पाकिस्तानको अन्तरसेवा गुप्तचर (इन्टर–सर्भिसेज इन्टिलिजेन्स/आईएसआई) का बलुचिस्तानमा कार्यरत वरिष्ठ अधिकारी ब्रिगेडियर हसन अफजालको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पाकिस्तानी स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार उनी आईएसआईको बलुचिस्तान क्षेत्रको कमाण्डर थिए । पाकिस्तानको विकट प्रान्त मानिने बलुचिस्तानमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार नभएका कारण हसनको मृत्यु भएको आशङ्का गरिएको छ ।
बलुचिस्तानका जनस्वास्थ्य कार्यालयका महानिर्देशक डाक्टर सलिम एब्रोले हालै पत्रकार सम्मेलनमा बलुचिस्तानमा आगामी केही महिना (जुलाई देखि सेप्टेम्बर) भित्र सङ्क्रमित एक लाखभन्दा बढी पुग्ने भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका थिए ।
पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ७१ हजार ६६६
पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६६६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् ।
पाकिस्तानमा प्रति १० लाख जनसङ्ख्या बराबर ७७८ जना कोभिड–१९ सङ्क्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७८७ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।
पाकिस्तानको बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १६३, पञ्जाबमा ६४ हजार २१६, इस्लामावादमा १० हजार २७९ र बलुचिस्तानमा नौ हजार १६२ सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया