राष्ट्रिय सङ्कट गहिरिएको छ, जे पनि हुन सक्छ !

राष्ट्रिय सङ्कट गहिरिएको छ, जे पनि हुन सक्छ !


■ केशवप्रसाद भट्टराई

हाम्रो वर्तमान सङ्कटका मूलतः सात पाटा छन्-

पहिलो– ओली, प्रचण्ड र माधव नेपालहरूको नितान्त व्यक्तिगत, अराजक र सिद्धान्तहीन महत्वाकांक्षा,
अनि आफ्नो राजनीतिक भविष्यको सुरक्षाको चिन्ता र त्यस विरूद्धका उनीहरूका दृष्य–अदृष्य आन्तरिक र वाह्य साँठगाँठ र षड्यन्त्र ।

000

दोस्रो– संविधान र शासन व्यवस्थावीच बेमेलको सैद्धान्तिक स्थिति । जस्तो, राज्यले कुनै दर्शनलाई आफ्नो लक्ष्य बताउनु भनेको संविधानले नै एकदलीय अधिनायकवादको बाटो खोल्नु हो ।
त्यसको स्वाभाविक परिणाम नै मुलुक एकदलीय अधिनायकवादतर्फ क्रमशः लागेको अवस्था छ ।
त्यो भनेको, स्पष्ट रूपमा नेपालको संविधानले समाजवादलाई आफ्नो लक्ष्य उल्लेख गरेर समाजवादलाई राज्य दर्शनको रूपमा स्वीकार गरेको र दुई तिहाई बहुमतको कम्युनिस्ट पार्टीमाथि पार्टीभित्र र बाहिरबाट समाजवादको बाटोमा जान निरन्तर दबाब परिरहेको तर सामान्य संवैधानिक बाटोबाट त्यो सम्भव नभएको अवस्थामा मुलुकलाई त्यस्तो अधिनायकवादतर्फ लैजाने प्रयाश विभिन्न कोणबाट भइरहेको छ ।
सत्तारूढ दलको नेतृत्व र सरकारमा बस्नेहरू फरक मत र दृष्टिकोणका होलान तर अवशर नपाएका, कम्युनिस्ट विचार धारामा दीक्षित र शिक्षित हजारौँ हजार व्यक्तिहरू यो अवसरको अत्यधिक उपयोग गरेर उनीहरूले स्वीकार गरेको जनवादी व्यवस्थामा प्रवेश गर्न दवाव निर्माण गरिरहेका छन् ।
सतहमुनी कम्पन पैदा गरिरहेका छन् ।
नेपालको कम्युनिस्ट पार्टीको शक्तिको अवस्था र समाजवादलाई राज्य दर्शनको रूपमा गरिएको स्वीकृतिले नेपालका मात्रै होइन संसारभरका कम्युनिस्टहरूले नेपालको कम्युनिस्ट पार्टीलाई नयाँ आशा र उत्साहकासाथ हेरिरहेका छन् ।
सहयोग र समर्थन गरिरहेका छन् ।
सत्तारूढ दलमाथि दवाव पनि निर्माण गरिरहेका छन् ।
चीनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको सम्बन्धका विभिन्न आयामहरू त्यसैको एउटा दृष्टान्त हो ।
चीन घोषित रूपमा नै प्रो–एक्टिभ डिप्लोमेसीमा नेपालमा सशक्त रूपमा उपस्थित भएकोलाई यसरी बुझ्न सकिन्छ ।
भारतका कम्युनिस्ट पार्टीहरू र अन्यहरू पनि लागिरहेकै छन् ।

000

तेस्रो– स्वाभाविक रूपमा त्यस्तो अधिनायकवाद तर्फको सैद्धान्तिक यात्रालाई रोक्ने छेक्ने अभ्यास पनि भइरहेको छ ।
त्यस्तो अभ्यास यसको संसदीय चरित्रले गरिरहेको छ ।
सत्तारूढ दलकै संसदीय प्रजातन्त्रका मूल्य र विधिहरूमा लामो समय देखि अभ्यस्तहरूको एउटा ठूलो पङ्क्ति नै त्यसमा संलग्न छ ।
त्यस्तो संसदीय चरित्र अनुसार विभिन्न मुलुकका प्रजातान्त्रिक शक्तिहरू पनि नेपालको प्रजातन्त्रको रक्षाकोलागि त्यसरी नै लागि परिरहेका छन् ।
यसरी नेपालको राजनीतिमा विश्वका कम्युनिस्ट र प्रजातान्त्रिक शक्तिहरू आपसमा जुधिरहेका छन् ।
त्यस्तो जुधाई यहाँको सत्तारूढ दलभित्र पनि छ र बाहिर पनि ।
नेपालको वर्तमान द्वन्द्वपछाडि यसरी त्यस्तो वाह्य पक्ष समेत संलग्न छ ।

000

चौथो– नेपालका प्रमुख राजनीतिक दलहरू र केही वाह्य शक्तिहरूले राजा, यहाँको धर्म, संस्कृति, परम्परा र सामाजिक पद्धतिलाई नेपालमा आफ्ना राजनीतिक र रणनीतिक लक्षहरूमा वाधक देखे ।
त्यसैले राजसँस्था हटाइयो र भविष्यमा राजसँस्थाको सम्भावित पुनरागमन रोक्ने, छेक्ने उद्देस्यले राजसँस्थाका सामाजिक र सांस्कृतिक आधारहरूलाई भत्काइयो ।
राज्यको एकात्मक चरित्र पनि त्यस्ता राजनीतिक र रणनीतिक लक्षहरूमा वाधक देखिएकोले त्यसलाई पनि भाँच्ने उद्देस्यले उद्दण्ड र अराजक जातीय राज्य दर्शन, धर्मनिरपेक्षता र संघीयता ल्याइयो ।
राजनीतिक उद्दण्डता, अराजकता र जातीय र क्षेत्रीय घृणा, द्वेष र कुण्ठाको खेती गरेर राष्ट्र र राज्यलाई भाँच्न र भत्काउन त सकियो तर राज्य र राष्ट्रको एकता र सद्भावलाई बोक्ने सँस्था र संरचना निर्माण गर्न सकिएन ।
त्यो उनीहरूको स्वभाव, संस्कार र क्षमताको कुरा पनि थिएन ।
त्यसबाट उत्पन्न स्थितिकै परिणाम राजनीतिक र शासन संचालन र न्युनतम सेवा प्रदायन क्षेत्रमा मात्र नभएर विभिन्न सामाजिक, आर्थिक, वित्तीय र व्यापारिक तथा विभिन्न सेवा र व्यवशाय क्षेत्रमा देखिएको चरम अराजकता र अव्यवस्था हो ।
त्यसरी उत्पन्न उत्पन्न अराजकता र अव्यवस्थालाई सामान्य संसदीय राजनीतिले सम्बोधन गर्न नसकिरहेको अवस्थामा जनमत र मुलुक राज्य संयन्त्र क्रमशः अधिनायकवाद मैत्री बन्दै गएको देखिन्छ ।
तर संसदीय व्यवस्था त्यहाँ फेरि बाधक बनिरहेको छ र त्यसले प्रणालीमा दबाब, तनाव र द्वन्द्व निर्माण गरिरहेको छ ।
त्यसैले संसदीय व्यवस्थालाई नै यहाँ पनि सङ्कटको श्रोतको रूपमा बुझ्ने र बताउने गरिएको छ ।
स्थायी सरकार भनेर चिनिने प्रशासन यन्त्रमाथि दोष थोपरेर चोखो हुने चरम गैर जिम्मेवार र अनुत्तरदायी दाऊ खेलिँदै छ ।

000

पाँचौँ– भारतसँग हाम्रा समस्या, विवाद, द्वन्द्व र तनाव छन् ।
भारतसँगका सताव्दियौंदेखिका हाम्रा धार्मिक, सामाजिक, साँस्कृतिक सम्बन्ध छन् ।
त्यसमा भूगोलका सीमा शिक्षा र सन्देश पनि मिसिएका छन् ।
फेरी त्यसैमाथि मुलुकको रणनीतिक हित, स्वार्थ र हाम्रा सत्ताधारी समूह र राजनीतिक दलहरूका स्वार्थ र महत्वाकांक्षाहरू बीचको अन्तरघुलनबाट दशकौँ देखि नेपालको परराष्ट्र नीति र आन्तरिक राजनीतिले एउटा चरित्र ग्रहण गरेको थियो र छ ।
दुई मुलुक बीचको त्यो सम्बन्धले हाम्रालागि समस्या पनि उत्पन्न गरेको थियो,
नेपालको विदेश नीति र आन्तरिक राजनीतिको त्यो चरित्रले नै भारतसँगका हाम्रा समस्या, विवाद, द्वन्द्व र तनावहरूलाई सम्बोधन पनि गर्ने गर्दथ्यो ।
हाम्रो त्यो सम्बन्धका लाभ पनि थिए र हानी पनि थिए र छन् ।
हामीले हानी त हेऱ्यौँ तर लाभ हेर्न सकेनौँ, लाभलाई जगेर्ना गर्ने बारे सोचेनौँ ।
लाभजति दलका व्यक्तिले लिने,
सरकार र सत्ता मा बस्नेले लिने र हानी जति मुलुकलाई पार्ने क्रममा हामी लामो समय लागिरह्यौँ ।
नेपाली राजनीति र वौद्धिक समुदायको एउटा समूह नेपालको भारतसँगको सम्बन्धलाई ‘विशेष सम्बन्ध’ले सम्वोधन गर्न चाहँदैन ।
तर विभिन्न आधारमा दुई मुलुकबीचको सम्बन्ध विशेष नै छ ।
खुला सीमाना एउटा टड्कारो उदाहरण हो ।
भारतसँगको सम्बन्धको विशेष चरित्र त्यसबाट उत्पन्न हुने चुनौतीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने उद्देश्यले चीनसँगको सम्बन्ध विस्तारलाई रणनीतिक रूपमा उपयोग गर्ने एउटा शक्तिशाली आन्तरिक र वाह्य पक्ष पनि मुलुकमा क्रियाशील भइरहेको र सम्बन्धको त्यस्तो विशेष चरित्रलाई समय अनुरूप सामान्य समायोजन गरेर कायम राख्नु पर्दछ भनेर अर्को त्यस्तै पक्ष पनि क्रियाशील रहेको अवस्थामा दुई मुलुकभन्दा परका शक्ति राष्ट्रहरूको रूची र स्वार्थ समेत त्यसमा मिसिएको तर नेपाली राजनीतिले एउटा सहज, व्यवहारिक र मान्य समाधान दिन नसकिरहेको अवस्थाले पनि नेपालको राजनीतिमा सङ्कट थपिरहेको छ ।
स्पष्ट शब्दमा भन्दा, चीन लगायतका मुलुकमा आड लागेर बढी लाभ लिने, खोज्ने क्रममा हाम्रा राजनीतिक आग्रह र कुण्ठा समेत मिसाएर अब हामीले भारतसँगको सम्वन्धको त्यो चरित्रलाई संरचनात्मक रूपमा नै अन्त्य गर्ने प्रयाश गरिरहेका छौँ ।
भगवान रामचन्द्र र अयोध्याबारेको हालैको प्रधानमन्त्रीको टिप्पणी भारतसँग विद्यमान जनस्तरका त्यस्ता सघन र बहु आयामिक धार्मिक, सांस्कृतिक र सामाजिक सम्वन्धलाई तोडेर त्यसलाई औपचारिक सरकारी स्तरमा सीमित गर्ने रणनीतिक उद्देस्यले आएको देखिन्छ ।
यस्ता कुराहरूले उत्पन्न गर्ने तनाव र दवाव हाल हामीले विभिन्न रूपमा सामना गरिरहेका छौँ ।

000

छैठौँ– कुनै पनि मुलुकको राष्ट्रिय सुरक्षा भनेको मित्र राष्ट्रहरूसँगको सम्वन्धको सुरक्षा पनि हो ।
कथित क्रान्तिकारी नारा र राजनीतिक महत्वाकांक्षाको लडाईमा हामीले भारत र अमेरिका जस्ता मुलुकहरूसँगको सम्वन्धमा आफ्नालागि भन्दा पनि अरूकालागि पनि तनाव र द्वन्द्व बेसाइरहेका छौँ ।
त्यो द्वन्द्व र तनाव हाम्रो राजनीतिक सङ्कटको चरित्रमा रूपान्तरण हुँदैछ र भइरहेको छ ।

000

सातौँ– पहिला कुनै स्थान विशेषमा राष्ट्र निर्माण हुन्छ र त्यसले कालान्तरमा राज्यको स्वरूप ग्रहण गर्दछ ।
यस्तो राष्ट्र र राज्य निर्माणको प्रक्रिया प्राकृतिक हुन्छ र सयौँ वर्ष लगाएर यो प्रक्रिया पुरा हुन्छ ।
बीसौँ सताब्दीमा आएर राष्ट्र र राज्य निर्माणका कृत्रिम प्रक्रिया आरम्भ भए उदाहरण पाकिस्तान र बङ्गलादेश हो ।
आज आएर पनि नयाँ नयाँ पाकिस्तान र बङ्गलादेशहरू खडा गरिदै छन् ।
पछिल्लो उदाहरण दक्षिणी सुडान हो ।
लेनिन र स्टालिनले कृतिम राज्यको रूपमा सोभियत सङ्घ निर्माण गरे ।
सत्तरी वर्ष सम्ममा त्यसले राज्यको रूपमा स्थिरता पाएन ।
माओको चीन त्यस्तै नियति भोग्दै थियो ।
देङ्ग र उनका उत्तराधिकारीहरूले आफूलाई सच्याए र पुरानो चीनको राष्ट्रिय परम्परा र संस्कृतिसँग कम्युनिस्ट शासन प्रणालीलाई जोडेर त्यसलाई राजनीतिक र ऐतिहासिक वैधता दिने कोशिश गरे र गरिरहेका छन् ।
आजको राज्य व्यवस्थालाई आज भन्दा २५–२६ सय वर्ष अघिका कन्फ्युसससँग जोडिरहेका, आफूलाई एउटा प्राचीन सभ्यताको प्रतिनिधि राष्ट्रको रूपमा प्रस्तुत गर्न थालेका छन् ।
तर नेपालमा गिरिजाप्रसाद, प्रचण्ड–बाबुराम र माधव नेपालहरूले नेपाल राष्ट्रको ऐतिहासिक पहिचानलाई मेटेर, मासेर नयाँ र कृतिम बहुराष्ट्रिय राज्यको अवधारणामा मुलुकलाई लगे ।
राष्ट्र र राज्यलाई दल जस्तै मानव निर्मित कृतिम संगठनको रूपमा बुझे ।
नेपालको आजको सङ्कट र समस्या भनेको आफ्नो राष्ट्रिय इतिहासबाट छुट्टिएको, आफ्नो धर्म, समाज, सभ्यता र संस्कृतिबाट अलगिएको गिरिजाप्रसाद, प्रचण्ड-बाबुराम र माधव नेपालहरूबाट खडा गरिएको जातिवादी र क्षेत्रीयतावादी राज्यको स्वरूपमा आएको कथित नयाँ नेपाल हो ।
आफू सर्वेसर्वा भएको समयमा सत्ता र शक्तिको अहङ्कारको नशाले चूर भएर उनीहरूले नेपाल राष्ट्र र राज्यको स्वाभाविक र प्राकृतिक परिचय खोसेर अलग बाटोमा हिँडाए,
त्यसैको परिणाम आजको नेपाल हो ।

000

यो शासन प्रणालीले यी माथि उल्लेखित सङ्कट, विवाद र द्वन्द्वलाई व्यवस्थापन गर्न सक्दैन र जे जस्तो स्थितिमा हामी छौँ,
सजिलै अर्को विकल्पमा जान पनि दिँदैन ।
कुनै यौटै दल र शक्तिले त्यो सङ्कटलाई व्यवस्थापन गर्ने सामर्थ्य पनि राख्दैन ।
त्यसैले राष्ट्रिय सङ्कट गहिरिएको छ ।
लाग्दछ, भोलि, पर्सी, निकोर्सी वा एकाध वर्षभित्र मुलुकमा जे पनि हुन सक्दछ ।