कांग्रेसको आग्रह : नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ

कांग्रेसको आग्रह : नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ


नेपाली कांग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची–३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्बाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ ।

सङ्घीय संसदमा प्रस्तुत उक्त संविधान संशोधनको प्रस्ताव आज (३१ जेठ) संसदबाट पारित गर्ने कार्यसूची छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले विज्ञप्तिमार्फत आज लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्शा पारित हुनुसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश हुने र राष्ट्रियताका प्रश्नमा यो राष्ट्रिय ऐक्यबद्धता महत्वपूर्ण हुने जनाएको छ ।

साथै कांग्रेसले देशका विभिन्न ठाउँमा केही दिनयता भइरहेका प्रदर्शनलाई कोरोनाविरुद्धको सङ्घर्षमा सरकारको कमजोरीप्रतिको असन्तुष्टि र आक्रोशका रूपमा टिप्पणी गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा प्रदर्शनमा अभिव्यक्त जनभावनालाई सम्बोधन गर्न माग गर्दै कुनै पनि ढङ्गले बल प्रयोग गर्ने कार्य नगर्न भनिएको छ ।

कांग्रेसले पिसिआर परीक्षण व्यापक गर्न, स्वास्थ्य सामग्री पर्याप्त व्यवस्था गर्न, क्वारेन्टिनलाई मापदण्डयुक्त बनाउन र विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको यथाशीघ्र उद्धारका लागि सरकारसमक्ष युद्धस्तरमा कार्य गर्न पुनः माग गरेको छ ।

यसैगरी प्रवक्ता शर्माले कांग्रेस केन्द्रीय समितिको यही जेठ २६ गतेको बैठकले निर्णय गरेअनुरुप आगामी असार २ गते केन्द्र, सात प्रदेश, ७७ जिल्ला र विदेशस्थित दूतावासमार्फत पनि सरकारलाई एकसाथ विशेष ज्ञापनपत्र दिने कार्यक्रम तय गरिएको जानकारी दिएका छन् ।

यस्तो छ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्ति-

जेठ ३१, २०७७

युवा प्रदर्शनलाई दमन होइन सम्बोधन गर । कोरोना विरुद्ध क्षमता बढाउ ।
नक्सा पारितपछि कुटनैतिक पहल तीब्र बनाउ ।

नक्सा : राष्ट्रियताको प्रश्नमा राष्ट्रिय एक्यवद्धता

१) लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको भू-भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची-३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट पारित हुन लाग्दैछ । नक्सा पारित हुनुसंगै भूमी फिर्ताको हाम्रो राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश हुनेछ । राष्ट्रियताको प्रश्नमा यो राष्ट्रिय एक्यवद्धता महत्वपूर्ण छ । नक्सा पारित पछि ती भू—भागमा नेपालको निर्वाध हक स्थापित गर्न उच्च स्तरीय कुटनैतिक पहलका लागि नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ ।

दमन होइन युवा भावना सम्बोधन गर

२) देशका विभिन्न ठाउँमा केहि दिन यता भइरहेका प्रदर्शनलाई कोरोनाविरुद्धको संघर्षमा केपी ओलि नेतृत्वको सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोशका रूपमा नेपाली कांग्रेसले लिएको छ ।

३) प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घचाहटलाई ओली सरकारले समयमै बुझेको भए न त कोरोनाको संक्रमण यो रूपमा विस्तारित हुने थियो न त यसरी जनआक्रोश बढ्ने थियोे । सरकारको आग्रह स्वीकारेर जनताले लक डाउनको पालना गर्दै आएकै हो । तर कोरोना विरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकारले नसकेर परिस्थिति जटिल बन्दै गएपछि नागरिकमा निराशा, प्रश्न र आक्रोश जन्मनु स्वभाविक हो । अतः प्रदर्शनमा अभिब्यक्त जनभावनालाई सम्बोधन गर्न माग गर्दै कुनै पनि ढंगले बल प्रयोग गर्ने कार्य नगर्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ ।

४) युवाहरुको प्रदर्शनमा तिनै मुद्दा अघि सारिएका छन् जुन बिषयहरु लगातार ४ महिना देखि प्रतिपक्षले निरन्तर मौखिक देखि लिखित रूपमा उठाउंदै आएको छ र अन्य दल एवं संचार माध्यमहरुले निरन्तर दबाब दिंदै आएका छन् । अतः पिसिआर परिक्षण व्यापक गर्न, स्वास्थ सामग्री पर्याप्त ब्यवस्था गर्न, क्वारेन्टाइनहरुलाई मापदण्डयुक्त बनाउन, बिदेशमा अप्ठ्यारोमा रहेका नेपालीहरुको यथासिध्र उद्वार गर्न नेपाली कांग्रेस फेरि पनि सरकार समक्ष युद्धस्तरमा कार्य गर्न माग गर्दछ ।

असार २ गतेको स्वदेश र विदेशको कार्यक्रम बारे

५) नेपाली कांग्रेस केन्द्रीय समितिको जेठ २६ गतेको बैठकले निर्णय गरे अनुरुप असार २ गते केन्द्र, ७ प्रदेश, ७७ जिल्ला र विदेशस्थित दूतावासमार्फत पनि सरकारलाई एकसाथ विशेष ज्ञापनपत्र दिने कार्यक्रम तय गरिएको सर्वविदितै छ । सो कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न गरेर कोरोना विरुद्धको संघर्षमा प्रभावकारी ढंगले कार्य गर्न सरकारलाई व्यापक दबाब दिन नेपाली कांग्रेस सबैमा हार्दिक अपील गर्दछ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग