडाबोधको भावावेग भनेर क्षमा गर्ने नै छौ भन्ने पूर्णाशा गर्दै बिदा भएँ । शेष कुशल !

यथासम्मानसहित,
उही तिम्रो असल छिमेकी
नेपाल आमा