काङ्ग्रेसले यसरी खिच्दैछ स्वास्थ्यमन्त्रीको ध्यान !

काङ्ग्रेसले यसरी खिच्दैछ स्वास्थ्यमन्त्रीको ध्यान !


नेपाली काङ्ग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा सरकारको तर्फबाट भएका कामका सम्बन्धमा स्पष्ट पार्न र जनस्वास्थ्यमा महासङ्कट आउन नदिन तत्काल संसद्ले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको भन्दै सदनमा जरुरी सार्वजनिक महत्वका विषयमा ध्यानाकर्षणको सूचना दर्ता गराएको छ ।

काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल गौतम र सांसद गगनकुमार थापाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको ध्यानाकर्षणका लागि उक्त सूचना बुधबार (३ असार) दर्ता गराएका हुन् ।

स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित सूचनामा परीक्षणसम्बन्धी मापदण्डको परिमार्जन, पिसिआर विधिबाट हुने परीक्षणको गतिमा तीव्रता र दायरा फराकिलो बनाउनुपर्ने, क्वारेन्टिनलाई प्रभावकारी रूपमा व्यवस्थित बनाउनुपर्ने, कन्ट्याक्ट ट्रेसिङ क्षमतालाई सबलीकरण र विस्तार गर्नुपर्ने, कोरोना सङ्क्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई व्यवस्थित बनाउनुपर्ने, कोरोनाबाहेकका अन्य रोगका बिरामीले सहज उपचार पाउने व्यवस्था गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ ।

यसैगरी स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिक उद्धार, क्वारेन्टिन व्यवस्थापन, राहत वितरणलगायतका विषयमा भएका अनियमितता प्रकरणका घटना र हालसम्म भएको भनिएको रु १० अर्बको खर्चको विवरण, विदेशबाट आउने नेपालीका लागि क्वारेन्टिन, परीक्षण र परामर्शका लागि आवश्यक प्राविधिक तयारीका सम्बन्धमा ध्यानाकर्षण गराइएको छ ।

नेपालमा पछिल्ला दिनमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्था छ र उही असार २ गतेसम्मको अद्यावधिक विवरणअनुसार नेपालमा कोरोनाका भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ हजार ५१९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको र सङ्क्रमण ७३ जिल्लामा फैलिसकेको छ ।