सत्तारुढ नेकपाको अन्तरपार्टी विवाद थप गहिरिँदै

सत्तारुढ नेकपाको अन्तरपार्टी विवाद थप गहिरिँदै


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउने भन्दै प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र सहअध्यक्ष प्रचण्डबीच आइतबार (२१ असार) बालुवाटारमा छलफल भए पनि कुनै समाधान निकाल्न नसकेका बुझिएको छ ।

आ–आफ्ना विश्वासपात्रहरूलाई समेत ‘साक्षी’को रूपमा छलफलमा सहभागी गराई दुई अध्यक्षहरूले वार्ता गरेका थिए । सो अवसरमा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन सहभागी रहेका बताइएको छ । छलफल सकिए पनि औपचारिक रूपमा कुनै प्रतिक्रिया सार्वजनिक गरिएको छैन ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले आाफ्ना विश्वासपात्र एवम् नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न पठाएका छन् । नेम्वाङले देउवा निवास बुढानिलकण्ठ पुगेर केपीको सन्देश दिनुका साथै कुराकानी गरेका छन् । नेम्वाङलाई देउवाकहाँ किन पठाइएको हो र के कुराकानी भए भन्ने पनि रहश्यमै रहेको छ ।

यसअघि आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रचण्ड, झलनाथ खनाल र माधव नेपालले भेटवार्ता गरेका थिए । नेकपामा विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी आज (असार २१)का लागि तोकेको थियो ।

यही असार १० गतेदेखि चालू स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । स्थायी कमिटी बैठकको पूर्वनिर्धारित कार्यसूचीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसी कम्प्याक्ट (सम्झौता) लगायत छन् ।

संसद् नभएको स्थितिमा राजनीतिक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्युँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् भने प्रचण्डले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शविना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन् ।

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेवापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भए पनि नक्शा छापेवापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएपछि नेकपाको आन्तरिक राजनीति तरङ्गित रहँदै आएको छ ।