सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बुधबार बालुवाटारमा बस्दै

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बुधबार बालुवाटारमा बस्दै


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार (१० असार) बस्ने तय गरिएको छ । बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विशेषतः एमसीसीको विषयमा छलफल हुने सो पार्टीका एक केन्द्रिय नेताले जानकारी दिए ।

यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो ।

बताइए अनुसार बुधबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने जनाइएको छ ।

नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले बैठकका लागि कुनै कार्यसूची आफूहरुलाई नदिइए पनि सरकार र दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकताका बाँकी विषयमा छलफल हुने बताए भने अर्का स्थायी कमिटी सदस्य देवन्द्र पौडेलले सरकारको कामको समीक्षा, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी), बजेट र कोभिड–१९ का बारेमा बैठकमा छलफल हुने जानकारी दिए ।