‘मित्र शक्ति’लाई धोका दिएपछि चीनलाई पश्चाताप !

‘मित्र शक्ति’लाई धोका दिएपछि चीनलाई पश्चाताप !


■ डा. अम्बरिस पोख्रेल

१. नेपालीहरूले गरी खाउन्, वार्षिक दुई–चार अर्ब रुपैयाँ पर्यटक तथा पर्वतारोहीबाट भए पनि कमाई गरून् भनेर वास्ता नगरी बसेको थियो कम्तीमा पनि छ दशकसम्म (६० वर्ष) चिनियाँ सरकारले । खासमा, पहाडको टुप्पो–टुप्पो (ridge) हुँदै हाम्रो उत्तरी क्षेत्रमा सीमा तोकिएको हो ।

२. तर केही वर्षदेखि विशेषगरी गत ११–१२ वर्षदेखि नेपालले चिनियाँ भूमिविरुद्ध नेपालमा अनेक हतकण्डा गराउँदै आएको कुरा प्रष्ट थियो । अझ त्योभन्दा अगाडि, एक जना नेपालका प्रधानमन्त्री तिब्बततिर घुम्न समेत गएका थिए, चीनी सरकारको निमन्त्रणा बिना पनि ! यसरी नेपालबाट सकेसम्म चिनियाँ भूमि बिरुद्द अनेक काम भइरहेका छन्, जुन कुरा घामजत्तिकै छर्लङ्ग छ ।

३. त्यही कारण होला सायद अब चिनियाँहरूले सगरमाथाको आफ्नो उत्तरी भागमा आफ्ना सुरक्षा यन्त्रहरू जडान तथा रणनैतिक अन्य योजनाअनुरुप केही गतिविधि सञ्चालन गर्दै छ, जुन स्वाभाविक हो । उसले केही न केही त गर्नुपर्ने आवश्यकता भइसकेको कुरा हामी नेपालीले नेपालबाटै समेत देख्न र अनुभव गर्न सक्छौँ ।

४. नेपालको पुरानो हितैषी ‘मित्र शक्ति’ राजदरबारलाई धोका दिएको चिनियाँले त्यसको मूल्य चुकाउने कुरा स्वाभाविक हो, चुकाउँदै छ । पश्चाताप पनि गर्दै होला ।

५. एक जना चिनियाँ कम्युनिस्ट पार्टीको ‘पार्टी सदस्य’ प्रोफेसरलाई मैले सन् दुई हजार चौध (२०१४) मै प्रष्ट भनेको थिएँ, ‘दरबारलाई दिएको धोका महँगो सावित हुन्छ, तिमीले दशक पनि कुर्नु पर्दैन, हेर्दै जाउ ।’ यो सुन्दा उनी मसँग अचम्मित भएका थिए ! मलाई सोधेका थिए– ‘के तिमी नेपालको गुप्तचर विभागमा पनि जब गर्छौ ? त्यो समय, जबकि नेपालले (योगप्रसाद उपाध्याय नामको एक …मार्फत) आफ्नो ‘राष्ट्रिय सुरक्षा गुप्तचर शाखा’लाई विदेशीको निर्देशनमा बहुदल आउने बित्तिकै विघटन गरिसकेको थियो । त्यो समयमा मलाई नेपालमा पनि एमसीसी आउँदैछ भन्ने कुरा त अझ थाहा पनि थिएन !

६. मैले सोचेकोभन्दा छिटो र अझ महँगो मूल्यमा चीन सरकारले पश्चात्ताप गर्दै गरेको अवस्था देखिन्छ । गरोस्, जबकि नेपाल यसै पनि ‘तबाह’ हुँदै छ, गरिँदै छ । अस्तु ।