विभिन्न दलको दबाबमा प्रधानमन्त्री मोदीद्वारा सर्वदलीय बैठक आह्वान

विभिन्न दलको दबाबमा प्रधानमन्त्री मोदीद्वारा सर्वदलीय बैठक आह्वान


चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार (१९ जुन) भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि सो भर्चुअल बैठक बोलाएका प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको एएनआईले जनाएको छ । सो बैठकमा भारतका प्रमुख राजनीतिक दलहरुका अध्यक्षहरुको सहभागिता रहने बताइएको छ ।

भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको थियो । त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । उक्त हिंसापछि भारत र चीनबीच सीमा विवाद बढ्दो रहेको देखिएको छ । यी दुई देशका बीचमा सीमा क्षेत्रको विषयलाई लिएर भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले पनि चासो व्यक्त गरेको बताइएको छ ।

सीमामा भएको यो हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि चासो व्यक्त गरेका थिए । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी भारतीय सैनिकको ज्यान गएको घटनाबारे उनले चासो व्यक्त गरेका थिए ।

साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि हालै मात्र आह्वान गरेका थिए ।

सर्वदलीय बैठकमा २० दल सहभागी हुने

यसैबीच प्रधानमन्त्री मोदीद्वारा आयोजित बैठकमा भारतका २० दल सहभागी हुने जनाइएको छ । केन्द्रिय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दलगायत पनि बैठकमा सहभागी हुने छन् ।

बताइएअनुसार प्रधानमन्त्री मोदीको सिफारिसमा भाजपाका पूर्वअध्यक्ष सिंहले बिहीबार पार्टीका नेताहरुलाई निमन्त्रणा गरेका छन् । राष्ट्रियतासँग सम्बन्धित संवेदनशील र महत्वपूर्ण विषयमा पनि सरकारले पर्याप्त चासो र सक्रियता नदेखाएको र अन्य पार्टीहरुसँग छलफल तथा सहकार्य गर्न नखोजेको भन्दै आलोचनापछि उक्त बैठक आयोजना हुन लागेको हो ।

विषेशगरी आम आदमी पार्टी, आरजेडीलगायतका पार्टीले दबाब दिएपछि सर्वदलिय बैठक बस्न लागेको समाचारमा जनाइएको छ । यही जुन १५ देखि १६ तारिख सम्ममा लद्दाखस्थित ग्वालन भ्यालीलीमा दुई देशका सैनिकहरुका बीचमा झडप भएको र भारत तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको थियो ।