सांसद सरिताको घर तोडफोड भएको भन्दै रौतहटमा सरकारको विरोध

सांसद सरिताको घर तोडफोड भएको भन्दै रौतहटमा सरकारको विरोध


आरके श्रीवास्तव, रौतहट

जनता समाजवादी पार्टीकी नेतृ तथा संघीय सांसद सरिता गिरीको राजधानी काठमाडौंस्थित घरमा तोडफोड भएको भन्दै सो कार्यको विरोधमा गौर (रौतहट)का युवाहरु सडकमा उत्रेका छन् ।

गौरस्थित मधेश क्रान्ति चोकमा सरकारविरुद्ध विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको थियो । विरोध प्रदर्शनमा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरु सडकमै उभिएर केही बेर विरोधका नारा लगाएका थिए ।

कोरोना प्रकरणमा भएका आर्थिक घोटला भएको र सरिता गिरीको सुरक्षामा उपेक्षा गरेको भन्ने विषय उठाएर रौतहटका युवाले गरेको उक्त विरोध प्रदर्शनमा ओली देउवा राष्ट्रघाती हुन्, गिरी होइनन् लगायतका नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकारीहरु जुलुसमा सहभागी भएका थिए ।

गौरका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा सामाजिक दूरी कायम गर्दै एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।