नेकपाको बैठकमा अध्यक्षद्वयबीच भनाभन, कार्यसूची अलपत्र

नेकपाको बैठकमा अध्यक्षद्वयबीच भनाभन, कार्यसूची अलपत्र


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भनाभन भएको छ । ‘भारतविरुद्ध बोलेर पार्टीको प्रतिष्ठा खस्काएकोु भन्दै प्रचण्डले ओलीमाथि आरोप लगाएपछि बैठकमा दुई अध्यक्षबीच भनाभन चलेको थियो । गत आइतबार प्रधानमन्त्री ओलीले मदन भण्डारी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नयाँ नक्सा जारी गरेपछि बाह्य षडयन्त्रमा पार्टीभित्रका नेताहरुसमेत मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएका थिए ।

मंगलबारको बैठकमा सो अभिव्यक्तिबारेको विषय कोट्याउँदै प्रचण्डले ओलीमाथि प्रहार गरे । उनले ‘भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन’ भनेपछि ओली पनि आक्रोशमा आएका बताइएको छ । प्रचण्डलाई जवाफ दिँदै उनले हाम्रो बैठकमा भएका कुरा जस्ताको तस्तै भारतीय मिडियाबाट कसरी प्रसारित भए भनी प्रश्न गर्दा प्रचण्ड रातोपिरो बनेका बैठकका एक सहभागीले बताए ।

अध्यक्षद्वयबीच यसरी भनाभन भएपछि बैठकको माहोल नै बिग्रियो ।

‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, प्रधानमन्त्री ओलीले कडा ढंगले यसरी प्रश्न गरेपछि प्रचण्ड पनि ‘प्रधानमन्त्री र अध्यक्ष पद छोड्न भारतले नभई आफैले भनेको’ भन्दै रन्किएका थिए ।

ज्ञातव्य छ, यही असार १० गते शुरु भएको नेकपाको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण स्थगन भएको थियो । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र विविध कार्यसूची छ ।