सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सीमा-विवादमा केन्द्रित

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सीमा-विवादमा केन्द्रित


गत बुधबारदेखि शुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटीको शुक्रबारको बैठक शनिबार (१३ असार) बस्ने गरी टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा स्थायी कमिटी सदस्यहरुले भारतसँगको सीमाविवाद बारे आफ्ना मन्तव्य दिएका बताइएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ‘कामविशेषले अनुपस्थित’ रहेको शुक्रबारको बैठकमा सीमा विवादबारे ब्रिफिङ गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले पटक–पटक वार्ताका लागि कोशिस गर्दा पनि भारत इच्छुक नदेखिएको जानकारी गराएका छन् । भारतले नेपाली भूभाग समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि गत नोभेम्बर, डिसेम्बर र जनवरीमा वार्ताका लागि कोशिस गरे पनि भारत इच्छुक नदेखिएको जिकिर गर्दै उनले भारत वार्ताका लागि सकारात्मक नरहेको आफूलाई लागेको बताएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग भएको भनिएको सीमा विवाद निराधार भएको दाबी समेत बैठकमा गरेका थिए ।

भारतसँगको सीमा विवादको विषयमै केन्द्रीत रहेको बैठकमा नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरेको पहलको प्रशंसा गर्दै नेताहरुले कूटनीतिक सम्वाद गर्नुपर्नेमा जोड दिएका बताइएको छ ।

नेताहरुले बोल्ने क्रम जारी रहेकोले बैठक शनिबार पनि बस्ने सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।