नेकपाका अध्यक्षद्वयद्वारा राष्ट्रपतिसँग भेटघाट

नेकपाका अध्यक्षद्वयद्वारा राष्ट्रपतिसँग भेटघाट


प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र सहअध्यक्ष प्रचण्डले शनिबार (३ साउन) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् ।

भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला शनिबार नै सचिवालय बैठकसमेत बसेको थियो । सचिवालय बैठक सङ्कट समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको दाबी गरिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारको बैठकले पार्टीमा देखिएको सङ्कट समाधान गर्न छलफल जारी राख्ने निष्कर्ष निकालेको बताएका छन् ।

सत्तारुढ नेकपाका शीर्ष नेताबीच सरकार र पार्टी सञ्चालनका विषयमा एकमत नहुँदा यसअघि पटकपटक स्थायी कमिटी बैठक स्थगन हुँदै आएको छ ।