कांग्रेसद्वारा कोरोनाको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन माग

कांग्रेसद्वारा कोरोनाको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन माग


भीष्मराज ओझा, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई यो विपदबाट जोगाउन सरकारले गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणको नेतृत्वमा सचेतक पुष्पा भुषाल गौतम, सङ्घीय सांसदहरु गगनकुमार थापा, भीमसेनदास प्रधान र राजेन्द्रकुमार केसीसहितको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्रमा सरकारले गरेका सोसम्बन्धी प्रत्येक कामको सदनमा जानकारी गराउन पनि माग गरिएको छ ।

राष्ट्रिय सङ्कटको यस क्षणमा आवश्यक सहयोग र सुझाव दिएर सरकारलाई जवाफदेही बनाउने, जिम्मेवार र पारदर्शी बनाउन निरन्तर दबाब र खबरदारी गर्ने तथा राम्रो काम गर्दा ढाडस र बाटो बिराउन खोज्दा प्रश्न गर्ने आफ्नो भूमिका निरन्तर रहेको प्रमुख सचेतक खाणले बताए। कांग्रेसले कोरोना परीक्षणको दायरा सङ्कुचित बनाउने गरी जारी गरिएको कोभिड–१९ परीक्षणसम्बन्धी निर्देशिकालाई परिमार्जन गरी क्वारेन्टिनमा राखिएका प्रत्येकलाई पिसिआर विधिबाट परीक्षण गरेपश्चात मात्र घर पठाउने व्यवस्था गर्न, स्वाब सङ्कलन भएको हप्तौंसम्म परीक्षणको रिपोर्ट नआउने अवस्था अन्त्य गरी पिसिआर विधिको क्षमता विस्तार गर्न पनि माग गरेको छ ।

क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड कडाइका साथ लागू गरी मापदण्डअनुसार मात्रै क्वारेन्टिन सञ्चालन गर्न, कन्ट्याक्ट ट्रेसिङ क्षमतालाई प्रभावकारी बनाउन, कोरोना सङ्क्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधि, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन शय्या र जनशक्तिको व्यवस्था अविलम्वन गर्न आग्रह गरिएको छ । साथै, कोरोनाबाहेकका अन्य रोगका बिरामीले पाउने सवै सेवा र नियमित स्वास्थ्य सेवा विना अवरोध पाउने सुनिश्चिता गर्नुपर्ने कांग्रेसको माग छ ।

कोरोनाको रोकथाम, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सामग्रीहरुको सन्दर्भमा जोखिमको अनुमानको आधारमा आवश्यक स्वास्थ्य सामग्रीहरु समयमै आपूर्ति गर्ने, भण्डारण गर्ने र प्रयोग गर्नुपर्ने निकायमा पनि समयमै पर्याप्त रुपमा उपलब्ध गराउने व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ । राष्ट्रिय विपत्तिको यस घडीमा स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिक उद्धार, क्वारेन्टिन व्यवस्थापन, राहत वितरणलगायतका विषयमा देखिएको अनियमितता प्रकरण र कोरोना उपचारमा भएको सम्पूर्ण खर्चको विवरण संसदमा अबिलम्ब प्रस्तुत गर्न कांग्रेसले माग गरेको छ ।

यसैगरी जोखिममा रहेका परिवारलाई न्यूनतम राहतका सामग्री उपलब्ध गराउन स्थानीय सरकारलाई आवश्यक स्रोत सुनिश्चित गर्न तथा राहात गुणस्तरीय र वितरण पारदर्शी र व्यवस्थित गर्न माग गरिएको छ । भारतलगायत विदेशमा अफ्ठ्यारोमा परी घर आउन चाहने नेपालीलाई परीक्षण गरेर स्वदेश ल्याउने, क्वारेन्टिनमा राख्ने र परीक्षण गरेर घर पठाउने व्यवस्था गर्न तथा विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउने कार्य गर्न समेत ज्ञापनपत्रमा माग गरिएको छ ।

कांग्रेसले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमजस्ता कार्यक्रम हटाएर स्थानीय तहमा उत्पादनमुखी रोजगारीको व्यवस्था गर्न निर्देशिकासहित स्थानीय तहमा पठाउन माग गरेको छ । त्यस्तै बीऊ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुऱ्याउन, साना तथा ठूलो उद्योग, व्यापारव्यवसायको संरक्षण र यातायात क्षेत्रका श्रमिक मजदूर तथा सञ्चालकलगायत श्रमिक मजदूर र उद्यमीहरूको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस आर्थिक उत्प्रेरणाको प्याकेज घोषणा गर्न पनि कांग्रेसले माग गरेको छ ।

कोरोनाको सङ्क्रमणको बन्द रहेको पठनपाठन पुनः सञ्चालन गर्न विद्यालयको अहिलेकै पूर्वाधार र उत्प्रेरणाको अवस्थामा, सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थी, अपाङ्गता भएका विद्यार्थी वैकल्पिक सिकाइमा समावेश हुन नसक्ने भन्दै कांग्रेसले हाल जारी भएको कार्यविधिमा संशोधन गरी स्थानीय तहलाई आवश्यक स्रोत साधन उपलब्ध गराइ सबै विद्यार्थीको पठनपाठन सुनिश्चिता गर्न माग गरेको छ ।

कांग्रेसको गत जेठ २९ गतेको केन्द्रीय कार्यसमिति बैठकले कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन स्वदेश तथा विदेशबाट एकसाथ ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज काँग्रेस ससंदीय दललले प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।