बजेट सक्नकै लागि ‘विकास’ गरेकोमा संसदहरूको आपत्ति

बजेट सक्नकै लागि ‘विकास’ गरेकोमा संसदहरूको आपत्ति


पछिल्लो समय चिल्ला बनेका काठमाडौं उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि सडक धुलाम्मे र वर्षाले हिलाम्मे समेत भएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको सोमबार (८ असार) बसेको बैठकमा सांसद्हरूले पहिले सडक बनाउने र यसपछि ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गरे ।

सांसदहरूले पहिले संरचना निर्माण गरेर मात्रै सडक निर्माण गर्दा दोहोरो खर्च नहुने सरकारलाई सुझाव दिए । बैठकमा समितिका सदस्य सञ्जयकुमार गौतमले आवको शुरुदेखि बनेका सडक अहिले खन्ने काम भइरहेको, केही समय पहिले जतासुकै कालोपत्र देखिएका ठाउँहरूमै अहिले धमाधम खन्ने काम भइरहेका र राष्ट्रिय गौरबको आयोजनाको प्रगतिका बिषयमा जानकारी दिन सरकारसित माग गरे । उनले भने– ‘कुनकुन आयोजना कहिले सम्पन्न हुन्छ र त्यसको अहिलेसम्मको प्रगति कति छ जनतालाई जानकारी दिनुपर्छ ।’

समितिका सदस्य गौरीशंकर चौधरीले पहिले पैदलयात्रु मार्ग र ढल बनाएर पछि सडक बनाउनुपर्नेमा त्यसको ठीक विपरित भइरहेको तर्फ सरकारको ध्यान जाओस् भन्दै समन्वयको अभावमा पहिले सडक चिल्लो बनाउने पछि भत्काउने भइरहेकोप्रति आपत्ति जनाए ।

अर्का सदस्य आशाकुमारी बिकले दुर्गम जिल्लामा योजना वर्षेनी दोहोरिने तर निर्माण कहिल्यै सम्पन्न नहुने समस्या रहेको गुनासो गर्दै भनिन्– ‘वर्षेनी किताबमा बजेट आउने तर योजना नसकिने हुँदा समस्या कहाँ छ भनी खोजी गर्न जरुरी छ ।’

समिति सदस्य केदार सिग्देलले मेलम्चीको पानी असारसम्ममा काठमाडौंमा झारिसक्ने प्रतिबद्धता भए पनि त्यसअनुसार काम भएको वा नभएको भनी समितिलाई जानकारी नभएको टिप्पणी गरिन् ।

अर्का समिति सदस्य लीलानाथ श्रेष्ठले समितिले दिएका धेरै निर्देशनको पालना नभएको र समितिले बिगतमा हुलाकी राजमार्गमा एउटै मापदण्डको सडक निर्माण गर्न मन्त्रालयलाई निर्देशनलाई बेवास्ता नगर्न आग्रह गरे ।

समितिका सदस्य गणेशकुमार पहाडीले मेलम्ची खानेपानी आयोजनाको प्रगतिका बारेमा सम्बन्धित समिति विकास समिति नै बेखवर रहेको औंल्याए । अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनु मात्रै भन्दा त्यो पानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाई छ ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि असारे बजेट सक्ने गरी काम भइरहेकोमा चिन्ता व्यक्त गरिन् । राष्ट्रिय गौरबका आयोजनामा रहेका समस्या हटाएर समयमै सम्पन्न गर्नुपर्नेमा उनको जोड छ । उनले तयारी राम्रो नभए मेलम्चीको पानीले काठमाडौंमा बाढीको समस्या आउन सक्ने धारणा राखिन् ।

image courtesy: rss