एमसीसीबारे प्रवक्ता शर्माले भने- ‘सुनेको भरमा धारणा नबनाउनुस्’

एमसीसीबारे प्रवक्ता शर्माले भने- ‘सुनेको भरमा धारणा नबनाउनुस्’


एमसीसीबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र रस्साकस्सी र अन्योल बढिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो धारणा थप प्रष्ट्याएको छ ।

एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने भन्ने कुरा बिल्कुल निराधार रहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जिकिर गरेका छन् । कांग्रेस झापाले आइतबार बनियानी (झापा)मा आयोजना गरेको कार्यक्रममा उनले एमसिसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भन्दैे अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश नगरेको, इराकमा पनि अनुमति लिएर प्रवेश नगरेको बताए । उनको आशय नेपालमा अमेरिकाले आफ्नो सेना ल्याउने नै हो भने यसरी विकास निर्माणमा सहयोग गर्नका लागि वैधानिक बाटो खोजेर बस्दैनथ्यो भन्ने बुझ्न सकिन्छ ।

सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसिसी गलत हो भन्ने आमजनधारणा बनेको प्रवक्ता शर्माको भनाइ थियो ।

‘अक्षरशः पढ्नुस्, अनि एमसिसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्’, उनले भने– ‘सुनेको भरमा धारणा बनाउनु हुँदैन ।’ मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसिसी परियोजना लाभदायी हुने उनको तर्क थियो । प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए ।

यस्तै, कोरोना सङ्क्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । केन्द्रीय समितिको निर्देशनबमोजिम कांग्रेस झापाले असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको पार्टीका झापा सभापति उद्धव थापाले जानकारी दिए ।