भारतले नेपाललाई वार्ताको प्रस्ताव नगर्ने !

भारतले नेपाललाई वार्ताको प्रस्ताव नगर्ने !


सीमा–विवाद समाधानका लागि वार्ताको वातावरण तयार गर्ने जिम्मा भारतले नेपाली पक्षलाई नै छाडिदिने भएको छ । द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार भारतले अब कुनै वार्ताको प्रस्ताव गर्ने छैन ।

भारतीय विदेश मन्त्रालयको स्रोत उद्धृत गर्दै समाचारमा उल्लेख गरिएअनुसार काठमाडौंलाई वार्ताको परिस्थिति बनाउन खग्रस तुल्याउने गरी भारतले चुप लाग्ने नीति अख्तियार गर्नेछ । नेपालले नयाँ नक्शा जारी गरिसकेको अवस्थामा भारतले वार्ताका लागि बढेको पाइला निकालिसकेको समाचारमा भनिएको छ । टाइम्स अफ इन्डियाले वर्तमान नक्सा–प्रकरणलाई ‘ओली सत्ता’द्वारा जानीजानी उत्पन्न गराइएको परिस्थिति भनेको छ ।

यसअघि द हिन्दुस्तान टाइम्सले विदेश मन्त्रालयको स्रोत उल्लेख गर्दै नयाँ नक्शा जारी गर्नुअघि भारतले विदेश सचिवस्तरीय कुराकानीको प्रस्ताव गरेको उल्लेख गरेको थियो । विदेश सचिवस्तरीय भ्रमणको समेत प्रस्ताव गरेको भनिए पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत वर्षको कात्तिकदेखि सीमा विवादको विषयमा वार्ताको प्रस्ताव गर्दा बेवास्ता भएको जनाएका थिए ।

यसैबीच भारतका सडक परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीले नेपालसँगको सम्बन्धमा कुनै विवाद नरहेको बताएका छन् । नेपाललाई ‘सानो भाइ’ भन्दै मन्त्री गडकरीले पछिल्लो समयमा देखिएका स–साना समस्यालाई सुल्झाएर अगाडि बढ्ने र सम्बन्ध अझ मधुर बनाइने बताए ।

बीबीसी न्यूज (हिन्दी)मा कुरा गर्दै मन्त्री गडकरीले नेपाल–भारत सम्बन्धमा कुनै समस्या रहेको धारणा पनि प्रकट गरे । मन्त्री गडकारीले भारतीय जनता पार्टीको विस्तारवादी नीति नरहेको दाबी गरे भने कालापानी विवादलाई सांकेतिक रुपमा स्वीकार गर्दै नेपालसँग भएका समस्या सुल्झाएर अघि बढ्ने उल्लेख गरे ।

अटल बिहारी बाजपेयीको नेतृत्वदेखि नै आफूहरुको छिमेकमा रहेका साना देशसँग सम्मानजनक सम्बन्ध रहेको भन्दै मन्त्री गडकारीले बाजपेयीले भारतीय जनता पार्टीलाई विस्तारवादी भूमिकामा छैनौँ भन्ने दर्शन दिएको बताए ।

नेपालले ‘सानो भाइ’ होइन समान व्यवहार हुनुपर्छ भन्दै आएको छ नि भन्ने बीबीसीको प्रश्नमा मन्त्री गडकरीले पारिवारिक स्नेहको भावले ‘भाइ’ भनेको तर सम्बन्ध जहिले पनि बराबर सम्मानका साथ अगाडि बढेको जवाफ दिए ।