प्रस्तावित नागरिकता संशोधन विधेयकको विरोधमा प्रदर्शन

प्रस्तावित नागरिकता संशोधन विधेयकको विरोधमा प्रदर्शन


एस क्षेत्री, कपिलवस्तु

सरकारद्वारा प्रस्तावित नागरिकता संशोधन विधेयकको विरोधमा कपिलवस्तुको तौलिहवामा विरोध प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुको अगुवाइमा सदरमुकाम तौलिहवा बजारको परिक्रमा गर्दै प्रशासन चोकमा पुगी विरोधसभा कोणसभामा परिणत भएको थियो । विरोधसभामा सहभागीले प्रस्तावित नागरिकता संशोधन विधेयक फिर्ता लिनुपर्ने, नागरिकता ऐन २०६३ लाई निरन्तरता दिनुपर्ने, कम्युनिष्ट सरकारले जनताको मनोभावनाविपरीतका काम रोक्नुपर्ने लगायतका मागसहितका प्लेकार्ड लिएका थिए ।

जिल्ला प्रशान कार्यालय चोकमा विरोध कार्यक्रमपछि भएको कोणसभालाई सम्बोधन गर्दै जसपाका केन्द्रस्तर र जिल्लास्तका नेताले सरकार कोरोना संक्रमणका बीच भ्रष्टाचारमा लिप्त भएको, मधेसका नागरिकको अधिकार कुन्ठित गर्न लागेको लगायतको आरोप लगाउँदै प्रस्तावित विधेयक खारेज नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

विरोधसभालाई सम्बोधन गर्दै जसपा जिल्ला युवा नेता संदिप कुमार पाण्डेयले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको तर नागरिकको स्वास्थ्यको चिन्ता नलिएको बताए । आफ्ना असक्षमता लुकाउन सरकारले नागरिकतामा विभेदका विषय उठाएको उनले प्रष्ट पारे । नश्लिय मानसिकताका शासकद्वारा प्रस्तावित विधेयक खारेज नगरिए पुनः कडा आन्दोलन गरी कम्युनिष्ट शासन हटाइदिने अर्का युवा नेता शैलेन्द्र कुमार यादवले चेतावनी दिए । पूर्वराजाका बुहारीदेखि कतिपय गरिव घरका बुहारीसमेत विदेशबाट विवाह गरेर आएका भए पनि तिनले हालसम्म कहाँ कहाँ राष्ट्रघात गरे भन्दै उनले प्रश्न उठाए ।

महाकाली र कोशीनदी बेच्नेहरुले नै राष्ट्रिय एकतालाई खल्बल्याउन कुचेष्टा गरेको जसपाका नेताहरु कैलाश अग्रहरी, अब्दुल रसिद खाँ र नारायण खनाललगायतले आरोप लगाए । विधेयक राष्ट्रघाती रुपमा आएको स्पष्ट पार्दै आफ्नो अधिकार र पहिचानका लागि सदयौँदेखि आन्दोलन गर्दै आएकोले विधेयकविरुद्ध पनि आन्दोलनको मोर्चा कस्ने जसपाका केन्द्रिय नेता रविदत्त मिश्राले बताए ।

पहिले वैवाहिक अंगिकृत नागरिक दिने व्यवस्था रहेकोमा कुनै विवाद नभएका अवस्थामा पनि संशोधनको व्यवस्था गरेर मधेसी जनतालाई अधिकारविहीन बनाउने प्रयत्न शूरु गरिएको उनको आरोप थियो । वैवाहिक अंगिकृत नागरिक दिने व्यवस्था यथावत राख्ने गरि विधेयक फिर्ता नभए आफुहरुले आन्दोलन गरेरै भए पनि अधिकार लिएरै छोड्ने नेता मिश्राले दाबी गरे ।