एमसीसीबारे प्रधानमन्त्रीले छिट्टै बैठक बोलाउने निधिको खुलासा

एमसीसीबारे प्रधानमन्त्रीले छिट्टै बैठक बोलाउने निधिको खुलासा


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका शीर्ष नेताबीच संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साँझ नागरिकता विधेयक र मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बारेमा छलफल गर्न काङ्ग्रेसका शीर्ष नेताहरूलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका थिए ।

बैठकमा सहभागी काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार प्रधानमन्त्री ओलीले नागरिकता विधेयक र एमसीसी बारेमा काङ्ग्रेससँग छलफल गर्न बैठक बोलाएका थिए भने यो बैठक विशेषगरी नागरिकता विधेयकमा केन्द्रित रहेको थियो ।

एमसीसीका बारेमा प्रधानमन्त्रीले छिट्टै अर्काे बैठक बोलाउने र आफूहरूलाई तयार भएर आउनुहोला भन्नुभएको निधिको भनाई छ ।

उक्त बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नागरिकता विधेयकका सम्बन्धमा समितिमा भइरहेको छलफल र सहमतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन् ।

काङ्ग्रेस नेताहरूले विधेयकको वैवाहिक अङ्गिकृत नागरिकताको प्रावधान सम्बन्धमा हाल विद्यमान कानूनको व्यवस्था नै राख्नुपर्ने धारणा राखेका थिए । उनीहरूले विद्यमान कानूनमा परिवर्तन गरे संवैधानिक व्यवस्था र हालको कानूनविपरीत हुने र वैवाहिक अङ्गिकृत नागरिकताको विद्यमान व्यवस्था विवाह गरेर आउने महिलाले पाउने अधिकार भएको तर्क गरेका थिए ।

उपसभापति निधिले काङ्ग्रेसको आधिकारिक धारणा राख्दै वैवाहिक अङ्गिकृत नागरिकताका सम्बन्धमा हाल विद्यमान कानूनमा कुनै संशोधन र परिवर्तनको आवश्यकता नभएको तर्क गरेका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपाका तर्फबाट अर्का अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, नेताहरू सुवासचन्द्र नेम्वाङ र भीम रावल तथा काँग्रेसका तर्फबाट उपभापति निधि, नेताहरू कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, राधेश्याम अधिकारी सहभागी रहेका बताएको छ ।