नेकपाको स्थायी कमिटी बैठक आगामी शुक्रबार पुनः बस्ने गरी सम्पन्न

नेकपाको स्थायी कमिटी बैठक आगामी शुक्रबार पुनः बस्ने गरी सम्पन्न


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बुधबार (१० असार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आआफ्ना मन्तव्य व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले समग्र परिस्थितिका बारेमा बैठकको शुरुमै आफ्नो धारणा राखेका थिए भने प्रचण्डले पनि वर्तमान परिस्थितिमा सरकार, पार्टी एवम् समग्र परिस्थितिलाई केन्द्रबिन्दुमा राखेर छलफल गरी निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका बताइन्छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएअनुसार अध्यक्षद्वयले सरकार, पार्टी र समग्र स्थिति तथा वर्तमान चुनौती र अवसरबारे विचार व्यक्त गरेका थिए । कम्युनिष्ट विचारको आदर्श, मूल्यमान्यता र जनतमतका आधारमा सकारात्मक र नकारात्मक स्थितिको समीक्षा गरी सरकार र पार्टीलाई अगाडि बढाउनुपर्नेमा दुवै अध्यक्षले जोड दिएका थिए ।

यस्तै, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पोरेशन सहायता (एमसिसी) र विविध कार्यसूची बैठकले अनुमोदन गरेको बताइएको छ भने विविधमा रुकुम (पश्चिम)मा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक र सङ्घीय सांसद्को भत्ताका कार्यसूची पनि अनुमोदन भएको छ ।

बैठकमा प्रस्तावित कार्यसूचीहरु महासचिव विष्णु पौडेलले अध्यक्षद्वयका तर्फबाट प्रस्तावित गरेका थिए । ती कार्यसूचीमाथि स्थायी कमिटी सदस्यहरुले थप सुझावका रुपमा राखेका थिए । त्यसपछि बैठकका एजेण्डा थप गर्दै सातवटा पारिएको थियो ।

बुधबारदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आगामी शुक्रबार पुनः बस्ने गरी सकिएको छ ।