पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न भन्दै छलफलमा बसेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहअध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आज पनि (बिहीबार, १ साउन) कुनै निचोडमा पुग्न सकेनन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल कुनै ठोस सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि पुष्टि गरेका छन् ।
प्रधानमन्त्री निवासमा त्रयनेताको छलफलअघि प्रचण्ड र नेता नेपालसहितका नेताहरुको बिहीबार नै प्रचण्डनिवास खुमलटारमा छलफल भएको थियो । शीर्ष नेताबीच पार्टी र सरकारको समन्वय, शक्ति बाँडफाँट, कोरोना रोकथाम, अमेरिकी सहायता मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) सम्झौता आदि विषयमा विवाद छ ।
पार्टी एकताका बाँकी कामको कार्यसूची पनि स्थायी कमिटीको बैठकमा तय गरिएको छ । पटकपटक स्थगन भई गत असार २६ गतेका लागि तोकिएकोे स्थायी कमिटीको बैठक सात दिनपछि साउन २ गते बस्नुअघि शीर्ष नेताबीच घनीभूत छलफल हुन थालेको सम्बद्ध पक्षको दाबी छ ।
गत असार २६ गते देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिइएको थियो ।
ज्ञातव्य छ, स्थायी कमिटीको बैठक असार १० गतेदेखि शुरु भएको थियो ।
प्रतिक्रिया