‘विदेशमा हवाई उडानहरू शुरु भए, नेपालमा पनि नियमित गरियोस्’

‘विदेशमा हवाई उडानहरू शुरु भए, नेपालमा पनि नियमित गरियोस्’


पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाहरूले अगष्ट १ बाट आन्तरिक हवाई उडानहरू नियमित गर्न सरकारसँग माग गरेका छन् ।

पर्यटनसँग सम्बन्धित विभिन्न ३५ वटा संस्थाले आन्तरिक उडानसँगै अगष्ट १५ बाट अन्तर्राष्ट्रिय तालिकाका उडानहरू सुचारु गरी सीमा नाकासमेत खोल्न माग गरेका हुन् ।

आन्तरिक तथा बाह्य उडान ठप्प भएसँगै नेपाली पर्यटन उद्योग शून्य अवस्थामा पुगेको भन्दै उनीहरूले स्वास्थ्य सुरक्षा अपनाउँदै उडान खोल्न दबाब दिएका छन् । व्यवसायीले समग्र पर्यटन गतिविधिसँग जोडिएको हवाई सेवा नियमित नभएको अवस्थामा नेपालीले महँगो शुल्क तिर्न बाध्य भएको भन्दै यसले व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताए ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल वायुसेवा सञ्चालक सङ्घ (आयोन) होटल एशोसिएशन अफ नेपाल (हान), नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाटा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए) लगायतका संस्थाहरूले कोभिड–१९ महामारीका कारण व्यवसाय बन्द हुँदा व्यवसायीहरूको असीमित दायित्व बढ्न गई ऋणात्मक अवस्थामा पुगेको र १०औँ लाखको रोजगारी तथा खर्बौँको लगानीसमेत सङ्कटमा परेको गुनासो गरे ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि लागू गरेको बन्दाबन्दीका कारण हाल आंशिक खुलापन आए पनि होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायातलगायत समग्र पर्यटकीय क्षेत्रहरू पूर्णतः बन्द नै छन् । पर्यटकीय सवारी साधन, स्वास्थ्य सुरक्षासम्बन्धी उपायहरू पालना गरी निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गर्दै व्यवसायीले उल्लेखित सेवाका साथै पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरू विस्तारै सुचारु गर्न तथा नेपाली पर्यटन क्षेत्रलाई चलायमान बनाउनेतर्फ तत्काल पहल गर्न अनुरोध गरेका छन् ।

पत्रकार सम्मेलनमा आवोनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विदेशमा समेत सुरक्षा अवलम्बन गर्दै उडानहरू शुरु भइरहेको अवस्थामा नेपालमा पनि उडान खोल्नुपर्ने बताए । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान), आवोन तथा विभिन्न निजी वायुसेवा कम्पनीहरूले आफैँ पनि सुरक्षा प्रोटोकल बनाएर तयारी गरिरहेका अवस्थामा सरकारलाई तत्काल उडान खोल्ने तयारी गर्न उनले आग्रह गरे ।

हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोभिडका कारण पर्यटन व्यवसाय चौपट भएको व्यवसायीको मर्का बुझिदिन सरकारको ध्यानाकर्षण गराए भने नाट्टाका अध्यक्ष अच्युत गुरागाइँले पर्यटन व्यवसायलाई बचाउन सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै उडान सञ्चालन गरिनुपर्ने बताए ।

यस्तै, एनएमएका महासचिव कुलबहादुर गुरुङले पर्यटन व्यवसायलाई विस्तारै चलायमान बनाउन उडान खोल्नुपर्ने धारणा राखे । टानका अध्यक्ष खुम सुवेदीले कोभिड–१९ ले विश्वमा पारिरहेको प्रभावलाई हेर्दा तुरुन्त पूर्ववतः अवस्थामा फर्कन नसक्ने देखिएकाले अन्तर्राष्ट्रिय अभ्यास र अनुभवसमेत हेरी सेवाहरू शुरु गर्नुपर्ने सुझाव प्रस्तुत गरे ।